
२४ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै आगामी तीन महिना कम पानी पर्ने जनाएको छ ।
यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ । अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।
यसअघि विभागले असोज १५ देखि पुस १६ गतेसम्मको हावापानी आँकलन २० असोजमा सार्वजनिक गरेको थियो । त्यसको सारांशमा यस वर्ष १५ असोजदेखि १६ पुससम्मको अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो । साथै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको भनिएको थियो ।
यसैगरी अधिकतम र न्यूनतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने उल्लेख थियो । तापक्रमको प्रक्षेपण मिले पनि वर्षाको सवालमा भने विभागको प्रक्षेपण मिलेको देखिएको छैन । किनभने असोज १५ यताका अधिकांश दिन सुक्खा छन् ।
यद्यपि जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भने डिसेम्बर महिना अझै बाँकी रहेकाले पानी पर्न पनि सक्ने बताउँछिन् । ‘पश्चिमी वायुको प्रभावले आजै पश्चिम तिर पानी परेको छ,’ डिसेम्बर महिनासम्म हेरौं न,’ उनले भनिन् ।
गत वर्ष मिलेको थिएन हिउँदको प्रक्षेपण
गत वर्ष २०८० मा विभागले हिउँद अवधिमा गरेको वर्षाको प्रक्षेपम मिलेको थिएन । त्यतिबेला विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकोमा त्यसविपरीत सरदरभन्दा कम वर्षा भएको थियो ।
गत वर्षको तापक्रमको आँकलन भने मिलेको थियो । गत हिउँदमा विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मध्य तथा उत्तरी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा कम र बाँकी भूभागमा सरदरभन्दा बढी हुने प्रक्षेपण गरेकोमा दक्षिणी भूभागमा सरदरभन्दा कम र बाँकी भूभागमा सरदरभन्दा बढी मापन भएको थियो ।
यसैगरी न्यूनतम तापक्रमको देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण गरेकोमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी नै मापन भएको थियो ।
विभागकी प्रवक्ता पोखरेल हिउँद अवधिको प्रक्षेपण गर्न मनसुनको जस्तो सजिलो नहुने बताउँछिन् ।
‘यो पूर्वानुमान न हो, कहिलेकाहिँ नमिल्न सक्छ’ उनले भनिन्, ‘हिउँदयामको पूर्वानुमान मनसुनको जस्तो सजिलो हुँदैन ।’ तर विगतका वर्षको तुलनामा जल तथा मौसम विज्ञान विभागले गर्ने पूर्वानुमान धेरैजसो मिल्दै गएका र यसमा अझै सुधार ल्याउने प्रयास भइरहेको उनी बताउँछिन् ।
कसरी गरिन्छ ऋतुगत हावापानीको पूर्वानुमान ?
मौसमविदहरुका अनुसार ऋतुगत जलवायु विभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ ।
विभागले यो आँकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आँकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)को आँकलनको आधारमा यस वर्षको हिउँदको सम्भावित मौसमी अवस्था प्रक्षेपण गर्दछ ।
यो आँकलन गर्दा जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो र हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था तथा अन्तरऋतु परिवर्तनशीलताका कारकहरुलाई समेत मध्यनजर गरिने मौसमविद बताउँछन् ।
यस वर्ष पानी र तापक्रमको आँकलन कस्तो छ ?
यिनैका आधारमा विभागले आइतबार फेरि मंसिर १६ गतेदेखि फागुन १६ सम्मको हावापानीको आँकलन सार्वजनिक गर्दै देशभर सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिएको हो ।
आँकलनमा विभागले भनेको छ, ‘यस हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ ।’
विभागका अनुसार कोशी प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा कम वर्ष हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेश, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
बाँकी भूभागमा भने सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।
अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुन सम्भावना छ । यसको अर्थ यस वर्षको मंसिर १६ देखि फागुन १६ सम्मको अवधि न्यानो हुने छ ।
कर्णाली प्रदेशका मध्य तथा पूर्वी भूभाग, लुम्बिनी प्रदेशका पूर्वी भूभाग, गण्डकी प्रदेश, बागमती प्रदेशका पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।
कर्णाली प्रदेशका दक्षिण–पश्चिम र दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, बागमती प्रदेशका उत्तरपूर्वी भूभाग, कोशी प्रदेशका उत्तर र दक्षिणपूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
देशका बाँकी भूभागमा भने अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
विभागकी प्रवक्ता पोखरेलका अनुसार न्यूनतम तापक्रम पनि बागमती प्रदेशका अधिकांश भूभाग र मधेश प्रदेशका पश्चिम भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
यसैगरी कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका दक्षिणी तथा पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभाग न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका भूभागमा भने न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ ।
प्रतिक्रिया 4