
२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि उत्पादन किनबेच गर्न सक्ने कार्यविधि अनुमोदन गरेको छ ।
आइतबार महानगरको २७औं कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि’ सर्वसम्मत अनुमोदन गरेको हो ।
महानगरपालिकाको बजेटको स्वर्णिम योजनामा रहेको ‘एग्रो पुलिङ कार्यविधि’ मा अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरवासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवस्था समेटिएका छन् ।
कार्यविधिअनुसार महानगरले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अर्गानिक खाद्यवस्तु उत्पादन गर्ने र वितरणका लागि महानगरभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्ने छ ।
महानगर आफैंले कम्पनी खोल्न सक्ने कार्यविधिमा व्यवस्था छ । उत्पादकले गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने, गुणस्तर परीक्षण गर्ने र महानगरमा भएको वितरकसम्म ढुवानी गर्ने काम गर्ने छ ।
उत्पादन, प्रशोधन तथा ढुवानीमा लाग्ने खर्च सम्बन्धित पालिकाले स्वीकृत गरेको दरमा गर्नुपर्ने छ । महानगरले ‘प्रविधि’, ‘अनुदान’, ‘जनशक्ति’ र ‘भौतिक सामान’ सहयोग उपलब्ध गराउन सक्ने छ ।
प्रतिक्रिया 4