
२३ मंसिर, काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अध्ययन बिदामा भइरहेको दुरुपयोगबारे त्रिभवन विश्वविद्यलायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने भएको छ ।
समिति सभापति अम्बरबहादुर थापाले अध्ययन बिदामा गएका त्रिविका प्राध्यापक नफर्किएको गुनासो आएपछि त्रिविका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएका हुन् ।
‘राज्यको सेवा सुविधा खाएर नफर्किने प्राध्यापकबारे अध्ययन अनुसन्धान गर्छौं । कति प्राध्यापकले बिदा लिएर फर्किएका छैनन् त्यसको विवरण माग्छौं,’ सभापति थापाले भने ।
त्रिविबाट विवरण उपलब्ध भएपछि अनुसन्धान गरेर आवश्यक कारबाहीका लागि निर्देशन दिने सभापति थापाले बताए । ‘यो शिक्षकबाट भएको लापरबाही हो । अनुसन्धान गरेर कारबाहीका लागि समितिले निर्देशन दिन्छ,’ उनले भने ।
त्रिविका प्राध्यापकले ५ वर्ष अध्ययनको बिदा पाउँछन् । बिदामा बस्दा तलब पनि दिइने गरेको छ । अध्ययन बिदा सकिएपछि फर्किएर सेवा गर्ने कबुल शिक्षकले गरेको हुन्छ । फर्किएर ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
तर, बिदा सकिएपछि धेरै शिक्षक विदेशमै लुक्ने गरेको पाइएको छ । १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ ।
यो विषयमा त्रिविले पनि अनुसन्धान थालेको छ । त्रिविले डिन कार्यालय, केन्द्रीय विभाग, सम्बन्धित क्याम्पसलाई १० दिनको समय दिएर अध्ययन बिदामा गएर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन पत्रचार गरेको छ । सबै ठाउँबाट विवरण आएपछि नफर्किने प्राध्यापकबाट खाएको तलब असुल गर्ने त्रिविको पदाधिकारीले बताएका छन् ।
प्रतिक्रिया 4