+
+

कागेश्वरीमा आत्मदाह गरेकी महिलाको सुसाइड नोट- श्रीमान् र छोराहरू खुसीसाथ बस्नू

१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते २०:१३

३० मंसिर, काठमाडौंं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।

घटनास्थल नजिकै सुसाइड नोट फेला परेको प्रहरी वृत्त नयाँ बानेश्वरका एक अधिकृतले बताए । ‘सुसाइड नोट भेटिएको छ । त्यसमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको छैन,’ एक अधिकृतले अनलाइनखबरसँग भने ।

शनिबार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषयबारे ती अनुसन्धान अधिकृतले भने ।

घटनास्थल नजिकै उनले कागजमा सुसाइड नोट लेखेर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्‌लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।

१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ । त्यसमा पनि उनले अरूलाई कुनै दोष लगाएकी छैनन् ।

मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिकारको सदस्यहरूले प्रहरीलाई बताएका छन् ।

श्रीमान्‌सँग कुराकानी भएको केही समयमै उनले आत्मदाहको प्रयास गरेकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?