
२४ मंसिर,काठमाडौं । काठमाडौं महनागरपालिकाका १८ स्थानबाट वायु प्रदूषणको अवस्थाबारे ‘रियल टाइम डाटा’ आउने भएको छ ।
सोमबार महानगरपालिकाले ‘हेल्दी सिटिज’ को सहकार्यमा १८ स्थानमा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर सेन्सर स्थापना गरेको हो ।
यसले वायुमा रहेको पीएम २.५ को वास्तविक समयको डाटा उपलब्ध गराउने छ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्छन् ।
यसले श्वासप्रश्वास र हृदय सम्बन्धी रोगरू उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सर जस्ता समस्या निम्त्याउँछ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्ति यसबाट बढी प्रभावित महानगरले जनाएको छ ।
हेल्दी सिटीका अनुसार यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र इन्बिल्ट डेटा कनेक्टिभिटी सहित छन्, जसले वास्तविक समयको डाटा केएमसीको केन्द्रीय ड्यासबोर्डमा पठाउन सक्षम बनाउँछ ।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले काठमाडौंमा वायु प्रदूषण घटाउनतर्फ सुरुवात भएको बताइन् । महानगरपालिकाले पछिल्ला समय विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
यस्तै महानगरको वातावरण व्यवस्थापन विभाग सरिता राईले वायु प्रदूषण विरुद्ध यो प्रविधिले मद्दत गर्ने बताइन् । उनले छिट्टै सवारीसाधन प्रदूषण जाँच कार्य थालनी गर्ने भन्दै फोहोर जलाउन प्रति थप कडा कारबाही गर्ने बताएकी हुन् ।
परियोजना प्रमुख सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणहरूको प्राविधिक पक्षबारे जानकारी प्रदान गर्दै, जडान कार्यपछि सम्पूर्ण तथ्यांकमा महानगरवासीको पहुँच तथा सुुसूचित गराउने अभिप्राय साथ काठमाडौं महानगरपालिकाको वेब पोर्टल र एपमार्फत रियल टाइम डाटा हेर्न सकिने जानकारी दिए ।
कसरी छानिए १८ स्थान ? कहाँ–कहाँ छ ?
महानगरले यी १८ स्थान छनोट गरी वायु गुणस्तर निगरानी सञ्जाले अध्ययनपछि गरेको हो । परियोजना प्रमुख पाण्डेका अनुसार महानगर कार्यालय काठमाडौं प्लाजा, क्षेत्रपाटी निःशुल्क चिकित्सालय लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उधान, प्रसूतीगृह अस्पताल थापाथली, नयाँबसपार्क, रिङरोड ठूलो भर्याङ, बौद्ध विकास क्षेत्र, मध्य बानेश्वर, टेकु, २७ नम्बर वडा कार्यालय, असन, चाबहिल चोक, जडीबुटी, ५ नम्बर वडा कार्यालय, १६ नम्बर वडा कार्यालय, २३ र १७ वडा कार्यालय, १९ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, १८ र ३१ वडा कार्यालयबाट रियल टाइम डाटा आउने छ ।
यसरी जडान भएका यन्त्रमार्फत रियल टाइम डाटालाई महानगरको वेबसाइट र मोबाइल एपमार्फत उपलब्ध हुनेछ । यस तथ्यांकका आधारमा महानगरले वायु प्रदूषण अवस्था थाहा हुन्छ ।
प्रतिक्रिया 4