+
+

नाजिर हुसेनको नाटक ‘हरि हजुरबा’को मञ्चन पुस ४ देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १२:००

काठमाडौं । नाजिर हुसेनले निर्देशन गर्ने नाटक ‘हरि हजुरबा’को मञ्चन मिति तय भएको छ । मण्डला थिएटरले पोस्टर सार्वजनिक गर्दै पुस ४ देखि २८ गतेसम्म नाटक मञ्चन हुने जनाएको छ ।

हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । यसमा हुसेन स्वयंसहित विजय बराल, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय हुनेछ ।

निर्मातामा दयाहाङ राई र बुद्धि तामाङ छन् । द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई नाटकले प्रस्तुत गर्नेछ । हुलाकी पात्र हरि र सशष्त्र द्वन्द्वमा बेपत्ता नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

कथा र लेखन कविताबाट नाटक प्रभावित छ । नाजिरको यो तेस्रो नाटक हुनेछ । यसअघि उनले ‘सनलेक’ र ‘कुरुप हाँस’ निर्देशन गरिसकेका छन् । नाजिरको पनि सात वर्षपछि नाटकमा पुनरागमन हुनेछ ।

‘हरि हजुरबा’ले दुई पुस्ताका पात्रको कथा भन्ने नाजिर बताउँछन् । हजुरबुबा कुरेर बसेकी छोरीको कथामा नाटक बन्न लागेको हो । ‘यसमा जीवन दर्शन पनि मिसिएको छ । पर्खाइ कति गाह्रो छ भन्ने कुरा यसले भन्छ’, नाजिरले भने, ‘यसले अलिकति द्वन्द्वको समयलाई पनि प्रतिनिधित्व गर्छ ।’

यो नाटक यस वर्ष मण्डलाले घोषणा गरेका १४ नाटकमध्येको एक हो । प्रवीण खतिवडाले निर्देशन गरेको ‘अन्धवेग’ पहिलो नाटक थियो । दोस्रोमा अनिल सुब्बाको ‘मेखीदण्ड’ थियो । तेस्रो नाटकको रुपमा केदार श्रेष्ठ निर्देशित ‘ढुकढुकी ७२ मेगाहर्ज’ हालै मंचन भएको थियो । यसपछि अनुप बराल, पशुपति राई, किरण चाम्लिङले निर्देशन गर्ने नाटक मञ्चनको तयारी छ ।

‘हरि हजुरबा’ विहीबारदेखि पुस २८ गते (आइतबार)सम्म सोमबार बाहेक प्रत्येक दिन मञ्चन हुने मण्डलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?