+
+

सिन्धुपाल्चोकमा माओवादी सांसदलाई कांग्रेस सांसदको धम्की

माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतले चर्को धम्की दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते २१:४२

२६ मंसिर, काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई लक्षित गर्दै धम्की दिएका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित सार्वजनिक सभामा २२ मंसिर, शनिबार बोल्दै सिन्धुपाल्चोक–२ का सांसद बस्नेतले क्षेत्र नम्बर १ का सांसद सापकोटालाई चुनौती दिँदै अपशब्द र धम्की प्रयोग गरेका हुन् ।

सापकोटाले जितेको क्षेत्रमा पर्ने त्रिपुरासुन्दरीमा अर्को क्षेत्रका सांसद बस्नेतले बोलेको भाषणको भिडियो यति बेला सामाजिक सन्जालमा व्याप्त भइरहेको छ ।

‘केन्द्रमा जसको सरकार होस्, सिन्धुपाल्चोकमा मोहन बस्नेतको सरकार चल्छ, म पन्चायतदेखि सबैसँग लडेर आएको मान्छे हुँ, म विकास रोजगारी दिने मान्छे हुँ,’ उनले सभामा भनेका छन्, ‘आइन्दा कांग्रेससँग विकास चाहिए माग, बच्चाले खान पाएनन् भने माग, म दिन्छु । तर चुरीफुरी गरेर रुख ढाल्ने काम भयो भने सुबोध सापकोटा (माधव), अग्नि सापकोटा लगायत लिखुरेहरूलाई लाई गर्धन मुनि, रुख माथि पारिदिन्छु ।’

उनले अरु अतिरन्जित गर्दै भने, ‘करङ चिलाएकाले, डँडेलो सक्सक्याएकाले यस्तो काम (अवरोध) गर्छन् । सुबोध (माधव) ले यहाँबाट जितेको छ, यो बाटो पिच गराइदे भन्नु, नत्र के छ आम्दानीको स्रोत ? यति ठूला कुरा गर्ने ? तीन बिसौलीका (अपशब्द) उफ्रिँदा उफ्रिँदा यी २५ इन्चका तिघ्रा के गरेर बस्छन् ? गफ दिने ?’

त्यसपछि पनि उनले थुप्रैपटक अपशब्द बोलेको सुनिन्छ ।

माओवादी सांसद सापकोटाले बस्नेतको अभिव्यक्तिप्रति दुःख प्रकट गरे । आफूलक्षित व्यक्तिगत गाली पहिले पनि हुने गरेको भन्दै सापकोटाले भने, ‘नयाँ पुस्ता राजनीतिप्रति वितृष्णा जनाइरहेका बेला हामीले आशा जगाउनुपर्ने, तर उहाँ (बस्नेत) ले त निराश पो बनाउनुभयो । यो राम्रो भएन ।’

हामीले बस्नेतलाई फोन गर्दै किन अपशब्द र गालीगलौजमा उत्रेको भनी जान्न चाह्यौं । उनले आफ्ना भनाईहरूको प्रतिरक्षा गर्दै फेरि पनि त्यस्ता शब्दहरू भन्ने बताए ।

‘माथिबाट ढुंगा हान्दै कालो झन्डा देखाउने, डाका र चोर भन्ने गर्न थालेपछि हामी चाहिँ रुद्राक्षको माला जपेर बस्ने ? हामीले गरेको विकास निर्माणमा उद्घाटन क्रममा अवरोध गरेपछि मैले बोलेको हुँ, अझै पनि बोल्छु,’ बस्नेतले भने ।

विपक्षीको प्रतिवाद सभ्य र लोकतान्त्रिक तरिकाले पनि गर्न सकिन्थ्यो, किन नगर्नुभएको भन्ने प्रश्नमा उनले जिकिर गरे, ‘मैले सर्वसाधारणलाई भनेको होइन, विद्वानलाई पनि भनेको होइन । जस्तालाई तस्तै गरेको हो । माधव सापकोटाजीको चुरिफुरी अलिक धेरै भयो । हामीमाथि जुन आक्रमणको कोसिस भयो, त्यो उहाँकै निर्देशनमा भएको हो ।’

प्रतिस्पर्धात्मक भावना हुनु स्वभाविक भए पनि प्रतिनिधिसभामा चुनिएर आएको जनप्रतिनिधिले बोलेको भाषा र धम्की पाच्य नभएको भन्दै आम प्रतिक्रियाहरू व्याप्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?