
२४ मंसिर, काठमाडौं । बाराको गढीमाई मेलामा सञ्चालित कृषि प्रदर्शनी मेला सकिएको छ ।
महागढीमाई नगरपालिकामा १८-२४ मंसिरसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गरेको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।
उनका अनुसार कृषि प्रदर्शनीमा १० करोड बराबरको कृषि उपकरणहरू बुकिङ भएको छ । कृषि सम्बन्धी हेभी इक्विपमेन्ट, ट्याक्टर लगायत कृषि उपकरणहरू बुकिङ भएको लामिछानेले बताइन् ।
पालिकाहरूले आ-आफ्नो क्षेत्रमा हुने स्थानीय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवा प्रवर्द्धनका लागि प्रदर्शनीमा स्टलहरू राखेका थिए ।
साथै सातै प्रदेशका सात फरक परिकार, कृषिमा आधुनिक प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, विभिन्न कम्पनीका कृषि उपकरणहरू प्रदर्शनीमा राखिएका थिए ।
प्रदर्शनीमा कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँग किसानले प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका थिए भने रोबोटसँगको कुराकानी पनि विशेष आकर्षण बनेको लामिछानेले जानकारी दिइन् ।
प्रदर्शनीमा कृषि सम्बन्धी विभिन्न १०० वटा स्टलहरु राखिएका थिए ।
कृषि प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए भने समापन महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गरेका हुन् ।
प्रतिक्रिया 4