
२३ मंसिर, काठमाडौं । विद्यावारिधी (पीएचडी) डाक्टरप्रति उपसभामुख इन्दिरा रानाले व्यङ्ग्य गरेकी छन् ।
आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रपत्रिकामा आएका विषयलाई कम्पायल गरेर त्यसको तथ्य जाँच समेत नगरी पीएचडीको उपाधि लिने प्रवृति रहेको बताएकी हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसद्को काम प्रभावकारी बनाउन सांसद स्वयम् प्रभावकारी बन्ने प्रयासमा लाग्नुपर्ने बताएका थिए । त्यसमा संसद्का कर्मचारीले सहयोग गर्ने उनको भनाइ थियो ।
सांसद आफैँ प्रभावकारी बन्नुपर्छ भन्ने महासचिवको भनाइ ठीक जस्तो लागेता पनि नेपालको संसदमा समानुपातिक समावेशी प्रतिनिधित्व रहेको र उनीहरू विज्ञताको रुपमा मात्रै नभएर जनताको प्रतिनिधिको रुपमा चुनिएर आएको बुझ्न आवश्यक रहेको बताइन् ।
‘महासचिवज्युले भन्नुभयो– सांसदहरू आफैँ प्रभावकारी हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभएको पनि ठिकै हो । तर, हामी भूगोलको समावेशिता, जनजाती, सिमान्तकृत वर्गबाट समावेशी भएर आएका माननीय ज्युहरु हुनुहुन्छ । हामी सबै कुरामा विज्ञ छैनौं,’ उपसभामुख रानाले भनिन् ।
संसद्मा २३ जना एसएसली पास पनि नभएको सांसद रहेको जस्तो तथ्यांक देखाएर सांसदहरूको मुल्यांकन हुने गरेको भनेर उनले असन्तुष्टि जनाइन् ।
‘उहाँहरूले एसएलसी पास नगरेता पनि आफ्नो भावना, आफ्नो अभावता, जनताका आवाज गुञ्जाउन सक्नुहुन्छ नि त । हामीले जहिले पनि यो लिटरेसीलाई मात्रै, डिग्रीलाई मात्रै मान्नुहुन्न’ उपसभामुख रानाले भने ।
उनले यहीँनेर पीएचडी डाक्टरप्रति व्यङ्ग्य गरेकी हुन् ।
‘सायद डाक्टरको उपाधि जसले पाउनुभएको छ उहाँहरूले मलाई पिट्नुहोला है । तर यो डाक्टर भनेको ६ महिना जम्मै कम्पायल गरेर पत्रिकामा आएका कुरा ठीक छन छैनन् ती पनि कम्पायल गर्ने अनि कुनको के के ती पनि कम्पायल गर्ने, एक दुई जनासँग प्रश्न गर्यो र पुग्यो । त्यसलाई हामी डाक्टर भन्छौं । म चाहीँ एग्री छैन,’ उपसभामुख रानाले भनिन् ।
उपसभामुख रानाले यसमा थप व्याख्या गरिनन् । संसद् सेवामा लामो समयदेखि काम गरेका व्यक्ति, कर्मचारीहरू पोख्त हुने बताइन् । संसद्का कर्मचारी समेतको सहयोगका सांसदको संसदमा प्रभावकारी भूमिका देखिन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4