
काठमाडौं । आगामी विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डका लागि मिस नेपाल सृच्छा प्रधानको सक्रियता बढ्दो छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अनुसार सृच्छाले यसका लागि आफ्नै ढंगले योजना बनाइरहेकी छन् ।
उनले गत साता मखमल कपासको पहिरनबाट बन्ने नेसनल कस्ट्युम प्रस्तुत गर्ने जनाइसकेकी छन् । यतिबेला उनले मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को घोषणा गरेकी छन् ।
वातावरणकी विद्यार्थी समेत रहेकी उनले ब्युटी विथ पर्पस परियोजना वातावरण विषयमा आधारित हुने जनाएकी छन् । पृथ्वी, पानी, अन्तरिक्ष, आगो र हावाको तत्व ‘पञ्चप्रणाली’लाई आफूले उक्त परियोजनामा पेश गर्ने उल्लेख गरेकी छन् ।
पाटनमा उनले ‘पिलाछें’ भनिने वातावरणमैत्री गाउँ तयार पारेकी छन् । पञ्चतत्वलाई संरक्षण गर्न सामूहिक पहलको रुपमा यो समुदाय सिर्जना गरिएको उनको भनाइ छ ।
‘तीव्र सहरीकरणको कारण पिलाछें आफ्नो पहिचान र अस्तित्वसँग संघर्ष गरिरहेको छ’ उनले भनेकी छन्, ‘सामाजिक र वातावरणीय आयाममा आएको परिवर्तनको बाबजुद सम्पदाको संरक्षणको लागि हामीले समुदायमा ज्ञान छर्न जरुरी छ ।’ सृच्छाको यो परियोजनालाई ललितपुर महानगरपालिका वडा नम्बर ७ ले पनि सघाएको छ ।
आगामी ७२ औं मिस वर्ल्ड आगामी मार्चभित्र आयोजना हुने अपेक्षा गरिएको छ । नेपाल ‘ब्युटी विथ पर्पस’को बलियो दाबेदार हो । आउने मिस वर्ल्डमा मिस नेपाल सृच्छाले मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतिक्रिया 4