
२९ मंसिर, पश्चिम रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले लगातार दोस्रो वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।
चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा लगातार लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ करोड २२ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा २ करोड ३२ लाख ७४६ रूपैयाँ संकलन भएको थियोे ।
यसैगरी आर्थिक वर्ष २०८०/८१ मा २ करोड ४२ लाख रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३ करोड ८ लाख रूपैयाँ संकलन भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यभन्दा कम राजश्व संकलन भएको थियो । सो वर्ष २ करोड १५ लाख रूपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा १ करोड ८० लाख रूपैयाँ मात्रै संकलन भएको थियोे ।
तर राजश्व चुहावटका क्षेत्र पहिचान र निगरानीमा जोड दिँदै राजश्व सुधार योजना निर्माण गरी कार्यान्वयन गर्दा सफलता हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
‘राजश्व संकलन गर्ने मातहतका निकाय, कर्मचारीहरूलाई लक्ष्य तोकेर जिम्मेवार बनाइयो, नियमित अनुगमन गरियो र एकमुष्ट प्रगतिको आधारमा जनप्रतिनिधि र कर्मचारीलाई नगरसभामा पुस्कारसहित सम्मानको वातावरणले पनि राजश्व संकलन लक्ष्यभन्दा बढी भयो,’ ढकालले भने ।
चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा ५१ लाख ५५ हजार ५८३ रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको थियो । २०७९÷८० विभाज्य कोषसहित नगरपालिकाले संकलन गरेको राजश्व २ करोड ८० लाख ३० हजार १३१ रूपैयाँ थियो ।
नगरपालिकाले प्रदेश सरकारको विभाज्य कोषमा ४८ लाख २९ हजार ३८५ रुपैयाँ राजश्व जम्मा गरेको थियो । यो कोषमा ४० लाख रुपैयाँ बुझाउने लक्ष्य थियो ।
नदीजन्य पदार्थ उत्खनन वाफत संकलन भएको राजश्वको ४० प्रतिशत रकम विभाज्य कोषमा जम्मा गर्नुपर्ने नियम छ ।
प्रतिक्रिया 4