+
+

श्रम ऐन संशोधनमा लागेका छौं : मन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १८:०५

२१ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई समयसापेक्ष बनाउँदै संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उनले जानकारी गराए ।

‘सरकारले अहिले श्रम ऐनलाई समय सापेक्ष बनाउने हिसाबमा संशोधन गर्न लागेका छौं । सरकारले स्टेक होल्डरहरूलाई आग्रह गरेका छौं,’ मन्त्री भण्डारीले भने, ‘श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्ने र उद्योग,उत्पादनको क्षेत्रलाई अगाडि बढाउने विषयलाई प्राथमिकता दिएका छौँ ।’

त्यस्तै, श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरू गर्नुपर्ने उनले बताए । रोजगारदाताहरूले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत उनले जिकिर गरे ।

नेपालमा हरेक वर्ष करिब ५ लाख श्रमिकहरू श्रमबजारमा आएपनि १ लाख भन्दा बढी श्रमिकलाई रोजगारी दिनसक्ने अवस्था नभएको उनले बताए । चार लाख नेपाली श्रमिकहरू हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको मन्त्री भण्डारीको भनाइ थियो ।

‘करिब ५ लाख हरेक वर्ष श्रमिकहरु श्रमबजारमा आएका छन् । १ लाख भन्दा बढी श्रमिकलाई रोजगार दिने अवस्था छैन । चार लाख नेपाली श्रमिकहरू हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको छ,’ उनले भने ।

कार्यक्रममा आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभुतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने हरेक प्रदेशका एक–एक गरी ७ उद्योग तथा प्रतिष्ठानहरूलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?