
२२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले न्यायलयको गरिमा जोगाउन सबैको साथ आवश्यक रहेको बताए ।
‘न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।’
उनले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड दिए ।
प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उनले भने, ‘कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।’
कार्यक्रममा प्रधानन्यायाधीश राउतले एक सय ५९ जना वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र दिएका थिए ।
प्रतिक्रिया 4