
२३ मंसिर, काठमाडौं । २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने ५२ दिनदेखि प्रहरी हिरासतमा छन् । कास्की, रूपन्देही, काठमाडौं र चितवन गरी चार ठाउँ हिरासतमा बस्दै बयान दिएका लामिछाने अहिले फेरि कास्की प्रहरीको हिरासतमा पुगेका छन् ।
आज मात्रै उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । ५२ दिन अवधिमा तीन वटा हिरासतमा राख्दासम्म रविमाथि मानव अधिकार हनन् भएको कुनै विषय उठेको थिएन । बरु रवि स्वयंले पक्राउ परेपछि अरू थुनुवा जस्तै आफैं हिरासतमै बस्ने बताएको सम्बन्धित प्रहरी अधिकारीहरूले नै सुनाउँथे ।
तर, रविको चौथो हिरासत (चितवन) को बसाइ विवादित मात्रै बनेन, अनुसन्धान अधिकृतले उनको डायरी समेत खोसेर गायब बनाएकोदेखि सुत्नै नदिई रातारात अड्डासार गरिएको विषय सार्वजनिक भएको छ । हिरासतमा रहेको थुनुवालाई सुत्न समेत नदिई मानव अधिकार हनन गरेर रातारात चितवनबाट पोखरा पुर्याइएको भन्दै २१ मंसिरमा रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी हालेको छ ।
उजुरीमा भनिएको छ, ‘मंसिर १९ गते दिनभर चितवनस्थित सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो । उहाँ (रवि) लाई २० गते बिहान ११ बजे हवाई जहाजमार्फत कास्की लगिने बताइएको थियो । तर १९ मंसिर राति सुतिरहेकै बेला अचानक ११ बजे उठाएर मध्यरातमा चितवनबाट सडकमार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइयो ।’
‘उक्त घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरू प्रहरी सूत्रबाटै प्राप्त भएका छन् । यो अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हुनन् गरेको छ’ मानव अधिकार आयोगमा हालिएको उजुरीमा उल्लेख गरिएको छ ।
रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा आयोगमा बुझाइएको पत्रमा यसका साथै लामिछानेको पसर्ननल (व्यक्तिगत) डायरी समेत बेपत्ता पारिएको उल्लेख गरिएको छ । यी घटनाहरूको सत्यतथ्य छानबिन हुनुपर्ने रास्वपाले माग गरेको छ ।
१९ मंसिर बिहानै बयानका लागि सरकारी वकिल कार्यालय पुर्याइएका लामिछानेको राति ९ बजे मात्रै बयान सकिएको थियो । त्यसपछि भोलिपल्ट ११ बजे हवाई जहाजमार्फत पोखरा लैजाने जानकारी आफूहरूलाई दिइएको रास्वपा समर्थकको दाबी छ ।
लामिछाने गृहमन्त्री हुँदा उनको प्रेस संयोजक रहेर काम गरेका प्रमोद न्यौपाने पनि त्यस दिन चितवनमै थिए । ‘भोलिपल्ट ११ बजेको पोखराको टिकट समेत भनिसकेकाले हामी खाना खाएर सुत्यौं । तर, कसैलाई सुइँको समेत नदिई रातारात पोखरा लगिएछ,’ न्यौपानेले अनलाइखबरसँग भने ।
रास्वपाले उल्लेख गरेजस्तै रविलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटना भने प्रहरी स्वयंले स्वीकार गरेको छ । बागतमी प्रदेशका प्रमुख तथा डीआईजी कृष्णहरि शर्मा भन्छन्, ‘राति बयान सकियो । त्यसपछि कार्यालयमा ल्याएर खाना खुवाइयो । उहाँले आफन्त तथा पार्टीका मान्छेलाई पनि भेटघाट गर्नुभयो । त्यसपछि हामीले पोखरा लगेका हौं ।’
पोखरा लाने भन्ने प्रहरीले जानकारी गराएपछि लामिछानेले यसबारे आफन्त तथा पार्टीका नेताहरू र आफ्ना कानुन व्यवसायीलाई खबर गर्न भन्दा समेत प्रहरीले नमानेको आरोप छ । चितवन प्रहरीका प्रवक्ता तथा डीएसपी भेषराज रिजालले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेलाई राति १२:५ बजे सुरक्षित रूपमा पोखरा लगिएको बताएका छन् ।
दिनभरको बयानले थकित भएर सुत्न लागेका लामिछानेलाई सामान्य मानव अधिकार समेत ख्याल नगरी रातारात अड्डासार गरिनुले पञ्चायतकालीन झल्को दिएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । लामिछानेलाई मध्यरातमा गरिएको अड्डासारले शाही आयोगले मध्यरातमा शेरबहादुर देउवालाई गरिएको गिरफ्तारको सन्दर्भ संविधानविद् भीमार्जुन आर्चायले सम्झेका छन् ।
आचार्य भन्छन्, ‘अपवाद बाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः बर्जित छ । लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको छ ।’
लामिछानेको अड्डासारको विषय कतिसम्म विवादित बनेको छ भने सत्तारुढ दलकै नेताले समेत यसको खुलेर विरोध गरेका छन् । शनिबार चितवन पुगेका सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लामिछानेमाथि अमानवीय व्यहार गरिएको बताए ।
‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि यसो गर्नु हुँदैन । यो लोकतान्त्रिक प्रणाली भएको देश हो । त्यो विल्कुल गलत काम हो,’ कोइरालाले भनेका छन् ।
सुत्नुपर्ने समयमा यात्रा गराउनु भनेको मानव अधिकार उल्लंघन मात्रै नभएर आरोपितलाई दिइएको सजायको रूपमा समेत बुझ्नुपर्ने एक पूर्व एआईजीको बुझाइ छ । ‘सुत्ने समयमा यात्रा गराउनु भनेकै सजाय दिएजस्तै हो । त्यहाँमाथि दिनभर बयान दिएर थकित भएको व्यक्तिलाई थप अनिँदो हुँदा उसको मानसिक र शारीरक अवस्था कस्तो रहला ?’
ती एआईजीले प्रतिप्रश्न गर्दै भने, ‘भागी जाने वा २४ घण्टाभित्र अदालत उपस्थित गराउनु पर्ने केस पनि थिएन । यसमा प्रहरीले सामान्य मानव अधिकारको ख्याल नगरेको देखिन्छ ।’
झडपपछि झस्केको प्रहरी
रविलाई रातारात चितवनबाट पोखरा लगिएको विषय स्थानीय चितवन प्रहरीदेखि बागती प्रदेश प्रहरी र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीसम्मले स्वीकार गरेका छन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पोखराबाट रविलाई बयानका लागि काठमाडौं ल्याइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रविको बयान सकिएपछि १८ मंसिरको बिहान बुद्ध एअरको जहाज मार्फत रविलाई चितवन लगिएको थियो । त्यसपछि करिब ११ बजेतिर जिल्ला प्रहरी कार्यालय चितवनले रविलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो ।
१८ मंसिरमा रविको बयान सकिएन । उनलाई चितवन प्रहरीको हिरासतमै फर्काइयो । भोलिपल्ट १९ मंसिरमा पुनः रविको बयान लिने तयारी थियो । तर सो दिन रास्वपाले चितवनमा प्रर्दशन गर्ने तयारी गरेको थियो । १९ मंसिरमा झडप हुँदा १६ जना कार्यकर्ता घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुसालले बताएका थिए ।
प्रहरीतर्फ पनि ८ जना घाइते भएको चितवनका एसपी गौतम मिश्रले बताएका थिए । रवि पक्राउपछि उनको पार्टीले पोखरादेखि बुटवल, काठमाडौंसम्म प्रर्दशन गर्दा समेत झडपको स्थिति बनेको थिएन । तर चितवनमा भने दोहोरो झडप भएर दुई दर्जन व्यक्ति घाइते हुने स्थिति आएपछि प्रहरी झस्केको देखिन्छ ।

रविलाई रातारात अड्डासार गरिनुको कारण पनि यही झडप रहेको प्रहरीको दाबी छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले अनलाइनखबरसँग भने, ‘अघिल्लो दिनको झडप र समग्र शान्ति सुरक्षाका कारण राति हिरासत सारेर चितवनबाट पोखरा पुर्याइएको हो ।’
तर कुने पनि व्यक्तिविरुद्ध लागेको आरोप र मानव अधिकारका विषय दुई फरक कुरा हुन् । यसलाई जोडेर हेर्न नमिल्ने कानुनका जानकारहरूको बुझाइ छ । हिरासतमा मात्रै नभएर बाहिर वा भित्र रहेको जो कोहीको आधारभूत मानव अधिकारको रक्षा गनुपर्ने दायित्व राज्यको हुन्छ । तर राज्यकै नियन्त्रणमा रहेका व्यक्तिलाई सुरक्षाको कारण भन्दै रातारात अड्डासार गर्न नहुने जानकारहरू बताउँछन् ।
सुरक्षाको कारण भन्दै राति नै अड्डासार गरेको घटनाले भने प्रहरीलाई झनै लज्जित बनाउने ती पूर्वएआईजीको बुझाइ छ । ‘अघिल्लो दिन झडप भयो भोलि फेरि होला भनेर रातारात अड्डासार गर्नु भनेको राज्य सुरक्षा प्रदान गर्न समक्ष छैन भन्ने सन्देश हो । यसले सुरक्षा अवस्था कतिसम्म नाजुक छ भन्ने दर्शाउँछ,’ ती पूर्व एआइजीले भने ।
राति नै पोखरा लानुमा अनुसन्धानको समय सीमा र मौसमलाई पनि कारण देखाइएको छ । विज्ञप्ति नै जारी गरेर चितवन प्रहरीले भनेको छ, ‘मौसम प्रतिकूलका कारण हवाई उडान मार्फत लैजान नसकिने र सीमित हदम्यादको विषयलाई मध्यनजर गरी १२:५ बजे पोखरा लगिएको हो ।’
२१ मंसिरसम्म लामिछानेलाई हिरासतमा राख्ने म्याद थियो । तर १९ मंसिर राति नै हवाई उडान प्रभावित र समय सीमाको कारण भन्दै पोखरा लगिएको देखिन्छ । पोखरा पुर्याएको ३ दिनपछि बल्ल आइतबार प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएर म्याद थप गरेको छ । यसले चितवन प्रहरीले लिएको तर्क विश्वसनीय लाग्दैन ।
कारबाहीबाट बच्ने प्रहरी मनोविज्ञान
रवि पक्राउ प्रकरणले चितवनका सुरक्षा प्रमुखहरूलाई झस्काउने दुई महिना पुरोना अर्को घट्ना छ । रवि पक्राउ परेको ५ दिनपछि ७ कात्तिकमा गृह मन्त्रालयले अस्वभाविक रूपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको एकसाथ सरुवा गरेको थियो । सामान्यता इन्चार्ज पाएको मितिले एक वर्ष पूरा नभई सरुवा नगर्ने प्रहरी नियमावलीमै उल्लेख छ ।
फागुनमा मात्रै चितवनको इन्चार्ज पाएका रिमालको ८ महिनामै जिम्मेवारी खोसिएको थियो । रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सरुवा गर्दै ब्यूराका एसपी गौतम मिश्रलाई चितवन पठाइएको थियो । त्यसबेला एसपी र सीडीओ सरुवा हुनुको मुख्य कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसँग जोडिएको थियो ।
रवि पक्राउ परेपछि रास्वपा चितवनका नेता कार्यकर्ताले ओलीको पुत्ला बनाएर नारायणी नदीमा दाहासंस्कार गरेका थिए । यो घटनामा सुरक्षा कमजोरी औंल्याउँदै उनीहरूको सरुवा गरिएको थियो । त्यसपछि जिम्मेवारी सम्हाल्न पुगेका गौतमले १९ मंसिरको झडपमा पनि राम्रो सुरक्षा प्रबन्ध गर्न नसकेको भन्दै प्रश्न उठेको थियो ।
‘रवि पक्राउ परेदेखि नै प्रदर्शन भइरहेको छ । तर अन्य जिल्लामा कुनै झडप र अप्रिय घटना भएको देखिँदैन । चितवनमा मात्रै झडप हुनुपर्ने र मान्छे समेत घाइते भएपछि स्वभाविक रूपमा सुरक्षाको प्रश्न उठ्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘भोलिपल्ट पोखरा पठाउँदा अर्को झडप निम्तन सक्ने र कारबाही समेत भोग्नुपर्ने स्थिति आउन सक्ने आकलन गरेर रातारात पोखरा पुर्याइएको हुनसक्छ ।’
तर, चितवन प्रहरीलाई माथिल्लो निकायबाटै दबाब आएपछि रातारात रविलाई चितवन लगिएको रास्वपा नेताहरूको आरोप छ । चितवन प्रहरीका कतिपय भित्रिया सूत्रको भनाइले पनि सो आरोपलाई समर्थन गर्छन ।
अनुसन्धान अन्तिम चरणमा
५२ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछाने माथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरण गरी ३ वटा कसुरमा अनुसन्धान भइरहेको छ ।
गितेन्द्रबाबु (जीबी) राई समूहले चलाएका सहकारीहरूको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको ठहर गर्दै संसदीय छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा चार जनाको नाम नै किटेर कारबाही गर्न सिफारिस गरेको थियो ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको छ । यसमध्ये ६५ करोडभन्दा बढी रकम लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रवन्ध निर्देशक भएको १४ महिना अवधिमा आएको थियो । यही आरोपमा पक्राउ परेका उनी ५२ दिनदेखि हिरासतमा छन् ।
जसमध्ये रविले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा चितवन सहकारी ठगी प्रकरणमा बयान दिइसकेका छन् । अब उनीविरुद्ध वीरगञ्जको सानोपाइला सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । १९ मंसिरमा रविसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।
सानोपाइला सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगर पालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ । अन्य सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकिसकेका अब सानोपाइला सहकारीको मात्रै बाँकी छ । त्यसपछि फरक–फरक अदालतमा उनी विरुद्ध मुद्दा दर्ता हुनेछ ।
प्रतिक्रिया 4