+
+

जान्नुहोस् सेयर किनबेचमा लाग्ने कमिसन र करको दर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते ९:३०

२३ मंसिर, काठमाडौं । सेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य छ । व्यक्ति तथा कम्पनीले सेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर तिर्छन् । किनेको भन्दा बढी मूल्यमा बेचेपछिको लाभमा कर तिर्नुपर्छ ।

व्यक्तिगत लगानीकर्ताका हकमा डिम्याट खातामा होल्डिङ भएको अवधिमा कर निर्भर हुन्छ । सेयरको बिक्रीबाट प्राप्त हुने पूँजीगत लाभमा व्यक्तिलाई दीर्घकालीन वा अल्पकालीन गरी दुई भिन्न दरमा कर लगाइन्छ ।

दीर्घकालीन पूँजीगत लाभमा ५ प्रतिशत कर लाग्छ । दीर्घकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभन्दा बढी सेयर होल्ड गरी राखेको हुनुपर्छ ।

त्यसैगरी छोटो अवधिको पूँजीगत लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्छ । छोटो अवधि वा अल्पकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभित्र आफ्नो स्टकहरू बिक्री गर्ने लगानी भन्ने बुझिन्छ ।

सेयरको बिक्रीबाट हुने पूँजीगत लाभमा लाग्ने करको दर संस्थागत लगानीकर्ताको हकमा १० प्रतिशत रहेको छ । संस्थागत लगानीकर्ताले यसरी भुक्तान गरेको पूँजीगत लाभकरलाई एड्भान्स करको रूपमा लिई वर्षको अन्तिममा समायोजन गर्न पाउँछन् ।

यो त भयो, बेचेपछि नाफामा लाग्ने पूँजीगत लाभकर । त्यसका अलवा सेयर किन्ने र बेच्ने दुबैले ब्रोकर कमिसन तिर्नुपर्छ । ब्रोकर कमिसन किनबेच गरेको रकममा निर्भर हुन्छ । ठूलो रकममा कम र सानो रकममा बढी कमिसन लाग्दै आएको छ ।

यदि एक पटकमा १ करोडमाथिको सेयर खरिद वा बिक्री गर्ने हो भने सोही रकमको ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।

त्यस्तै प्रति कारोबार २० लाखदेखि १ करोडसम्मको हुँदा ०.२७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म हुँदा ०.३१ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ र ५० हजारभन्दा कमको कारोबारमा ०.३६ प्रतिशत कमिसन खर्च लाग्छ ।

कारोबार रकम ब्रोकर कमिसन दर
५० हजारसम्म ०.३६ %
५० हजारदेखि ५ लाखसम्म ०.३३ %
५ लाखदेखि २० लाखसम्म ०.३१ %
२० लाखदेखि १ करोडसम्म ०.२७ %
१ करोडमाथि ०.२४ %

त्यसबाहेक धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत कमिसन शुल्क लाग्छ ।

सेयर खरिद वा बेचेपछि सबै कमिसन र कर कटौतीपछि आफूले पाउने वा तिर्नुपर्ने रकम कति हुन्छ भनेर हिसाव गर्नका लागि क्याल्कुलेटर पनि उपलब्ध छन् । यहीं क्याल्कुलेटरमार्फत पनि आफ्नो हिसाव निकाल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?