
यौनरोग र यौन अक्षमता स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्या हुन् । जसले व्यक्तिगत जीवन मात्र होइन, सामाजिक जीवनमा समेत प्रभाव पार्छ ।
तर यस्ता समस्या समाधानका लागि छिटो लाभ दिने भन्दै बजारमा बेचिने नक्कली औषधिले समस्या झन् जटिल बनाइरहेका छन् ।
यौनरोग र यौन अक्षमता
यौनरोग अर्थात् यौन सम्पर्कबाट एउटा पार्टनरबाट अर्को पार्टनरमा सर्ने रोग हो । यसमा ब्याक्टेरियल संक्रमण, भाइरल संक्रमण र फंगल संक्रमणयुक्त रोग जस्तै भिरिङ्गी, गोनरिया, एचआईभी एड्स आदि पर्छन् ।
यौन समस्या भनेको आफ्नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्को शब्दमा भन्नुपर्दा यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरमसुख प्राप्त गर्नबाट रोक्ने कठिनाइ एवं अवरोध नै यौन समस्या हो । जसमा लैङ्गिक उत्तेजना नहुनु, शीघ्र पतन वा लामो समयसम्म स्खलन नहुनु, महिलामा यौन इच्छा नहुने आदि यौन अक्षमताभित्र पर्छ ।
यौनरोग र यौन अक्षमताबीच कुनै सम्बन्ध ?
यौनरोग र यौन अक्षमता एकअर्कासँग सम्बन्धित हुन्छन् । किनकि यौनरोगहरूले शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ, जसकारण यौन अक्षमता उत्पन्न हुनसक्छ । जस्तै- सिफलिस, गनोरिया वा हरपिसले यौनाङ्गमा दुखाइ, संक्रमण र असर पुर्याउँछ, जसले यौन सम्बन्ध राख्न कठिन बनाउँछ । दीर्घकालीन यौनरोगले प्रजनन् क्षमतामा असर पुर्याएर यौन इच्छा घटाउन सक्छ । साथै, यौन रोगसँग सम्बन्धित डर, लाज वा अपराध बोधले मानसिक तनाव उत्पन्न गराएर यौन अक्षमता निम्त्याउँछ ।
यौन अक्षमताको कारणले गर्दा पनि यौनरोगको जोखिम बढ्छ । यौन अक्षमताको कारण कहिलेकाहीं मान्छेले अन्य यौनजन्य उपकरण प्रयोग गर्न सक्छन् । धेरै जनासँग यौन सम्बन्ध बनाउन सक्छन्, जसले गर्दा ती व्यक्तिमा यौनरोग सर्ने जोखिम पनि बढ्न सक्छ ।
सोसल मिडियामा देखाइने यौन क्षमता बढाउने औषधि
यौन सम्पर्कबाट लाग्ने रोगमा त चिकित्सकको सल्लाहमा नै उपचार गर्नुपर्छ । तर धेरै मान्छे चिकित्सककहाँ गएर आफ्नो समस्या खुलेर बताउन लजाउँछन्, डराउँछन् । सोसल मिडियामा हरेक किसिमको यौनरोगको सफल उपचार गरिन्छ भन्ने विज्ञापन भेटे भने उनीहरूलाई म्यासेज गर्छन् र त्यस्ता औषधि मगाएर प्रयोग गर्न थाल्छन् ।
यौन क्षमता बढाउने औषधि भनेर विभिन्न किसिमको केमिकल प्रयोग हुने औषधि बेचिन्छ । त्यस्ता औषधिले काम गर्छ कि गर्दैन भन्ने कुराको ग्यारेन्टी हुँदैन । त्यस्ता औषधिले फाइदा भन्दा पनि बेफाइदा गर्न सक्छ । त्यस्ता औषधिको जथाभावी सेवन गर्दा मिर्गौला कलेजोमा असर गर्न सक्छ, कुनै कुनै औषधिले त हर्मोनको गडबडी पनि गराउन सक्छ, जसले समस्या झन् बढ्ने खतरा हुन्छ ।
महंगो मूल्यमा बिक्री हुने यी औषधिले आर्थिक भार थप्नुका साथै सही समयमा उपचार नहुँदा जटिलता उत्पन्न हुनसक्छ । त्यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा पनि दर्ता भएका हुँदैनन् । त्यसैले त्यस्ता औषधिको पछि लाग्नु हुँदैन ।
उपचार
फरक-फरक यौनरोगको उपचार फरक-फरक औषधिमार्फत हुन्छ, जुन चिकित्सकको परामर्शपछि पाइन्छ । एन्टिबायोटिक्स सिफलिस, गनोरिया जस्ता ब्याक्टेरियल सङ्क्रमणका लागि प्रयोग गरिन्छ भने एन्टिभाइरल औषधि हरपिस वा एचआईभीजस्ता भाइरल संक्रमण नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
यौनरोगमा यौन साथीको पनि उपचार गर्नुपर्ने हुनसक्छ । संक्रमण नदोहोरियोस् भन्न दुवै पक्षले उपचार गर्नुपर्ने हुन्छ । साथै उपचारलाई सहज बनाउन र सङ्क्रमणबाट उत्पन्न मानसिक तनाव हटाउन परामर्श सेवा पनि अत्यावश्यक हुन्छ । यौनरोगलाई बेवास्ता गर्दा वा गलत उपचार गर्दा समस्या झन् जटिल बन्ने खतरा हुन्छ ।
यौन अक्षमतामा भने समस्या के कारणले भएको हो सबैभन्दा पहिले त्यो पत्ता लगाउनुपर्छ । यौनरोगले यौन अक्षमता भएको हो भने यौनरोगको उपचार गर्दा यो समस्या ठीक हुन्छ । तर तनाव, हर्मोनको गडबडी, शारीरिक अस्वस्थताको कारण यौन अक्षमता भएको छ भने कारण पत्ता लगाउन चिकित्सकको परामर्श लिनुपर्छ ।
जीवनशैलीमा सुधारले नियमित व्यायाम, स्वस्थ आहार र तनाव व्यवस्थापनले यौन अक्षमतामा सुधार ल्याउँछ । विभिन्न किसिमका यौन अक्षमताका फरक औषधि हुन्छन् । ती समस्याका कारण पत्ता लगाएर मात्र औषधि प्रयोग गर्नुपर्ने हुन्छ । मानसिक समस्या छ भने मनोचिकित्सकको परामर्श चाहिन्छ । कतिपय रोगमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यौनरोग र यौन अक्षमताको उपचारका लागि मनोचिकित्सक, मूत्ररोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञसँग सहकार्य गर्नु अपरिहार्य हुन्छ ।
विशेषज्ञ चिकित्सकसँग परामर्श लिएर समस्या पहिचान गरी उचित उपचार गर्नुपर्छ । यस्ता विषय संवेदनशील भएकाले गोपनीयता कायम गर्नुपर्ने हुन्छ ।
सचेतना अभावले समस्या बढेको हो ?
हालसालै एक जना व्यक्ति सामान्य यौनरोगको सिकार भएर अस्पताल आएका थिए । उनले तीन हप्ताअघि असुरक्षित शारीरिक सम्बन्ध बनाएका रहेछन् । त्यसपछि उनलाई आफूलाई एचआईभी भयो कि भन्ने डर लागेछ । त्यसपछि उनले तीन हप्तासम्म पढ्न, खाना खान र निदाउन सकेनछन् । कुनै केटी देख्दा पनि उनी डराउन थालेछन् ।
उनलाई सामान्य यौनरोग त लागेको रहेछ, जुन सामान्य औषधिबाट निको भयो । तर उनलाई शारीरिक समस्या भन्दा पनि मानसिक समस्याले बढी दु:ख दिएको थियो । यो केसमा व्यक्तिलाई यौन शिक्षाको कमीकै कारण समस्या निम्तिएको पाइन्छ । यसरी नै यौन समस्याबारे सचेतना नभएर अन्य समस्या भोगेका धेरै बिरामी छन् ।
यौनरोग र अक्षमताको समस्या कम गर्ने उपाय
यौनरोग तथा यौन अक्षमताको विषयमा फैलिएका विभिन्न भ्रम कम गर्न आफूमा भएको समस्याको बारेमा खुलेर कुरा गर्नुपर्छ । त्यसका लागि आफ्नो श्रीमान् तथा श्रीमतीसँग समस्याबारे खुलेर कुरा गर्नुपर्छ ।
बिरामीको मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र सामाजिक स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरूलाई यौनरोग र यौन अक्षमताको बारेमा बताउनुपर्छ । नक्कली औषधिको खतराबारे जानकारी गराउँदै सही उपचारप्रति प्रेरित गर्नुपर्छ । सुरक्षित यौन सम्बन्ध राख्नेबारे जानकारी पनि दिनुपर्छ ।
सामुदायिक अभियानहरू यौनरोग र यौन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । सुरक्षित यौन सम्बन्ध, नियमित परीक्षण र समस्या आएमा तुरुन्त विशेषज्ञको सल्लाह लिन प्रेरित गर्नुपर्छ । औषधिको बजार नियमन गर्नुपर्छ । प्रमाणित नभएका औषधिको बिक्री रोक्न कडाइ गर्नुपर्छ ।
प्रतिक्रिया 4