
पोखरा । उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’को शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औं शृङ्खलामा बुद्धको जीवनीमा आधारित उपन्यासबारे चर्चा गरेको हो ।
कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्को चर्चा गरे ।
‘बुद्धमाथि भविष्यमा पनि अनगिन्ती कथा लेखिनुपर्छ । के हामीले बुद्ध चिन्यौं ? यस किताबले यही प्रश्न गरिरहन्छ’ उनले भने, ‘बुद्धलाई भगवान् भन्न सजिलो भएको तर उनलाई हामीले साँच्चै अँगालेका छौं ? चिनेका छौं ? भन्ने टड्कारो प्रश्न सबैलाई किताबले छोडेको छ ।’
बुद्ध र बुद्धहरूको कथाका रूपमा कृति आएको भन्दै सापकोटाले प्रत्येक पृष्ठमा अनोमा नदी झैं प्रेमपूर्वक बुद्ध बगिरहेका धारणा राखे । ‘आख्यानकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ले बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत गरेको छ, जसले अढाई हजार वर्षअघिको समाज–समयसँग साक्षात्कार गराउँछ’ उनले भने ।
उपन्यासकार शैलेन्द्र अधिकारीले आफूले बुद्ध दर्शन अध्ययनका क्रममा गुरुग्रन्थहरूबाट प्राप्त ज्ञानलाई उपन्यासमा समेटेको बताए । पाठकले उठाएका प्रश्नको जवाफ दिंदै अधिकारीले आफूले दर्शनको वकालत नगरी बुद्धको वास्तविक जीवनी पाठकमैत्री आख्यानका रूपमा प्रस्तुत गरेको बताए ।
ऐतिहासिक विषयवस्तुका रूपमा बुद्धको जीवनका अनेकौं पाटोलाई उपन्यासमा प्रस्तुत गरेको उनले बताए । पाली भाषानिकट भएर लेखिएका सन्दर्भ र करिब २५ सय वर्षपहिलेको कथा उपन्यासमा भएकाले केही हदसम्म भाषा क्लिष्ट भएको हुनसक्ने उनको भनाइ थियो ।
साहित्यकार सरुभक्तले बुद्ध नेपालमा जन्मिएको भन्न पाउनु गौरवको कुरा भए पनि ‘बुद्ध वाज बर्न इन नेपाल’ मात्र भनेर नपुग्ने बताए । बुद्धत्व स्थापनाका लागि बुद्ध दर्शनसम्बन्धी गतिविधि र सम्पदा संरक्षणका लागि विशेष पहल गर्नुपर्ने उनले बताए । बुद्धसम्बन्धी कृतिमा फरक-फरक मत पाइने गरेको भन्दै उनले हामीले बुद्धलाई मानेका छौं कि छैनौं भन्ने प्रश्न समेत उठ्ने गरेको प्रसङ्ग सुनाए । बौद्ध दर्शनसम्बन्धी प्राविधिक शब्दहरूको ज्ञानसमेत दिने अर्हत् उपन्यास पठनीय रहेको उनले बताए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीका सदस्य बाबुराम सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया 4