
काठमाडौं । अमेरिका र अस्ट्रेलियाको दुई महिना लामो सांगीतिक टुर सकेर गायक रामकृष्ण ढकाल स्वदेश फर्किएका छन् । गत दशैं छेकोमा सेप्टेम्बर २६ मा अस्ट्रेलिया प्रस्थान गरेका उनले २८ सेप्टेम्बरमा सिड्नीमा लाइभ ब्याण्डका साथ एकल सांगीतिक साँझ प्रस्तुत गरे ।
उनका लोकप्रिय गीत सुन्न सिड्नी नेपाली ठूलो संख्यामा उपस्थित भएका थिए । त्यसपछि मेलबर्न न्युक्यासल, क्यानबेरा, ब्रिसबेन, एडिलेट लगायतका सहरमा गरी उनले सातवटा कार्यक्रममा सांगीतिक प्रस्तुति दिए ।
दशैं अस्ट्रेलियामै मनाएर रामकृष्ण तिहार कन्सर्टका लागि २६ अक्टोबरमा त्यतैबाट अमेरिका प्रस्थान गरेका थिए । अमेरिकामा एक महिनाको अवधिमा चार ठाउँमा सांगीतिक कार्यक्रम गरेको रामकृष्णले अनलाइखबरलाई बताए ।
अमेरिकाको सांगीतिक टुर उनले २८ अक्टोबरमा लस भेगासबाट गरे, जहाँ कुनै पनि नेपाली कलाकारको पहिलो कन्सर्ट भएको थियो । यस हिसाबले यो कार्यक्रम ऐतिहासिक नै भएको उनले बताए ।
‘लस भेगासमा नेपालीहरुको संख्या कम भएकाले यसअघि कहिल्यै पनि नेपाली कार्यक्रम भएको रहेनछ । मैले त्यहाँ कार्यक्रम गर्न पाएँ, खुसी लाग्यो’, रामकृष्णले भने, ‘नेपाली कम्युनिटीले कार्यक्रम गर्नुभएको थियो । त्यहाँ रहनुभएका करिब ४०० मध्ये २५० जति कार्यक्रममा आउनुभयो । यसअघि कन्सर्ट भएको थिएन । तपाईं आउनुभयो अब भविष्यका लागि पनि कार्यक्रम गर्ने ढोका खुल्यो भन्ने प्रतिक्रिया दिनुभयो सबैले ।’
त्यसपछि उनी लस एन्जलसमा गुञ्जिए भने नर्थ क्यारोलिनामा अञ्जु पन्त र प्रमोद खरेलसँग प्रस्तुत भए । पेन्सिलभेनियाको कार्यक्रम सकेर आफू स्वदेश फर्किएको रामकृष्णले जनाए ।
यसपालिको अस्ट्रेलिया र अमेरिका यात्रामा आफ्ना सदावहार र लोकप्रिय गीतहरुकै माग दर्शक-श्रोताबाट धेरै भएको उनले सुनाए ।
‘कार्यक्रममा बिहान उठ्ने बित्तिकै, ओराली लागेको, चरीले त छाडेर गीत छुट्दैथ्यो । किनकि यी गीतमा उहाँहरु सबैको मन जोडिएको छ । माया जदौ र पछिल्लो समयको फूलको आफ्नै कथा छ पनि धेरै ठाउँमा गाएँ’, रामकृष्णले भने ।
नेपाल फर्केपछि बुधबार ‘३४ औं नारायण गोपाल स्मृति दिवस’को कार्यक्रममा उनले नारायण गोपालको ‘तिमीलाई भुल्दा’ गीत गाएर श्रद्धासुमन अर्पण गरे ।
‘नेपालमा गीत रेकर्डिङका लागि धेरैले कुरेर बस्नुभएको छ । भिडियो बनाउने काम पनि रोकिरहेको छ । अब रेकर्डिङमा केही समय व्यस्त हुनेछु । साथै भिडियोको काम पनि अघि बढाउनेछु’, रामकृष्णले अबको योजना सुनाए ।
आफ्नै केही नयाँ गीत र पुराना गीत नयाँ स्वरुपमा ल्याउने तयारीमा रहेको समेत उनले बताए । ‘मेरो युट्युब च्यानल पनि राम्रो ग्रो भइरहेको छ । नयाँ गीत आफ्नै च्यानलबाट ल्याउने र पुरानो गीत पनि नयाँ स्वरुपमा ल्याउने योजनामा छु’, उनले भने, ‘अर्को वर्ष वृहत म्युजिक ब्यान्डसँग ढकाल सुमधुर साँझ पनि गर्ने योजना पनि बनाइरहेको छु ।’
प्रतिक्रिया 4