
केही दिन अगाडि बर्दिबासबाट वीरगञ्ज जानको लागि बस स्ट्यान्डमा बसको प्रतीक्षा गर्दै थिएँ। शुक्रवारको दिन भएकाले यो दिन बसमा यात्रुहरूको चाप अन्य दिनको तुलनामा बढी हुने गर्छ। लगभग ४५ मिनेटको पर्खाइपछि वीरगञ्ज जाने एउटा बस आयो।
‘ए, वीरगञ्ज… वीरगञ्ज…’ खलासी भाइ कराउँदै थिए ।
बसका चालकले गाडी काउन्टरको छेउमा रोके। टाढाबाट हेर्दा बसभित्र निकै खचाखच देखिन्थ्यो। केहीबेर काउन्टर अगाडि रोकेपछि बर्दिबासमा केही यात्रुहरू ओर्ले, जसले गर्दा सिटहरू अलिकति खाली भए। म ढोकाको छेउमा रहेको सिटमा बसें। लगभग १५ मिनेटको पर्खाइपछि बसभित्रका सिटहरू र खडा हुने ठाउँ पनि यात्रुहरूले भरिएपछि बस गुड्न थाल्यो। गौशालाको नजिक पुगेपछि थप केही यात्रु चढे। तीमध्ये एक महिला आफ्नो करिब ४–५ वर्षको छोरा लिएर बसमा चढिन्। बसभित्र ठाउँ नभए पनि खलासी भाइले ती महिलालाई अगाडिको क्याबिनमा बस्ने व्यवस्था मिलाइदिए।
उक्त क्याबिनमा अरू पनि केही अल्लारे उमेरका युवाहरू बसेर यात्रा गरिरहेका थिए। बस गुडेको केही समय मात्र भएको थियो, ती युवाहरूको व्यवहार र बोली अलि फरक किसिमको हुन थाल्यो। उनीहरूको बोलीमा छाडापन थियो, र कुनै महिलालाई जिस्क्याउने खालको कुरा गरिरहेका थिए। शब्दहरू पूरै अश्लील नभए पनि अश्लील जस्तै थिए। युवाहरूको त्यो कुराले ती महिलालाई निकै असहज बनायो। उनले अप्ठ्यारो महसुस गरिरहेकी थिइन्। बसमा उभिएर जाने अवस्था थिएन, न त कुनै सिट खाली नै थियो। जसोतसो गरेर, उनी त्यहीं बसिरहेकी थिइन्। उनलाई जवाफ फर्काउन सक्ने जस्तो देखिन्थ्यो, तर उनी किन हो, मौन थिइन्। उनका मनमा के चलिरहेको थियो, अनुमान लगाउन गाह्रो थियो।
युवाहरूको यस्तो व्यवहार क्रमशः झन् बढ्दै गइरहेको थियो। म भने ती महिलाले ती युवाहरूलाई केही भन्लिन् कि जस्तो लागिरहेको थियो, तर त्यसो केही भएन। एकछिन पछि ती महिलाको छोराले ‘आमा, दूध खान्छु’ भनेर आग्रह गर्दा ती युवाहरूले निकै असभ्य र अश्लील शब्द प्रयोग गरे। त्यो सुनेर म सहन गर्न सकिनँ।
मैले तुरुन्तै खलासी भाइलाई बस रोक्न आग्रह गरें। लालबन्दी नपुग्दै बीच बाटोमै बस रोकियो। त्यसपछि मैले ती युवाहरूमाथि कडा गाली गरें। केही समय भनाभन भएपछि, बाँकी यात्रुहरू, जो ती सबै घटनाहरू चुपचाप हेरेका थिए, मेरो र ती महिला यात्रुको पक्षमा बोल्न थाले।
यात्रुहरूको समर्थन देखेर वातावरण केही सहज भयो। मैले बस चालक र खलासी भाइलाई आग्रह गरें कि यस्ता घटना भोलिका दिनमा नदोहरियोस् भनेर ख्याल राख्नुपर्छ। त्यसमा ध्यान दिनु उनीहरूको साथै हामी सबैको पनि जिम्मेवारी हो भन्ने कुरामा सबैले जोड दिए।
खलासी भाइले पनि ती युवाहरूलाई गाली गरे र अन्ततः तिनलाई नजिकैको एउटा सानो बस टिकट काउन्टरमा ओरालिदिए। म आफ्नो सिट ती महिलालाई दिएर अगाडिको क्याबिनमा गएर बसें र यात्रा जारी राखें। चन्द्रनिगाहपुरमा पुगेपछि ती महिला बसबाट ओर्लिइन्। ओर्लिने बेला उनले म, बसका चालक दाइ र खलासी भाइलाई आभार प्रकट गरिन्। उनको अनुहारमा देखिएको राहतले मलाई पनि सन्तुष्टि मिल्यो। ती महिलाले सबैलाई धन्यवाद दिंदै बिदा भइन्, म भने आफ्नो यात्रामा अगाडि बढें।
यो एउटा सानो घटना मात्र थियो, तर यस्ता खालका घटनाहरू दिनहुँ नेपालको सार्वजनिक यातायातमा अधिकांश महिलाले भोग्नुपर्छ। आजको यो आधुनिक युगमा पनि महिलाहरू सुरक्षित महसुस गर्न सकेका छैनन्। यसको प्रमुख कारण भने हामी स्वयं हौं।
यस्ता घटनाहरू हुँदा कोही बोलिदिंदैनन्। त्यस्ता दुर्व्यवहार गर्नेहरूलाई कानुनले निष्पक्ष रूपमा सजाय दिन सकेको छैन। यसले गर्दा यस्ता अभद्र व्यवहारलाई प्रोत्साहन मिलेको छ, जसले महिलाहरूका लागि असुरक्षित वातावरण सिर्जना गरिरहेको छ। यही कारणले गर्दा आजको दिनसम्म पनि महिलाहरू हाम्रो समाजमा स्वतन्त्र रूपमा हिंडडुल गर्न डराउँछन्।
एउटी आमाले आफ्नी छोरीलाई एक्लै बाहिर पठाउन डराउँछिन्। एक जना श्रीमान्लाई आफ्नी श्रीमती कतै बाहिर गइन् भने केही होला भन्ने डर हुन्छ। एउटा भाइको मनमा उसकी बहिनीलाई कसैले केही नगरोस् भन्ने भय सधैं रहन्छ।
एकातर्फ हामी महिलाहरूलाई खुला अधिकार दिनुपर्छ भनेर प्रचार गर्छौं, तर अर्कोतर्फ ती महिलामाथि अन्याय बढिरहेको हुन्छ। उनीहरू न्यायको खोजीमा देश, समाज र आफन्तसँग संघर्ष गरिरहेका हुन्छन्। यस्ता अनगिन्ती घटना सबैलाई थाहा नभएको कुरा पनि होइन। यो सबैका लागि हामीले सोच्नुपर्ने बेला आएको छ। कानुनी कारबाही प्रभावकारी बनाउन, चेतना जगाउन र महिलाहरूलाई सुरक्षित वातावरण दिन हामी प्रत्येकले भूमिका खेल्नुपर्छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ।
यस्ता घटनाहरूलाई यदि केहीले रोक्न सकिन्छ भने त्यो मात्र “व्यवहार परिवर्तन” मार्फत सम्भव छ। अन्यथा, यसबारे कल्पना गर्नु पनि व्यर्थ हुनेछ। यदि सबै जना मिलेर आ–आफ्नो स्थानबाट आवाज उठाउन सके, सायद कल्पना नगरेको छोटो समयमा नै महिलाहरूलाई स्वतन्त्र रूपमा जिउन सक्ने वातावरण सिर्जना गर्न सकिन्छ।
छोरीहरूलाई बचाउन शिक्षा दिन आवश्यक छ। तर, त्योभन्दा पनि बढी छोराहरूलाई महिलासँग कसरी व्यवहार गर्नुपर्छ भन्ने ज्ञान दिन अझ महत्वपूर्ण देखिन्छ। समाजमा महिला माथि हुने हिंसालाई न्यूनीकरण गर्नका लागि विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष विभिन्न नारा सहित मनाइन्छ। यस अभियानको उद्देश्य महिला माथि हुने हिंसालाई कम गर्दै उनीहरूको प्रगति सुनिश्चित गर्नु हो, ताकि उनीहरूले समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकून्।
हामी सबैले यो अभियान र लक्षित वर्गलाई सम्मानजनक तरिकाले मनाउनुपर्छ। साथै, त्यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ हरेक महिला स्वतन्त्र रूपमा आफ्नो इच्छा अनुसार बाँच्न पाऊन्।
आउनुहोस्, हामी सबै एकजुट भएर महिला माथि हुने हिंसाको उन्मूलन गर्न आ–आफ्नो स्थानबाट पहल गरौं। महिलाहरू माथि हुने कुनै प्रकारको हिंसा फेरि नहोस् र त्यसका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई १६ दिनमै सीमित नगरी यसलाई सधैं मनाऔं!
सबै महिलाहरूलाई स्वतन्त्र रुपमा बाँच्न पाउने वातावरणको निर्माण गरौं !
प्रतिक्रिया 4