
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् ।
कोशी प्रदेशको सम्मेलन भोलि (शनिबार) विराटनगरमा हुँदैछ । यही सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् । तर, कोइरालाले भने शनिबार चितवन जाँदैछन् । कोइरालाको सचिवालयका अनुसार चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुनेछन् ।
स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् ।
मञ्चमा सभापतिपछिको वरियतामा आफू हुनुपर्ने माग शेखरले राखेका थिए । तर, पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राखिने भएपछि कोइरालाले प्रदेश सम्मेलन बहिष्कार गरेर चितवन जान लागेका हुन् ।
प्रदेश समितिमा नेता कृष्ण सिटौला नजिकका उद्धव थापा कोशी सभापति छन्। केन्द्रीय वरियतामा सभापति देउवापछि उपसभापति पूर्ण बहादुर खड्का दोस्रो स्थानमा छन् ।
प्रदेश कार्यसमितिका एक पदाधिकारी भन्छन्, ‘पार्टीको केन्द्रीय वरीयता अनुसार मर्यादाक्रम हुने डा शेखरलाई भेटेर निमन्त्रणा पत्र दिएका हौं । त्यो बेला उहाँले केही भन्नुभएन ।’
कोइराला शनिबार पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुनेछन् ।
कोइरालाले गत १८ मंसिरमा विराटनगरमा पालिका सभापतिहरूको भेला राखेका थिए । उक्त भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला निकट नेताहरूको दाबी छ । यद्यपि, संस्थापन पक्षले भने उक्त दाबीको खण्डन गरेको छ ।
प्रतिक्रिया 4