+
+

सन्यासबाट पछि हटेपछि आमिर : अब फिल्म र परिवारबीच सन्तुलन मिलाउँछु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १४:४८

काठमाडौं । बलिउड सुपरस्टार आमिर खान ‘लगान’ र ‘थ्री इडियट्स’सहित भारतका केहि लोकप्रिय फिल्मका लागि परिचित छन् । स्टारको रुपमा उनको अपिलिङ यति भव्य छ कि बाटोमा हिँड्दा पनि फ्यानको भीड नपारिकन हिँड्न सक्दैनन् ।

उनीबारे कम चर्चा भएको कुरा के हो भने- प्रियजनसँग समय बिताउने भन्दै उनले कोभिड महामारीको समयमा गोप्यरुपमा फिल्म उद्योग छाडे ।

उनले बीबीसीन्यूजसँग भने, ‘मैले आफ्नो परिवारलाई फिल्म र अभिनयमा धेरै काम गरिसकेको बताएको छु । मैले निर्माण, निर्देशन र अभिनय गर्न चाहन्नथेँ । म केवल परिवारसँग मात्र बस्न चाहन्थेँ ।’

भारतजस्तो फिल्मलाई पछ्याउने समाजमा खानजस्ता ठूला स्टारले फिल्म उद्योग छाड्ने निर्णयले कस्तो स्तब्ध पार्ने सन्देश प्रवाह गर्ला भन्ने बारेमा तपाईं कल्पना मात्र गर्न सक्नुहुन्छ ।

उनको यो निर्णयलाई त्यतिबेला बेवास्ता गरियो किनभने महामारीको कारण न्यून संख्यामा मात्र फिल्म बनिरहेका थिए ।

‘यसबारे कसैलाई थाहा थिएन’ उनले भने । यद्यपि, प्रशंसकले राहतको सास फेर्न सक्छन् ।

खानले लामो समयसम्म फिल्म छाडेनन् । उनी काममा फर्किएका छन् र आफैले निर्माण गरेको फिल्म ‘लापता लेडिज’को प्रवर्धनमा ब्यस्त छन् । यो फिल्म अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भारतबाट सिफारिस भएको फिल्म हो ।

खान भन्छन् कि उनका छोराछोरीले नै उनलाई काममा फर्किन मनाएका थिए ।

‘हामी तपाईसँग २४ घण्टा बिताउन सक्दैनौं । त्यसैले वास्तविक बन्नुहोस् र जीवनमा फर्किनुहोस भनेर उनीहरुले भने । उनीहरूले हलुका रुपमा मलाई फिल्ममा फर्काइदिए’ उनले भने ।

५९ वर्षको उमेरमा खानले तीन दशकसम्म अभिनेता, निर्देशक र निर्माताको रूपमा काम गरेका छन् ।

उनी बलिउडका तीन ‘खान’मध्ये एकको रूपमा चिनिन्छन् – अन्य साथीमा मेगास्टारहरू शाहरुख र सलमान हुन् ।

सामाजिक मुद्दालाई सम्बोधन गर्नका लागि परिचित आमिरका फिल्म व्यापक रूपमा प्रशंसित छन् । बक्स अफिस कीर्तिमान पनि तोडेका छन् । उनी अस्करका लागि परिचित हुन् ।

बेलायती उपनिवेशको समयमा १९ औं शताब्दीमा क्रिकेट खेलबारे सेट गरिएको फिल्म ‘लगान’ सन् २००२ मा सर्वश्रेष्ठ विदेशी भाषाको फिल्मको लागि मनोनित भएको थियो ।

खान अहिले ‘लापता लेडीज’सहित इतिहास रच्ने प्रयासमा छन् । यदि यो सफल भयो भने, यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्ने पहिलो भारतीय फिल्म हुनेछ । मंगलबार अस्करले सर्टलिस्ट सार्वजनिक गर्दैछ ।

खानले अवार्डलाई कत्तिको गम्भीरताका साथ लिने भन्नेमा आफू निश्चित नभएको बताए । ‘सिनेमा वस्तुपरक’ पनि छ’ उनी भन्छन् । तर भारतका लागि जितले ठूलो अर्थ राख्छ भन्ने उनी स्वीकार्छन् ।

‘मलाई लाग्छ कि भारतीयहरू फिल्मलाई लिएर क्रेजी छन् । हामी भारतीय फिल्मको लागि एकेडेमी अवार्ड जित्नको लागि मरिहत्ते गरिरहेका छौं, जुन अहिलेसम्म भएको छैन । त्यसैले देश यो हेर्न आतुर छ । हामीले जित्यौं भने तिनीहरू पागल हुनेछन्’ उनले भने । ‘त्यसैले हाम्रो देशका जनता र हाम्रो देशको लागि, यदि हामीले पुरस्कार जित्यौं भने म साँच्चै खुसी हुनेछु’ उनी भन्छन् ।

ग्रामीण भारतमा सेट गरिएको फिल्म ‘लापता लेडीज’ले एक रेलमा दुई नवविवाहित जोडी साटिँदा उत्पन्न हुने परिस्थितीको कथा भन्छ । यो फिल्मले भारतीय ग्रामिण क्षेत्रमा महिलाको स्थिती र सोचको कथा समेत भन्छ ।

घरेलु हिंसाको संवेदनशील विषय र महिलामाथि हुने व्यवहारलाई समेत फिल्मले ब्यंग्य गर्छ ।

खानले यसको कथालाई ‘थोरै शेक्सपियर’ शैलीको रुपमा वर्णन गर्छन् जुन यसको हास्य र गलतरुपमा ब्याख्या गरिएको पहिचानको कुरामा केन्द्रित छ ।

तर, उनी थप्छन्, यसले ‘महिलाका मुद्दाहरू, उनीहरूको स्वतन्त्रता, उनीहरूले के गर्न चाहन्छन् भन्ने निर्णय गर्ने उनीहरूको अधिकारको बारेमा धेरै महत्वपूर्ण कुराहरू’ भनिरहेको छ ।

यी विषयले नै आफूलाई पहिलो पटक फिल्मतिर आकर्षित गरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘सृजनात्मक व्यक्तिको रूपमा तपाईले समाजमा हामीले सामना गर्ने निश्चित समस्याको बारेमा मानिसलाई सचेत गराउने अवसर पनि पाउनुहुन्छ’ उनी भन्छन् ।

बलिउडले हरेक वर्ष सयौं फिल्म उत्पादन गर्छ र विश्वव्यापी रूपमा भारतीय फिल्मका ठूला फलोअर छन् । तर भारतीय फिल्म निर्माताले पहिले विश्वव्यापी बजारका लागि चलचित्र बनाउन थाल्नुपर्छ, उनी भन्छन् ।

‘मैले वास्तवमा अन्तर्राष्ट्रिय दर्शकतिर कहिल्यै हेरेको छैन’ उनी भन्छन्, ‘हामीसँग हाम्रो आफ्नै यति ठूलोको संख्या दर्शक छ कि यो हाम्रो दिमागमा आउँदैन । यो तब मात्र हुनेछ जब भारतीय विश्व दर्शकका लागि फिल्म हेर्न थाल्छन् । मलाई लाग्दैन कि हामीसँग यसको लागि तत्काल ब्यान्डविथ छ’ उनले भने ।

अहिलेको लागि, खानले ‘लापता लेडीज’को साथमा धेरै फिल्मतर्फ ध्यान केन्द्रित गरिरहेछन्, जसमा उनको अर्को फिल्म ‘सितारे जमीन पर’ पनि समावेश छ, २०२५ मा रिलिज हुने भएको छ ।

उनी वर्षमा एउटा फिल्म आशामा छन् । परम्परागत भारतीय महाकाब्य ‘महाभारत’माथि पनि फिल्म बनाउने उनको सपना छ । सन्यासबाछ पुनः पछि हटेपछि उनी फरक तरिकाले काम गर्न कटिबद्ध छन् । फेरि यो पनि उनका छोराछोरीबाट प्रभावित छ ।

‘मेरो छोराले भन्यो- बुवा तिमी चरम स्वभावका मान्छे हौ’ उनले भने ।

‘उनले भने, बुवा तपाईं पेन्डुलम जस्तै हुनुहुन्छ । तपाईंले फिल्म, फिल्म, फिल्म मात्र गर्नुभयो र अब तपाईं अर्को साइडतर्फ तर्फ डुब्न चाहनुहुन्छ । कुनै फिल्म नगर्न र परिवार, परिवार, परिवार भनेर बस्न चाहनुहुन्छ । बीचको ठाउँ पनि छ । तपाईं सोच्न सक्नुहुन्छ ।’

खान भन्छन् कि उनका छोराले उनलाई आफ्नो जीवनमा ‘केही सन्तुलन ल्याउन प्रयास गर्नुहोस्’ भनेर सल्लाह दिए ।

‘त्यसपछि मलाई लाग्यो कि उनी सहि छन् । त्यसयता मैले सन्तुलन मिलाएर जीवन मिलाउने प्रयास गरिरहेको छु । वास्तवमा मैले सँधै गरेकोभन्दा धेरै काम गरिरहेको छु । अब बेलुका ६ बजेपछि काम गर्दिन ।’

खानले हालका वर्षमा मानसिक स्वास्थ्यमा काम गर्ने आफ्नी छोरी इराबाट प्रेरित भएर थेरापी पनि सुरु गरेको बताउँछन् ।

‘मलाई लाग्छ कि यसले मलाई वास्तवमै मद्दत गरेको छ । यसले मलाई आफूलाई अझ राम्रोसँग बुझ्न मद्दत गरेको छ ।’

‘म वास्तवमा काम र व्यक्तिगत जीवन बीचको सन्तुलन खोज्दैछु । त्यसैले मलाई लाग्छ कि म अहिले त्यो ठाउँमा पुगेको छु ।’

बीबीसी न्यूजबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?