
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापा दमकस्थित व्यापारिक कम्प्लेक्स (दमक टावर) उद्घाटन गरे ।
भौतिक संरचना निर्माण सकिएको झन्डै एक वर्षपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेको १ सय मिटर अग्लो १८ तले यो भवनलाई सुरुमा ‘दमक भ्यु टावर’ नामकरण गरिएको थियो ।
अहिले सरकारले ‘दमक व्यापारिक कम्प्लेक्स’ नामकरण गरी उद्घाटन गरेको हो । २० माघ २०८० मा निर्माण सम्पन्न भएको यो टावरको तामझाम साथ उद्घाटन भए पनि वर्तमान र भविष्य दुवै अन्योलमा छ ।
सोहीकारण उद्घाटन कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भने, ‘यो संरचनाले हाम्रो सहर (दमक) मा ल्याउने मिठो असरको प्रतीक्षा गरौं ।’
अर्थात्, १ अर्ब ६३ करोड ५४ लाख रुपैयाँमा ठडिएको यो टावर केही समय झिलिमिली रहला तर, त्यो झिलिमिली बाल्न प्रयोग भएको बिजुलीको बिलसमेत कसले र कसरी तिर्ने भन्ने अन्योल आउन सक्ने सरोकारवाला बताउँछन् ।
सरकारले दमक टावरसहित ६ विशिष्ट संरचनाको जिम्मा रहने गरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ जारी गरेको छ । सोही अनुसार सरकारले टावर सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गर्न सक्छ ।
स्थानीय उद्योगी–व्यवसायी भने अर्थतन्त्र सुस्ताएका कारण दमक चोककै धेरै सटर बिक्रीमा रहेको अवस्थामा दमक टावर (सेतो टावर) कसरी चल्छ भन्नेमा प्रश्नविहीन रहेको बताउँछन् ।
‘त्यो स्तरको भवन यति धेरै लागतमा यो स्थानमा किन बनाइयो र कसरी चल्छ भन्ने प्रश्नको उत्तर अहिलेसम्म पनि पाइएको छैन,’ दमक उद्योग वाणिज्य संघ अध्यक्ष देवीप्रसाद गुरागाईंले प्रश्न गरे, ‘टावरमा निजी क्षेत्र आकर्षित गरी भवन चलाउने भनिए पनि व्यापारिक सम्भावना नै नभएको स्थानमा निजी क्षेत्र कसरी पुग्ला ?’
सरकारले तामझाम सहित उद्घाटन गरेको यो भवनले अर्थतन्त्रमा कति योगदान गर्छ भन्नेमा राज्य सञ्चालक स्वयं स्पष्ट छैनन् । केवल भविष्यको आश देखाइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्ने जानकारी दिए । त्यसकारण उनले भवन चल्ने ‘ग्यारेन्टी’ लाई भविष्यको जिम्मा दिए ।
सहरी विकासमन्त्री प्रकाशमान सिंहले समेत भवनबाट आर्थिक लाभ लिन सक्ने जिम्मा भविष्यलाई दिए । ‘आज म यहाँ तपाईंहरू सबैको अगाडि उभिएर अत्यन्त गर्व र खुसीसाथ देशकै सम्भवतः सबैभन्दा अग्लो, हाम्रो सहरी विकास र आधुनिकीकरण यात्रामा एक महत्त्वपूर्ण माइलस्टोन नै सावित हुन सक्ने यो व्यापारिक कम्लेक्सको उद्घाटन भएको छ, जुन दमक नगर र सम्पूर्ण झापा जिल्लाको प्रगतिको प्रतीक बनिसकेको छ ।’
उनले अगाडि थपे, ‘हामी यो टावरलाई दमक नगरको परिधिमा थप सहरी विकासको बीउका रूपमा देख्छौं ।’
उनले यो भवनले दमकमा सहरी वातावरण सिर्जना गर्न, स्थानीय पर्यटन प्रवद्र्धन गर्न, तीनै तहका सरकारलाई योजनाबद्ध भूमि विकास परियोजना सुरु गर्न र कार्यान्वयन गर्न प्रेरित गर्ने दाबी गरे ।
दमक उद्योग वाणिज्य संघ अध्यक्ष गुरागाईं भने स्थानीय आवश्यकता हेरेर राज्यले लगानी गर्ने हो भनेमात्र यस्ता संरचना फलदायी हुन सक्ने बताउँछन् ।
‘काठमाडौंको धरहरा र दमकको टावरलाई एउटै दृष्टिले हेरेर योजना बनाउनु हुँदैन,’ उनी भन्छन्, ‘धरहरा चढ्न आउने टिकटको पैसाले मात्र पनि चल्न सक्छ, दमकमा त्यो सम्भव नहुन सक्छ ।’
यो संरचना प्रधानमन्त्री ओलीको पहलमा उनकै निर्वाचन क्षेत्रमा निर्माण गरिएको हो । यस संरचनाको ठेक्का २०७६ सालमा लागेको हो । २७ असार २०७६ मा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए ।
कस्तो बनेको छ दमक टावर ?
यो व्यावसायिक टावर कुल १ सय मिटर अग्लो बनेको छ । जसमध्ये १८औं तला ७२ मिटर उचाइमा निर्माण भएको छ । बाँकी २८ मिटरमा भने मेटल फ्रेमको टावर राखिएको छ । यसरी कुल १ सय मिटरको भवन निर्माण भएको छ ।
वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेर दमक नगरपालिका–३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यान सहितका संरचना सहित बनेको हो ।
भवनभित्र धेरै ‘पार्टेसन’ नगरिएको र व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुसार भवनमा आफ्नो संरचना राख्न सक्ने गरी स्पेस राखिएको छ ।
यो भवन काठमाडौंमा पुनर्निर्माण भएको धरहराभन्दा १६ मिटर अग्लो बनेको छ । टावरका हरेक तला चार मिटर उचाइमा बनेको छ । भूकम्प प्रतिरोधी यस भवनमा आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
चट्याङबाट बचाउने प्रविधि समेत भवनमा राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजनका पसल, पाँचौं तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहनेछन् ।
१०औं तलामाथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने भएका छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर बनेको थियो ।
प्रतिक्रिया 4