
२४ मंसिर, काठमाडौं । सेयरको अभौतिकीकरण भन्नाले कागजी सेयर प्रमाणपत्र वा धितोपत्रलाई विद्युतीय वा डिजिटल रूपमा रूपान्तरण गर्ने प्रक्रियालाई बुझिन्छ । अर्को शब्दमा अभौतिकीकरण प्रक्रियामा धितोपत्रको स्वामित्व र स्वरूपलाई विद्युतीय रूपमा रेकर्ड गरिन्छ ।
त्यसपछि भौतिक सेयर प्रमाणपत्रको आवश्यकता पर्दैन । यसको सट्टा लगानीकर्तालाई विद्युतीय स्टेटमेन्टहरू वा सेयर होल्डिङको रेकर्ड डिम्याट खातामा उपलब्ध गराइन्छ ।
यो विद्युतीय वा अभौतिकीकृत सेक्युरिटीमा लगानी र कारोबारका लागि प्रयोग गरिने विशेष खाता हो । एकपटक तपाईंले डिम्याट खाता खोलिसकेपछि, भौतिक सेयरलाई डिम्याट गर्ने प्रक्रिया सुरु गर्न सक्नुहुन्छ । सेयर डिम्याट नगरेसम्म बेच्न पाइँदैन ।
सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार अझै पनि ७५ करोड कित्ता सेयर डिम्याटमा आएको छैन । अर्थात् ती सेयर प्रमाणपत्रकै रुपमा छन् वा केही नष्ट भइसकेका पनि होलान् ।
यदि आफूसँग कुनै कम्पनीको सेयर भएको तर पछि हराएको वा नष्ट भएको एकीन भएमा सम्बद्ध कम्पनीमा गई ती सेयर लिन सकिने सीडीएससीका सूचना अधिकृत सुरेश न्यौपानेले जानकारी दिए ।
भौतिक सेयरलाई डिम्याटमा रूपान्तरण गर्ने प्रक्रिया
तपाईसँग भौतिक सेयर प्रमाणपत्र छन् भने बजारमा किनबेच गर्न सक्नुहुन्न । निम्न चरणमा भौतिक सेयर डिम्याटमा रूपान्तरण हुन्छः
१. अभौतिकीकरण गर्नको लागि लगानीकर्ताले निक्षेप सदस्य (डीपी) मा डिम्याट खाता खोल्नुपर्छ ।
२.हितग्राहीले आफूसँग भौतिक रूपमा रहेको धितोपत्रको अभौतिकीकरण गर्नुपर्ने प्रमाणपत्र सहित आफ्नो डिम्याट खाता रहेको डीपी समक्ष अभौतिकीकरण आदेश फारम भरेर निवेदन दिनुपर्छ ।
३. निक्षेप सदस्यले निवेदन र प्राप्त भएको धितोपत्रको विवरण उल्लेख गरी सोको निस्सा निवेदकलाई दिनुपर्छ ।
४.निक्षेप सदस्यले प्राप्त निवेदन आवश्यक जाँचबुझ गरी निक्षेप प्रणालीमा निवेदन बमोजिमको धितोपत्रको विवरण प्रविष्टि गरी प्रत्येक भौतिक प्रमाणपत्रको अग्रपृष्ठमा ‘अभौतिकीकरणको लागि सुम्पेको’ उल्लेख भएको मिति सहितको छाप लगाई निवेदन प्राप्त भएको ७ (सात) कार्यदिन भित्र निवेदन तथा कागजात सम्बन्धित संगठित संस्था (कम्पनी) वा कम्पनीले तोकेको रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधिसमक्ष पठाउनुपर्छ ।
५.सम्बन्धित कम्पनी वा प्रतिनिधिले निक्षेप सदस्यबाट निवेदन प्राप्त भएको तीन कार्यदिन भित्र निवेदनका साथ प्राप्त कागजात तथा धितोपत्र प्रमाणपत्रको जाँचबुझ गरी अभौतिकीकरण गर्न योग्य भएमा अभौतिकीकरणका लागि स्वीकृत गरी सोको जानकारी निक्षेप सदस्यलाई दिनुपर्छ ।
६.निक्षेप सदस्यले अभौतिकीकरण भएको धितोपत्र सम्बन्धित निवेदकको खातामा जम्मा गरी सोको विवरण (स्टेटमेन्ट) सहितको जानकारी सम्बन्धित निवेदकलाई दिनुपर्नेछ।
७. सम्बन्धित शेयर रजिष्ट्रारले जाँचबुझ गर्दा धितोपत्र अभौतिकीकरणको लागि योग्य नदेखिएमा कारण खुलाई निक्षेप सदस्यलाई जानकारी दिनुपर्छ र त्यसको जानकारी निक्षेप सदस्यले सम्बन्धित निवेदकलाई दिनुपर्छ ।
८.कुनै संस्थाले पद्धतिमा गलत प्रविष्ट गरेको विवरण रुजु र प्रमाणित गरी सो सच्याउनका लागि सीडीएससीमा गलत प्रविष्टि र सच्याउनुपर्ने विवरण उल्लेख गरी निवेदन दिन सक्नेछ । त्यस्तो निवेदन प्राप्त भएमा सीडीएससीले निवेदन जाँचबुझ गर्दा सही ठहरिएमा प्रति संशोधन १०० रुपैयाँ शुल्क लिई त्रुटि सच्याउनको लागि सहमति दिन सक्नेछ ।
प्रतिक्रिया 4