+

एनपीएलमा आज जनकपुर र सुदूरको ‘हाई भोल्टेज’ खेल, शेख दाजुभाईको भिडन्त

२०८१ मंसिर  २६ गते ६:०१ २०८१ मंसिर २६ गते ६:०१
एनपीएलमा आज जनकपुर र सुदूरको ‘हाई भोल्टेज’ खेल, शेख दाजुभाईको भिडन्त

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

अहिलेसम्म खेलेका चारवटै खेल जितेर एक्लो अपराजित टोली जनकपुर त्यो लय कायम राख्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ । यस्तै लगातार तीन खेल जितेर पछिल्लो खेलमा चितवन राइनोजसँग स्तब्ध बनेको सुदूरपश्चिम पनि फेरि जित हात पार्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

दुई शीर्ष टिमबीचको यस खेल हेर्न धेरै समर्थकले प्रतिक्षा गरिरहेका छन् । एकातिर अनिल शाहको कप्तानीमा रहेको अपराजित टिम । अर्कोतिर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूर टिम । सुदूर टिम समर्थकका हिसाबले पनि धेरै फ्यान बेस भएको टिम हो । सिंगो सुदूरपश्चिम प्रदेश नै यस टिमको समर्थनमा छ । टीयू मैदानमा पनि खेल हेर्न सुदूरकै समर्थक धेर भेटिन्छन् ।

जनकपुरले अहिलेसम्म विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई पराजित गरिसकेको छ । सुदूरपश्चिमले सुरुवाती तीन खेलमा विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो भने त्यसपछि चितवन राइनोजसँग पराजित भएको थियो ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टप अर्डर देखि बलिङमा राम्रो प्रदर्शन गरिरहेको छ । अनिल र मार्की आसिफ शेखसहित लाहिरु मिलान्थाले टप अर्डर सम्हालेनछन् । यी तीन खेलाडीमा जनकपुरको ब्याटिङ धेरै निर्भर रहन्छ । त्यसपछि न्युजिल्याण्डका अलराउण्ड र क्यानडाका अलराउण्ड हर्श थाकर मिडल अर्डरमा हुनेछन् । त्यसमा नेपालका युवा ब्याटर शुभ कंसारले पनि पछिल्लो खेलमा राम्रो खेलेका थिए । जनकपुरसँग विक्लपमा यू१९ टिमका ओपनर आकाश त्रिपाटि पनि छन् । यसैगरी अर्का विदेशी अलराउण्ड मोहम्मद मोहसिनले बलिङ राम्रो गरिरहेका छन् ।

बलिङमा नेपालका ललित राजवंशी र किशोर महतो मुख्य खेलाडीका रुपमा छन् । यू१९ टिमका कप्तान हेमन्त धामी पनि पेस बलिङमा हुनेछन् । अर्को एक स्थानमा शेर मल्ल वा तुल बहादुर थापा खेल्न सक्छन् । वा अन्य विकल्प पनि प्रयोग गर्न सकिनेछ ।

उता सुदूरपश्चिमा पछिल्ला खेलहरुमा विनोद भण्डारी र सैफ जैब ओपनिङमा सेट छन् । वान डाउनमा ब्राण्डन म्याकमुलेनले खेल्नेछन् । त्यसपछि भने आवश्यकता अनुसार दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डेले ब्याटिङ गर्नेछन् । विकल्पमा सुदूरसँग अमित श्रेष्ठ, युवा ओपनर अर्जुन कुमाल पनि छन् ।

नरेश बुढाएर ब्याटरको भूमिका खेलेपनि खासै ब्याटिङ गर्नुपरेको छैन । तर उनी फिल्डिङमा भने राम्रो गरिरहेका छन् । जैब, म्याकमुलेन र दीपेन्द्रले आवश्यकता अनुसार ४ ओभर बलिङ पनि गर्न सक्ने हुँदा सुदूरलाई बलिङमा फाइदा छ । स्कट कुगेलेइन, नरेन साउद र अविनाश बोहरा मुख्य बलरका रुपमा छन् । यस बाहेक चौथो विदेशी खेलाडीको कोटामा सुदूरले दिलप्रित बाजवा वा हर्मित सिंह मध्ये एकलाई खेलाउन सक्छ ।

यसअघि युएईका रोहन मुस्ताफा एक खेल मात्र खेलेर फर्किएपछि उनको स्थानमा आएका क्यानडाका दिलप्रितले पछिल्लो खेलमा चितवनविरुद्ध खेलेका थिए । अमरेिकन हर्मित पनि काठमाडौँ आइसकेकोले पनि जनकपुर विरुद्ध खेल्न पनि सक्छन् ।

शेख दाजुभाई भिडन्त!

यस खेल शीर्षमा रहने होडमात्र नभई दुई शेख दाजुभाई आरिफ र आसिफको भिडन्तको रुपमा समेत रहेको छ । विकेटकिपर ब्याटर आसिफ शेख जनकपुरका मार्की खेलाडी समेत हुन् । तर जनकपुरको मार्कीलाई कप्तान नबनाई अनिलाई कप्तान बनायो । आरिफलाई सुदूरले अक्सनबाट अनुबन्ध गरेको थियो । घरमा दाजुभाई भएपनि मैदानमा फरक टिमबाट खेल्दा उनीहरु राइभलरी हुने गर्छन् । राष्ट्रिय टिममा पनि दुवैले एक साथ खेलेका छन् भने यसअघि प्रेन्चाइज क्रिकेटमै पनि उनीहरुले सँगै खेलेका छन् । तर एनपीएलमा भने आरिफ र आसिफ एक आपसमा प्रतिस्पर्धा गर्न मैदान उत्रँदैछन् ।

भारतमा पनि क्रुनल पाण्ड्या र हार्दिक पाण्डया दाजुभाई फरक टिमबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलेका थिए । जहाँ दुवैले एक अर्कालाई बलिङ गरेका थिए ।

तर शेख दाजुभाई ब्याटर भएकोले मैदानमा एकआपसमै प्रतिस्पर्धा भने नहोला । आरिफ पार्ट टाइम मिडियम पेस बलिङ गर्ने भएपनि यस एनपीएलमा उनले बलिङ गर्नुपरेको छैन । तर मैदानमा भने दुई फरक टिमबाट खेल्दा आफ्नै टिमलाई जिताउन लागि पर्छन् ।

जनकपुर लगातार जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुँदा सुदूरपश्चिम त्यो लयलाई ब्रेक गर्न चाहन्छ ।

खेल : जनकपुर बोल्ट्स भर्सेस सुदूरपश्चिम रोएल्स

मिति र समय : २६ मंसिर, बिहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

जनकपुर बोल्ट्स सम्भावित ११ : अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, शुभ कंसाकार/आकाश त्रिपाटी, जिम्मी नीशम, मोहम्मद मोहसिन, शेर मल्ल, हेमन्त धामी, ललित राजवंशी, किशोर महतो

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मित सिंह, अविनाश बोहरा

एनपीएल जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय