
काठमाडौं । फिल्म ‘रंगेली’ निर्देशन गरेर चर्चामा आएका निर्देशक अर्जुन सुवेदीले आगामी फिल्मको घोषणा गरेका छन् । ‘सोल्टिनी’ नामक सोसल ड्रामा फिल्मको शीर्ष भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु देखिनेछन् ।
निर्माताले घोषणा भिडियोमार्फत फिल्मबारे जानकारी गराएका छन् । भिडियोमा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल न्यारेटरको रुपमा प्रस्तुत छन् ।
पोखरेलले वाचनमा भनेका छन्, ‘मानिसबाट मानिसलाई हुने छिःछि दूरदूर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कदम अगाडि बढाउनैपर्छ, कि त पैताला जलाउनैपर्छ ।’ भिडियो हेर्दा फिल्मले समाजमा विद्यमान जातिय विभेदको कथावस्तुलाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ ।
सपुतले ‘भीमसेन पोखरेल’को भूमिका निर्वाह गर्दै भनेका छन्, ‘सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।’
अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका चित्रण गर्दै भनेकी छन्, ‘सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।’
जातिय विभेदको कथावस्तुमा बनेको ‘पूजार सार्की’मा पनि परीक्षा देखिएकी थिइन् । सपुतले निर्देशन तथा निर्माण गरिरहेको फिल्म ‘वसन्त’को कथा पनि जातिय विभेदकै कथामा आधारित छ ।
‘सोल्टिनी’को कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियोमा जनाइएको छ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मको छायांकन पुस १५ देखि सुरु हुनेछ । फिल्मको प्रदर्शन २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।
प्रतिक्रिया 4