
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मको निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका दुई साझेदारले सेभेन सिज सिनेमा प्रालिको नाममा भैरहेको ‘सेयर रकम भुक्तानी’ रोक्का गर्न आग्रह गर्दै सोमबार वितरकसहितलाई पत्र लेखेका छन् ।
संचालकद्वय रमेश ढकाल र प्रतिक सुवेदी (प्याट्रिक)ले लेखेको पत्रमा अहिलेसम्म सेभेन सिज सिनेमा प्रालिको नाममा सेयर रकम भुक्तानी भैरहेको जानकारीमा आएकाले हालसम्मको भुक्तानीबारे जानकारी गराएर बाँकी रकम भुक्तानी रोक्का गर्न भनिएको छ ।
अनलाइनखबरलाई प्राप्त पत्रमा आफूहरुको रोहवरमा फाइनल हिसाब किताब गरि संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्न उनीहरुको आग्रह छ । वितरण कम्पनीद्वय ब्यांकटेस इन्टरटेनमेन्ट र टी-फोकसहित सेभेन सिज सिनेमा प्रालि, बाँसुरी फिल्म्स प्रालि, नेपाल चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि पत्र पठाइएको छ ।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले आफूहरुलाई ढकाल र सुवेदीबाट पत्र प्राप्त भएको बताए र आफूहरुले यसलाई गम्भीरता साथ लिएको बताए । संघले सेभेन सिज सिनेमाजले निर्माण र वितरण गर्ने फिल्मलाई मातहतका सदस्यले प्रदर्शन नगर्ने घोषणा गरेको केही घण्टामै अमेरिका वितरक सुवेदी र मध्यपूर्व वितरक ढकालले पत्र लेखेका हुन् ।
ती संस्थालाई पठाइएको पत्रमा केन्द्रिय चलचित्र जाँच समितिको प्रमाणपत्र र निर्माण इजाजतपत्र पनि समावेश गरिएको छ ।
गत शनिबार सेभेन सिज सिनेमा नामक संस्थाको लेटर प्याडमा सोमबारदेखि फिल्म उतार्ने निर्णय गरिएको उल्लेख थियो । तर, सोमबार ढकाल र सुवेदीले निर्माता कम्पनी सेभेन सिज सिनेमा नभई सेभेन सिज इन्टरटेनमेन्ट भएको जानकारी गराएका छन् । यो पत्रपछि विवादले नयाँ रुप लिएको अपेक्षा गरिएको छ । स्रोतका अनुसार सेभेन सिजका दुई साझेदारको पात्रपछि वितरण कम्पनीहरूले भुक्तानीबारे थप निर्णय गर्नसक्ने बताइएको छ ।
प्रतिक्रिया 4