२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक दिनको विश्रामपछि मंगलबार लिग चरणका खेलहरु पुन: सुरु हुनेछ । मंगलबार पनि लिगमा दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
लगातारको खेलबाट विश्राम पाएको टिमहरु नयाँ जोशका साथ मैदान फर्कने तयारीमा छन् ।
राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अझै पहिलो जितको खोजीमा छ । लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो । लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ । चितवनले पछिल्लो खेलमा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रा ३ खेलमा ब्रेक लगाउँदै तेस्रो जित हात पारेको थियो ।
युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनले चार मध्ये ३ खेल जितेर ६ अंकसहित तेस्रो स्थानमा छ । लगातार चार खेल हारेको लुम्बिनी अंकविहिन हुँदै पूछारमा छ ।
चितवनल चौथो जित हा तपार्दै प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ भने लुम्बिनी पाँचौ खेल खेल्दा पनि पहिलो जितकै खोजीमा छ ।
चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो । त्यसपछि कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले हराएको थियो ।
लुम्बिनी पहिलो खेलमा विराटनगर रोएल्ससँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिम रोएल्ससँग ४५ रनले र चौथो खेलमा जनकपुरसँग १ रनले पराजित भएको थियो । लुम्बिनी पछिल्लो खेलमा जनकपुर विरुद्ध जित नजिक पुगेर पनि अन्तिम बलमा विकेट गुमाउँदा थोरैले चुकेको थियो । ब्याटिङमा राम्रो रहेपनि लुम्बिनीले बलिङमा राम्रो प्रदर्शन गर्न सकेको छैन । चितवनसँग पराजित भए लुम्बिनी प्लेअफको होडबाट बाहिरिनेछ ।
चितवन र लुम्बिनीबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ ।
यसैगरी कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको दोस्रो खेल दिउँसो १ बजे टीयू मैदानमै सुरु हुनेछ । कर्णाली र पोखरा दुवै लगातार जित निकाल्ने लक्ष्यमा छन् । दुवै टोलीले आफ्नो पछिल्लो खेल जितेको थियो । सुरुवाती दुई खेलमा लगातार पराजित भएको कर्णालीद्ये त्यसपछि लगातार दुई खेल जितेको थियो । कर्णालीले पछिल्लो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
उता पोखराले लगातार दुई खेलमा हारपछि तेस्रो खेलमा आएर पहिलो जित हात पारेको थियो । आन्द्रेस गौसले लिगकै पहिलो शतक बनाएको खेलमा पोखराले लुम्बिनी लायन्समाथि कीर्तिमानी १० विकेटको जित हात पारेको थियो । त्यही लय कायम रख्दै पोखरा लगातार जित हात पार्ने लक्ष्यमा छ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा काठमान्डु गुर्खाजसँग ३ विकेटले पराजित भयो । त्यसपछि कर्णालीले चितवन राइनोजलाई ६ विकेटले र विराटनगरलाई ७ रनले पराजित गरेको थियो । कर्णाली लगातार तेस्रो खेल जित्दै प्लेअफ यात्रा बलियो बनाउने लक्ष्यमा छ ।
भारतीय स्टार ब्याटर शिख धवन सुरुवाती चार खेल खेलेर भारत फर्किसकेका छन् ।कर्णालीले एनपीएलमा धवन बिना पहिलो खेल खेल्दैछ । धवन फर्कनुअघि नै कर्णाद्यी अष्ट्रेलिया अलराउण्डर विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो । बाबर हायतले राम्रो खेल्न नसक्दा बोसिस्टोले पहिलो रोजाईमा खेलेका थिए । अब धवनको स्थानमा हायत पहिलो रोजा२मा फर्कन सक्छन् । कर्णालीको टिममा नेपाली खेलाडीहरु दिपक डुम्रे भुवन कार्की रित गौतम जस्ता खेलाडी पछिल्लो खेलमा बेन्चमा थिए ।
उता तीन खेल मात्र खेलेको पोखराले एक खेलमात्र जितेको छ । पहिलो खेलमा चितवनसँग ८७ रनले पराजित भएको पोखरा त्यसपछि जनकपुरसँग ७ विकेटले पराजित भएको थियो । दुई हारपछि पोखराले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको थियो ।
एक जित हातपारेको पोखरा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
खेल : चितवन राइनोज भर्सेस लुम्बिनी लायन्स
मिति र समय : २५ मंसिर बिहान ९ बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
चितवन राइनोज सम्भावित ११ : हसन इसाखिल, सन्तोष कार्की, रवि बोपारा, कुशल मल्ल, विपिन रावल, दिपक बोहरा, जान निकोल लफ्टी इटन, अमर सिंह राउटेला, सोहेल तनविर, रिजन ढकाल,
लुम्बिनी लायन्स सम्भावित ११ : अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद विन जफर, बेन कटिङ, रामोन सिमोण्ड्स, अभिशेष गौतम, दुर्गेश गुप्ता, सूर्य तामाङ
खेल : कर्णाली याक्स भर्सेस पोखरा एभेन्जर्स
मिति र समय : २५ मंसिर दिउँसो १ बजे बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
कर्णाली याक्स सम्भावित ११ : देव खनाल, बाबर हायत, चाडविक वाल्टन, जिसान मक्सुद, विलियन बोसिस्टो, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा, भुवन कार्की
पोखरा एभेन्जर्स सम्भावित ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, दिलिप नाथ, म्याट क्रिटले, रेमोन रेइफर, नारायण जोशी, माइकल लिस्क, विपिन खत्री, आकाश चन्द, सागर ढकाल
प्रतिक्रिया 4