+
+

कमेडी छाडेको चर्चाबीच जितु नेपाल : ‘मैले पहिला दर्शकलाई हँसाउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १६:४८
पत्रकार सम्मेलनमा जितु नेपाल र दीया मास्के

काठमाडौं । कलाकारहरु जितु नेपाल, दीया मास्के, जितु निङलेखु फिल्म ‘कार्साङ’को प्रवर्द्धनका लागि यतिबेला पूर्वी सहरमा छन् । यस सप्ताहन्त उनीहरुले विराटनगर, इटहरी र दमकमा पत्रकार सम्मेलन गरे ।

यसपछि निर्देशक याम शेर्पासहितको टोली पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पुग्नेछ । पूर्वका सहरबजारमा प्रवर्द्धन सकेपछि जितुसहितको टोली पश्चिम र मध्य नेपालमा प्रचारप्रसारमा जुट्नेछ ।

‘हामीले दर्शकसँग भेटेर फिल्मको प्रवर्द्धन गरिरहेका छौं’ जितुले अनलाइनखबरसँग भने ।

दशैंमा ‘ज्वाइँ साब’ रिलिज गरेयता जितुका लागि ‘कार्साङ’ अर्थपूर्ण छ । ‘ह्यारीकी प्यारी’पछि जितु एकपछि अर्को गरी सामाजिक कथावस्तुका फिल्ममा अभिनय गरिरहेका छन् । लगातार गम्भीर र भावुक अभिनयमा उनी देखिएका छन् ।

‘ज्वाइँ साब’को केन्द्रमा पनि कमेडीभन्दा धेरै संवेदना थियो । दर्शकले सम्भवतः पहिलोपटक जितुलाई ‘ज्वाइँ साब’मा रोएको देख्न पाए । ‘कार्साङ’ पनि शेर्पा समुदायको कथावस्तुमा बनेको फिल्म हो जहाँ जितुले शेर्पा समुदायभन्दा अलग्गै समुदायको माइला नामक चरित्रमा अभिनय गरेका छन् । दीया मास्के उनकी पत्नीको भूमिकामा छिन् ।

यसै सन्दर्भमा जितुलाई सोधियो- तपाईंले कमेडी विधा छाड्दै हुनुहुन्छ ?

जितुले यो प्रश्नलाई अस्वीकार गरे । उनले भने, ‘मेरो मुख्य विधा कमेडी हो । मैले हँसाउनुपर्छ । चाहे अहिले आएका सिनेमा हुन् या स्टेज कमेडी । म हास्य कलाकार नै हो । मैले ह्यारीकी प्यारी र ज्वाइँ साबमा भावुक र गम्भीर अभिनय पनि गरेको छु । मेरो लागि यो राम्रै हो तर कमेडी कहिल्यै छोड्दिनँ ।’

‘कार्साङ’मा पनि कमेडी तत्व धेरै रहेको उनले बताए । ‘यसमा सिरियस पनि छ तर धेरैजसो कमेडी छ’ उनले भने, ‘मैले सबैभन्दा पहिला त दर्शकलाई हँसाउनुपर्‍यो नि ।’ यस फिल्ममा पनि आफूले भिन्न भूमिका निर्वाह गरेको कुरा पोस्टले दर्शाइसकेको उनी बताउँछन् ।

जितुले आगामी फिल्मको रुपमा ‘कंगारू’ साइन गरिसकेका छन् । थप तीन फिल्मसँग कुरा भइरहेको उनले बताए । उनी चाँडै आफ्नै निर्माण, निर्देशन र अभिनय रहेको फिल्ममा पनि जुट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?