
२४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३०औं महानगर दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
महानगरले टुँडिखेलमा दिवसको औपचारिक कार्यक्रम गर्ने भएको हो । औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वलाई सम्मान, अपराह्नबाट सांगीतिक कार्यक्रम, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवद्र्धन गर्न फुड स्टल, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तु प्रदर्शनी लगायत गरिने छ ।
महानगर प्रमुखको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुनेछ । यस्तै शिक्षा विभागले विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ, एकदेव लिम्बू, सुगम पोखरेल (ब्यान्ड), केहर लिम्बू एन्ड जोइ ब्यान्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दीप विष्ट सहितको प्रस्तुति हुने महानगरले जनाएको छ ।
सफाइ अड्डाबाट बनेको महानगर
३ पुस १९९६ सालमा स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग काठमाडौं महानगरको इतिहास हो । २९ मंसिर २०५२ सालमा काठमाडौं नगरलाई महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।
प्रतिक्रिया 4