
३० मंसिर, गोरखा । बारपाककी १८ वर्षीया सूचिना घलेको हत्या प्रकरणका दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै बारपाकका स्थानीयले प्रहरी प्रशासनलाई सम्मान गरेको छ । आइतबार बारपाक पुगेको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठक सहितको टोलीलाई फूलमाला लगाइदिएर स्थानीयले सम्मान गरेका हुन् ।
घटनाको सुक्ष्म अनुसन्धान गर्दै छोटो समयमै हत्यारा पत्ता लगाउन सफल भएकाले सम्मान गरिएको स्थानीय जितबहादुर घलेले बताए । ‘मंसिर १५ गते सूचिना घलेको हत्याको जुन दुःखद घटना घट्यो त्यसले हामी सम्पूर्ण बारपाकीलाई अत्यधिक पीडा भयो,’ घलेले भने, ‘प्रहरीको अनुसन्धानमा हामी बारपाकीले सक्दो सहयोग पनि गर्यौँ ।’
अन्ततः दोषी पत्ता लगाएर पक्राउ गरी पीडित परिवार र बारपाकीलाई न्याय दिन प्रहरी सफल भएकाले सम्मान गरिएको उनले जानकारी दिए । बारपाकका आमा तथा महिला समूह लगायतका स्थानीयले बारपाक प्रहरी चौकी पुगेर एसपी पाठकसहितको टिमलाई फूलमाला लगाइदिएका थिए ।
अनुसन्धानमा आवश्यक सहयोग र सहकार्य गरेको भन्दै एसपी पाठकले बारपाकीलाई धन्यवाद दिएका थिए ।
गत १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी सूचिना सम्पर्कविहीन भएकी थिइन् । खोजी गर्दै जाँदा उनको शव १८ मंसिरमा जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।
घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी कमाण्डको टोली बारपाक पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । हत्या गरेको आरोपमा प्रहरीले मंसिर २३ गते बारपाककै ४३ बर्षीय मन शम्जेर गुरुङलाई पक्राउ गर्यो । गुरुङले हत्या आफैले गरेको स्वीकार समेत गरिसकेका छन् ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4