+

कमजोर ब्याटिङले जनकपुरको अपराजित यात्रामा ब्रेक

२०८१ मंसिर  २६ गते १२:५८ २०८१ मंसिर २६ गते १२:५८

पहिलो इनिङ्समा सुदूरपश्चिमले ब्याटिङमा राम्रो सुरुवात गरेको थियो । तर मिडल ओभरमा लगातार विकेट गुमाउँदा ठूलो स्कोरसम्म पुग्न सकेन ।

कमजोर ब्याटिङले जनकपुरको अपराजित यात्रामा ब्रेक

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको जनकपुर बोल्ट्सको अपराजित यात्रामा सुदूरपश्चिम रोएल्सले बुधबार ब्रेक लगाएको छ ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमै अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम स्कोर हो ।

किशोर महतोको ४ विकेट मद्तमा विपक्षीलाई १२३ रनमै रोकेको जनकपुरले दोस्रो इनिङ्समा ब्याटिङ गर्दा निकै कमजोर प्रदर्शन गर्दा १२.१ ओभर मात्र क्रिजमा टिक्न सक्यो ।

जनकपुरका कप्तान अनिल शाहले पहिलो हारपछि प्लेअफ अघि नै यस्तो प्रदर्शन हुँदा टिम परीक्षण भएको बताए । ‘प्लेअफ अघि नै यस्तो हुँदा खासै ठिकै भयो’, उनले भने ।

जनकपुरको पहिलो हारपछि अंकतालिका रोचक बनेको छ । सुदूरपश्चिम र जनपुरको ५ खेलबाट ४ जित र १ हारसहित समान ८ अंक छ । राम्रो नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लँदा जनकपुर दोस्रो स्थानमा झरेको छ ।

यसपछि रहेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ । चितवन र कर्णालीले ५ खेल खेल्दा ३ मा जित  र २ हारको नतिजा निकालेको छ ।

अनिलले विकेट राम्रो भएर भन्दा पनि खराब सट खेलेर आउट भएको प्रतिक्रिया दिए । ‘हामी विकेट धेरै राम्रो भएर भन्दा पनि खराब शटहरू धेरै खेलेर आउट भएका छौं । सट सेलेक्सनमा हामी चुक्यौं,’ अनिलले पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने, ‘ब्याटरहरू धेरै खेलाएका थियौं अनि टप अर्डर पछिल्लो दुई खेलमा एक्सपोज भएको छ ।’

जनकपुरले अब लिग चरणमा काठमान्डु गुर्खाज र चितवन राइनोजसँग खेल्न बाँकी छ ।

सुदूरको स्पीनसामु जनकपुर निरिह

लो स्कोर भएको खेलमा सुदूरपश्चिमले पहिलो ओभरदेखि नै स्पीनरबाट आक्रमण गरेको थियो ।

दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको जनकपुर बोल्ट्सले हरेक ओभरजसो विकेट गुमाएको थियो ।

दोस्रो ओभरमै कप्तान अनिल साह खाता नखोली आउट भए । उनलाई सैफ जैबले आउट गरे । तेस्रो ओभरमा आसिफ शेख र हर्श थाकर आउट भए । सुदूरका कप्तान दीपेन्द्र आफैं बलिङमा आएर बसिफलाई आउट गरे भने थाकर रनआउट भए ।

चौथो ओभरमा लाहिरु मिलान्था र शुभ कंसाकार आउट भए । दुवैलाई इशान पाण्डेले आउट गरे । पाँचौ र छैटौं ओभरमा जनकपुरले कुनै विकेट गुमाएन । जिमी नीशम क्रिजमा हुँदासम्म जनकपुरको आशा कायम थियो ।

तर सुदूरपश्चिमका कप्तान दीपेन्द्रले सातौ‌ं ओभरमा जिमी नीशमलाई बोल्ड गरेपछि जनकपुरको इनिङ्स धरासयी नै बन्यो । दीपेन्द्रले नीशमको विकेटपछि आफ्नो ट्रेडमार्क समरसल्ट सेलेब्रेसन गरेका थिए । उनले विशेष विकेटमा मात्र यस्तो सेलेब्रेसन गर्दै आएका छन् ।

आठौँ ओभरमा अरिनको यादव, नवौँ ओभरमा शेर मल्ल, दशौँ ओभरमा जोसुअ ट्रोम्प र १३औं ओभरमा ललित राजवंशी आउट भए ।

जनकपुरका जोसुअ ट्रोम्पले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरलाई एनपीएलकै लोएस्ट स्कोरमा रोक्न सुदूरपश्चिमका स्पीनरले नै ९ विकेट लिए । जसमा कप्तान दीपेन्द्रसहित हर्मित सिंह र इशान पाण्डेले २-२ विकेट लिए । यस्तै सैफ जैब, नरेन साउदले समान १ विकेट लिए । १३औं ओभरमा बलिङ गरेका पेस बलर स्कट कुगेलेइनले आफ्नो पहिलो बलमै विकेट लिएर खेल सकाए ।

सुदूरको जितमा प्लेअर अफ दि म्याच बनेका इशान पाण्डेले कुनै दबाब बिना खेलेको र १२० रन बनाएर डिफेण्ड गर्न सकिन्छ भन्ने सोच रहेको बताए । ‘हामीले कुनै पनि प्रेसर नलिइकन खेलेका थियौं । विहान ब्याटिङ गर्न गाह्रो नै थियो । ११५ देखि १२० रन जति बन्यो भने डिफेन्ड गर्न सकिन्छ भन्ने थियो,’ इशानले खेलपछि भने, ‘त्यही अनुसार बलिङ गर्‍यौं अनि जित सम्भव भयो ।’

सुदूरको सुरुवात, किशोरको ४ विकेट

पहिलो इनिङ्समा सुदूरपश्चिमले ब्याटिङमा राम्रो सुरुवात गरेको थियो । तर मिडल ओभरमा लगातार विकेट गुमाउँदा ठूलो स्कोरसम्म पुग्न सकेन ।

उता जनकपुरको लागि मिडियम पेसर किशोर महतोले सर्वाधिक ४ विकेट लिए । यसअघि जनकपुरका स्पीन बलिङले लगातार विकेट लिइरहेको थियो । तर आज सुदूरपश्चिमविरुद्ध भने पेस र स्पीन दुवैले विकेट झारे ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नयाँ बलमा विकेट लिन नसकेपनि किशवर डेथ ओभरमा ४ विकेट लिए । सुरुवाती दुई ओभरमा २० रन खर्चँदा उनी विकेटले सथिए । तर उनले १८औं ओभरमा आरिफ शेख, इशान पाण्डे र स्कट कुगेलेइनलाई आउट गरे । यस्तै २०औ ओभरमा नरेन साउदलाई आउट गरे ।

किशोर बाहेक जनकपुरका स्पीनरद्वय शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए । शेरले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चिए ।

त्यसअघि सुदूरले राम्रो सुरुवात गर्दै पावर प्लेमा कुनै विकेट गुमाएको थिएन । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । पहिलो विकेट गुमाएपछि सुदूरपश्चिमको इनिङ्स धर्मराएको थियो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय