+
+

नारायणगोपाल स्मृति पुरस्कार कुमार बस्नेत, बुलु मुकारुङ र शिवशंकर थापालाई

स्वरसम्राटको ३४औं स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीत रचनाकार शिवशंकर थापालाई नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १९:२९

काठमाडौं। यस वर्षको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरिएको छ । स्वरसम्राटको ३४औं स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीत रचनाकार शिवशंकर थापालाई ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरिएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित समारोहमा उनीहरूलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरियो । नेपाली संगीतमा महत्वपूर्ण योगदान पुर्‍याउने कलाकारलाई वर्षेनी नारायण गोपाल स्मृति सम्मान प्रदान गरिन्छ ।

उक्त कार्यक्रममा विभिन्न गायक-गायिकाले नारायण गोपालका कालजयी गीत प्रस्तुत गर्दै स्मरण गरेका छन् । पूर्ण अर्केस्ट्राका साथ नयाँ तथा पुराना गायक–गायिकाको स्वरमा नारायण गोपालका गीतलाई प्रस्तुत गरिएको थियो ।

गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा’ गीत गाएर नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गरे ।

कार्यक्रमको सहआयोजना नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले गरेका थिए ।

१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका उनका अधिकांश गीत कालजयी छन् । उनका एउटा मान्छेको मायाले कति, यति धेरै माया दिई, मलाई नसोध, केही मीठो बात गर, तिमी जुन रहरले, पोखिएर घामको झुल्का, मन्दिरमा छ कि मूर्तिमा माया, मोहन लाग्ला है लगायत १५० गीत सार्वजनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?