+
+

बुलेट चढेर चोर्न हिँड्ने ‘खुँखार’ चोरको १४ औं हिरासत यात्रा

२५ वर्षको उमेरमा ८ वटा चोरी र ५ वटा अभद्र व्यवहारको कसुरमा पक्राउ परेर कारबाही भोगेका व्यक्ति हुन्, हिमाल रसाइली । १५ वर्षको उमेरदेखि नै चोरीमा पक्राउ पर्न थालेका रसाइलीको चोरी यात्रा एक दशक पुगिसकेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ मंसिर १९ गते २०:५५
प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका २५ वर्षीय हिमाल रसाइली

१९ मंसिर, काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोर्न हिँड्ने एक ‘खुँखार’ चोरलाई १४ औं पटक प्रहरीले पक्राउ गरेको छ । विभिन्न हुलिया परिवर्तन गर्दै चोरीको श्रृंखला चलाएका २५ वर्षीय हिमाल रसाइली नाम गरेका युवा अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् ।

‘आश्रय, हम्मे’जस्ता उपनामले परिचित सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भएका रसाइली चोरीको अनुसन्धान गर्ने प्रहरीहरूका लागि नौलो नाम होइन ।

१३ पटकसम्म काठमाडौंको विभिन्न स्थानहरूमा चोरी गरेर मुद्दा चलेपछि उनले आफ्नो कार्यक्षेत्र समेत परिवर्तन गर्दै ललितपुर पुगेका थिए । पछिल्लो समय ललितपुरका विभिन्न स्थानमा उनले चोरीको श्रृंखला चलाएका थिए । त्यो पनि विशेषगरी, ल्यापटप मात्रै ।

केही समयअघि मात्रै जिल्ला प्रहरी परिसर जावालखोल, ललितपुरमा ल्यापटप चोरीको दुईवटा उजुरी आयो । एउटा उजुरी पुल्चोकस्थित कार्यलयबाट ल्यापटप चोरी भएको थियो भने अर्को झम्सीखेलबाट । दुई फरक ठाउँ भए पनि चोरीको प्रकृति एउटै किसिमको थियो । जाहेरी आएपछि प्रहरीले अनुसन्धान गर्दा चोरी कार्यमा बुलेट बाइकको प्रयोग भएको खुल्यो ।

सीसीटीभी फुटेजमार्फत् अनुसन्धान अघि बढाएको प्रहरीले दुई चोरीमा एउटै नम्बर प्लेटको बुलेट मोटरसाइकल प्रयोग भएको पत्ता लगायो । फुटेजमा देखिएको बा ५७ प ९७६० नम्बरको मोटरसाइकललाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । सोही क्रममा मोटरसाइकल धनीबारे पत्ता लगायो, रमेश रुचाल ।

त्यसपछि लगभग अनुसन्धान टुंगिएको अनुमान गरेको प्रहरीले रुचाल जेल रहेको जानकारी पायो । ललितपुरका एक अनुसन्धान अधिकृत भन्छन्, ‘मोटरसाइकल धनी पत्ता लगाएपछि अनुसन्धान टुंगिएको अनुमान गरेका थियौं । तर उनी जेल रहेको खुलेपछि फेरि अनुसन्धान अघि बढाउनुपर्‍यो ।’

रुचाल भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा केन्द्रीय कारागार सुन्धारामा रहेको खुलेपछि उक्त मोटरसाइकल चलाउने व्यक्तिको खोजी गर्दा चोर पत्ता लगाउन प्रहरी सफल भएको थियो । रुचालको उक्त मोटरसाइकल हाल पक्राउ परेका रसाइली चढ्ने गरेको खुलेपछि टेकुबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ६ मंसिरमा रसाइलीलाई पक्राउ गरिएको हो । पार्किङमा राखिएको मोटरसाइकल लिन आउने क्रममा उनी पक्राउ परेका थिए । उनीमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरीको ल्यापटप किनेर बेच्ने गिरोहका अर्का मुख्य व्यक्ति डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल पक्राउ परे ।

१४ पटक पक्राउ
२५ वर्षको उमेरमा ८ वटा चोरी र ५ वटा अभद्र व्यवहारको कसुरमा पक्राउ परेर कारबाही भोगेका व्यक्ति हुन्, रसाइली । १५ वर्षको उमेरदेखि नै चोरीमा पक्राउ पर्न थालेका रसाइलीको चोरी यात्रा एक दशक पुगिसकेको छ । एक दशकमा १४ पटकसम्म पक्राउ परेर कारबाही भोग्दा पनि उनको चोरी भन्दा भने रोकिएको छैन । बरु नयाँ नयाँ तरिका र शैली अपनाएर चोरीको श्रृंखला जारी छ ।

उनी पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा यसअघि १३ पटक पक्राउ परेर कारबाही भोगेका व्यक्ति रहेको खुलेको हो । सुरुमा उनी २ असोज २०७१ मा अभद्र व्यवहारको कसुरमा पक्राउ परेर कारबाही भएको थियो । त्यतिबेला उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेर कारबाही गरेको थियो ।

त्यसको एक महिनामै उनी पुन १३ कात्तिकमा पक्राउ परेका थिए । त्यतिबेला भने प्रहरी वृत्त लैनचौरले उनीमथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । दुई पटक पक्राउ परेर कारबाही भोगेपछि दुई वर्षसम्म उनी अपराधमा संलग्न भएनन् । ७ जेठ २०७४ मा भने उनी चोरीको कसुरमा पक्राउ परे । बिना पुर्वछानेको जाहेरीमा प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर उनीमाथि चोरीको मुद्दा चलाएको थियो ।

महाराजगञ्ज प्रहरी वृत्तबाट छुटेको दुई महिनापछि रसाइलीलाई फेरि जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीकै कसुरमा पक्राउ गरेको थियो । आशिष श्रेष्ठको जाहेरीपछि उनी पक्राउ परेर मुद्दा चलेको थियो ।

पक्राउ पर्ने र छुट्ने क्रम निरन्तर चलिरह्यो । २८ माघ २०७४ मा रसाइलीलाई फेरि प्रहरी वृत्त नयाँ बानेश्वर पक्राउ गरेर मुद्दा चलाएको सीआरएस (अपराधमा संलग्न भएको रेकर्ड) मा देखिएको छ । त्यतिबेला अग्नीराज उपाध्यायको जाहेरीमा उनी पक्राउ परेका थिए । रसाइली पक्राउ परेपछि बानेश्वरले नै राजिवकुमार साहको जाहेरीमा अर्को चोरीको कसुरमा त्यतिबेला उनीमाथि मुद्दा चलायो । २०७४ सालमा मात्रै रसाइलीविरुद्ध चार पटक मुद्दा चलेको देखिन्छ ।

५ असार २०७५ मा प्रहरी वृत्त बानेश्वरले उनीविरुद्ध फेरि अभद्र व्यवहारको कसुरमा अर्को मुद्दा चलाएको खुलेको छ । त्यसपछि चोरीको केशमा ७ कात्तिक २०७६ मा प्रहरी वृत्त महाराजगञ्जले रसाइलीविरुद्ध मुद्दा चलाएको थियो ।

७ जेठ २०७७ मा प्रहरी वृत्त गौशालाबाट चोरीको कसुरमा, १५ जेठ २०७७ मा चोरीकै कसुरमा प्रहरी वृत्त सिंहदरबारबाट उनीविरुद्ध मुद्दा चलेको थियो ।

त्यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भत्केको पुलबाट पक्राउ गरेको थियो । लकडाउनका समय रहेकाले सवारी चलाउन नपाइने हुँदा रसाइलीले अर्का अलि आलम मियाँ नाम गरेका व्यक्तिलाई टेलिभिजनको नक्कली प्रेस कार्ड लगाउन लगाएर चोरी गर्न हिँड्ने गरेको खुलेको थियो ।

त्यसबेला उनीबाट बजाजको बा २७ प ९४९० नम्बरको एभेन्जर मोटरसाइकलमा सवार उनी घाँटीमा एपी वान टीभीको प्रेसकार्ड भिरेर हिँडेका थिए । सुसन शाहीको नाममा मियाँले नक्कली प्रेस कार्ड बनाएर भिरेका थिए । त्यतिबेला रसाइलीले सिनामंगलको एक होस्टल र चाबहीलमा एक चिकित्सकको घरमा चोरी गरेका थिए ।

४ असोज २०७९ मा र ८ असोज २०८० मा अभद्रको कसुरमा प्रहरी वृत्त सिंहदरबारबाट उनीविरुद्ध मुद्दा चलेको थियो । यसअघि अन्तिम पटक उनीविरुद्ध १२ मंसिर २०८० मा प्रहरी वृत्त कालिमाटीबाट चोरीको कसुरमा मुद्दा चलेको थियो ।

रसाइलीले विशेषगरी ललितपुर महानगरपालिकाको ३, ४, १० र १५ वडाका विभिन्न ठाउँमा फरकफरक मितिमा ल्यापटप चोरी गरेको खुलेको छ । कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी हुने गरेको थियो । ल्यापटप बिक्रि गरेको पैसाबाट उनले लागु औषध ब्राउन सुगर सेवन गर्ने गरेको पाइएको छ ।

चोरीको ल्यापटप अनलाइनबाट बिक्रि
रसाइलीले पछिल्लो समय ल्यापटप मात्रै चोरी गर्ने गरेको खुलेको छ । काठमाडौंका अधिकांशजसो प्रहरी कार्यालयबाट मुद्दा चलेकाले उनी पछिल्लो समय सेल्टर परिवर्तन गरेर ललितपुरलाई केन्द्रमा राखेर चोरी गर्न थालेको खुलेको छ । श्रृंखलाबद्ध रुपमा चोरीको आतंका फैलाएका रसाइलीलाई लामो निगरानीपछि ललितपुर प्रहरी पक्राउ गर्न सफल भएको छ ।

चोरी गरेको ल्यापटप उनले हाल पक्राउ परेका थलाललाई बेच्ने गरेको खुलेको छ । रसाइलीबाट सस्तोदरमा ल्यापटप किन्ने र अनलाइनमार्फत थलालले बेच्ने गरेको पाइएको एसएसपी खनालले बताए ।

रसाइलीलाई पक्राउ गरेपछि उनीमार्फत् नै थलालसम्म प्रहरी पुगेको थियो । त्यसपछि ल्यापटप किन्ने ग्राहक बनेर प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘ल्यापटप अर्डर गरेपछि थलाल आफैं ल्यापटप लिएर नआई पठाओमार्फत पठाएका थिए । हामीले मन परेन भनेर फिर्ता ग¥यौं । त्यसपछि सोही पठाओ पच्छ्याउँदै जाँदा उनी फिर्ता भएको आफ्नो ल्यापटप रिसिभ गर्न लाग्दा पक्राउ परेका हुन्,’ एक अनुसन्धान अधिकृतले भने ।

त्यसपछि थलालको कोठाबाट प्रहरीले विभिन्न कम्पनीका १० वटा ल्यापटप बरामद गरेको थियो । अनलाइनमार्फत् विभिन्न व्यक्तिहरूलाई बचेका समेत १६ वटा ल्यापटप फिर्ता ल्याएर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । थलालविरुद्ध यसअघि काठमाडौंबाट १ पटक चोरीको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?