
काठमाडौं । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा उनी अनुबन्धित भएकी छन् ।
उक्त रियालिटी शोबाट भारतस्थित नेपालीभाषी समुदाय र नेपाली युवापुस्तामाझ पनि दिकिलाको लोकप्रियता छ । गतसाता युट्युवमा रिलिज भएको एकदेव लिम्बुको गीत ‘झिम झिमाउने आँखा’मा पनि दिकिलाको अभिनय छ । यो गीत युट्युवुको ग्लोबल चार्टबस्टरमा स्ट्रिमिङ भएको थियो ।
निर्माता अधिकारीले ‘माइतीघर’मा शेर्पालाई साइन गराइएको जानकारी दिए । नेपाली फिल्ममा दिकिलाको डेब्युले उनका नेपाली फ्यान खुसी हुने पक्का छ । किनभने, उनलाई नेपालमा समेत पछ्याउनेको संख्या उच्च छ ।
यसअघि यो फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, उपानासिंह ठकुरी, बुद्धि तामाङ, प्रकाश सपुतले पनि साइन गरिसकेका छन् । मिलन तामाङले निर्देशन गर्ने फिल्मको निर्माण रोहित अधिकारीले गर्दैछन् ।
छायांकन फागुन वा चैतदेखि सुरु हुने तयारी छ । काठमाडौं, शैलुङ र काभ्रेमा छायांकन हुने फिल्मको यतिबेला धमाधम प्रि-प्रोडक्सन कार्य चलिरहेको छ । फिल्मलाई २०८२ सालको दशैंमा प्रदर्शन लक्ष्य राखिएको निर्माता अधिकारीले जानकारी दिए ।
रविन शेरचन र धीरज तामाङ निर्माता हुन् । इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माताको रुपमा छन् । अधिकारीले यसअघि गाजुल, छ माया छपक्कै र फर्की फर्की निर्माण गरिसकेका छन् । प्रचारप्रसारलाई भब्य तुल्याउने रोहितले बताए । सोही नामको अघिल्लो फिल्म ‘माइतीघर’को शीर्ष गीतलाई पनि यस फिल्ममा समावेश गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4