मुख, जिब्रो र ओठमा स-साना बिमिरा, फोकाफोकी आउने समस्याबाट धेरै जना पीडित भइरहेका हुन्छन् । सबै उमेर समूहलाई यसले सताउन सक्ने भए पनि रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा दीर्घकालीन समस्याका रुपमा रहन सक्छ । खटिराले खाना खान र बोल्न समेत समस्या हुन्छ ।
खासगरी शरीरमा पोषणको कमी, भिटामिन बी, सी, आइरन, प्रोटिन तथा रेसादार खानाको कमीले मुखमा घाउ हुन्छ । दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने बानीले पनि यस्तो समस्या आउन सक्छ । सरसफाइको कमी, पेटसम्बन्धी रोग कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच, पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ ।
त्यस्तै, खाद्य विषाक्तता, सुर्ती, पान मसला, धुम्रपान, मद्यपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसला वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।
मुखमा घाउ खटिरा आउने अन्य कारण
कसैको मुखभित्र चोटपटक लागेर घाउ आउँछन् । तातो केही खाने कुराले पोलेर पनि साना फोका जस्ता घाउ आउँछन् । अल्सरका कारण पनि मुखमा घाउ आउँछन् । साथै कुनै व्यक्तिमा क्यान्सर भएर पनि मुखको वरिपरि घाउहरू आउँछन् ।
समाधानको घरेलु उपाय
यस्तो घाउ शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा आउने गर्छ । त्यसैले भिटामिन बी कम्प्लेक्सयुक्त खाना प्रशस्त मात्रामा खाने गर्नुपर्छ । दैनिक रूपमा थोरै समय निकालेर मुखको सरसफाइमा पनि ध्यान दिनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ तर बढी चिसो वा तातो पिउनु हुँदैन ।
यो समस्या देखिए मनतातो नुनपानीले दिनमा दुई पटक कुल्ला गर्नुपर्छ । साथै हरियो सागपात तथा फलफूल मज्जाले चपाएर खानुपर्छ । बढी चिल्लो, पिरो खानेकुरा खानु हुँदैन । घाउ भएको बेला पानी तथा झोलिला खाने कुरा बढी मात्रामा खानुपर्छ ।
धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने र निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्नुपर्छ । यस्ता घरेलु उपायले निको नभएमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।
प्रतिक्रिया 4