+

गर्भावस्थामा कस्तो बेला यौन सम्बन्ध राख्नुहुँदैन ?

२०८१ मंसिर  २५ गते १७:३३ २०८१ मंसिर २५ गते १७:३३
गर्भावस्थामा कस्तो बेला यौन सम्बन्ध राख्नुहुँदैन ?

गर्भावस्थामा महिलाको शरीर निकै संवेदनशील हुन्छ । गर्भ रहेपछि शारीरिक र मानसिक अवस्थामा पनि परिवर्तन भइरहन्छ । त्यसैले हरेक काम गर्दा विचार गर्नुपर्छ । थोरै तलमाथि भएमा पनि स्वास्थ्य जोखिममा पर्न सक्छ ।

यस्तोमा कतिपयको प्रश्न हुन्छ, गर्भावस्थाको समयमा यौन सम्बन्ध राख्न मिल्छ ?

हरेक गर्भको चरण वा संवेदनशीलतालाई हेरेर मात्र यौन सम्बन्ध बनाउनु उचित हुन्छ । कतिपय अवस्थामा भने यौन सम्पर्क राख्नु उचित हुँदैन । गर्भ रहेको पहिलो तीन महिना यौन सम्बन्ध राख्नु उचित मानिंदैन । यो समयमा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ ।

साथै नवौं महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने बताइन्छ । त्यसबाहेकको अवधिमा यौन सम्बन्ध राख्न मिल्छ । तर नौ महिनाको कुनै पनि समयमा यौनसम्पर्क राख्दा कुनै असामान्य लक्षण देखिएमा भने तुरुन्तै त्यसलाई रोकेर चिकित्सकलाई परीक्षण गराउनुपर्छ ।

के कस्ता संकेत जोखिमपूर्ण ?

कम्मर तथा पेट दुखाइ

यदि गर्भवती महिलाले यौनसम्पर्कपछि पेट वा कम्मरमा गहिरो दुखाइ महसुस गरेमा यो चेतावनीको संकेत हुनसक्छ । यो दुखाइ पाठेघरमा कुनै प्रकारको समस्या भएको संकेत हुनसक्छ । यस्तो अवस्थामा यौनसम्पर्कबाट टाढा रहनु उपयुक्त हुन्छ ।

रक्तस्राव

गर्भावस्थामा यौनसम्पर्कपछि हल्का रातो दाग देखिनु सामान्य कुरा हो । तर धेरै रक्तस्राव भएमा यो चेतावनीको संकेत हुनसक्छ । रक्तस्राव नै सुरु भइरहेको छ भने तुरुन्तै यौनसम्पर्क गर्नुहुँदैन । किनभने यस्तो बेलामा सम्पर्क राख्दा पाठेघरमा दबाब परी गर्भपात वा अन्य जटिलता आउन सक्छ ।

यसबाहेक यौनसम्पर्कपछि योनीस्राव भइरहेमा पनि अस्पताल जानुपर्छ । किनकि यो अवस्था गम्भीर हुनसक्छ ।

योनी पोल्ने र सुन्निनु

यौनसम्पर्कपछि योनीको भाग पोलेको वा सुन्निएको महसुस भएमा यसलाई बेवास्ता गर्नु हुँदैन । यो योनीमा संक्रमण भएको संकेत हुनसक्छ । गर्भावस्थामा महिलाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसकारण संक्रमणको जोखिम बढ्छ । यदि समस्या छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ ।

अत्यधिक टाउको दुखाइ

गर्भावस्थामा यौनसम्पर्क गर्दा वा गरिसकेपछि टाउको दुख्ने समस्या भएमा यसलाई बेवास्ता गर्नु हुँदैन । यो उच्च रक्तचाप वा अन्य गर्भावस्था सम्बन्धी समस्याको संकेत हुनसक्छ । लगातार टाउको दुख्ने समस्या भएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

थकान

यदि अचानक थकित महसुस भइरहेको वा यौन सम्बन्धपछि सास फेर्न गाह्रो हुनु पनि राम्रो संकेत मानिंदैन । यस्तो अवस्थामा यौन सम्पर्कबाट टाढा रहनु राम्रो हुन्छ । त्यस्तै, यदि पहिला गर्भपतन भएको छ वा गर्भको बच्चामा कुनै जोखिम देखिएमा यौन सम्पर्क राख्नु उचित हुँदैन ।

गर्भावस्थाको समयमा यौन सम्बन्ध राख्नै नहुने होइन । तर राखेपछि के-कस्ता संकेत देखिन्छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । ताकि, महिला र बच्चाको सुरक्षा सुनिश्चित गर्न सकियोस् ।

त्यस्तै, अल्ट्रा साउण्ड गर्दा साल पाठेघरको मुखसम्म आएको देखिएमा पनि शारीरिक सम्पर्क राख्न हुँदैन ।

गर्भावस्था डा. उपमा बस्नेत यौन सम्बन्ध

धेरै कमेन्ट गरिएका

डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय