३० मंसिर, काठमाडौं । काठमाडौं देशको राजधानी हो । सुदूरपश्चिम सबैभन्दा पश्चिमको क्षेत्र अर्थात प्रदेश । यी दुईको भौतिक दूरी धेरै लामो छ । सुदूरका धेरै अध्ययन, भविष्य र रोजगारीको सिलसिलामा राजधानी काठमाडौंमा आएका हुन्छन् ।
सुदूरका लागि काठमाडौंले धेरै सहयोग गरेको होला । तर मैदानको खेलमा एक पटक काठमाडौंको टिम काठमान्डु गुर्खाजको भाग्य भने त्यही सुदूरको टिम सुदूरपश्चिम रोएल्सको नतिजामा निर्भर हुने भएको छ ।
अहिले कीर्तिपुरमा चलिरहेको नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डुलाई त्यही सुदूरको साथ चाहिएको छ ।
एनपीएलको अन्तिम लिग खेलमा सोमबार टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमान्डुको त कुनै खेल छैन ।
तर मैदानबाहिर काठमाडन्डुको समर्थन त्यही सुदूरपश्चिमलाई नै हुनेछ । किनभने सुदूरपश्चिमले आफ्नै छिमेकी प्रदेश अनी काठमाडौंबाट टाढाको दूरीमा रहेको अर्को टिम कर्णाली याक्सलाई आवश्यक नतिजामा हराएमा काठमान्डुको भाग्य खुल्नेछ ।
आइतबार आफ्नो अन्तिम लिग खेलमा विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जितपछि काठमाडौंले शीर्ष चारमा रहेर प्लेअफ आशा कायम राखेको छ ।
त्यसैले अन्तिम दिन आफ्नो खेल नभएपनि सुदूरपश्चिमको नतिजामा काठमान्डुको नजिकको नजर हुनेछ । काठमान्डु पराजित भएको भए आइतबारै प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लाग्ने थियो ।
अहिलेसम्म सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ र शीर्ष दुईमा रहने सम्भावना पनि बलियो छ । त्यसो भएमा सुदूरले पहिलो क्वालिफायर्स खेल्नेछ र फाइनल यात्रा सहज बन्न सक्छ । यस्तै ७ खेल खेलिसकेको जनकपुर पनि १० अंक नै जोडेर दोस्रोमा छ । नेटरनरेटमा जनकपुर सुदूरभन्दा पछि छ ।
यस्तै ७ खेलबाट ८ अंक जोडेको चितवन राइनोज अहिले ८ अंक हुने मध्ये राम्रो नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ । ६ खेल खेलेको कर्णाली याक्स र ७ खेल खेलिसकेको काठमान्डु गुर्खाजको पनि समान ८ अंक नै छ । यसमा काठमान्डुको नेटरनरेट सबैभन्दा कमजोर रहेकोले अरुमा निर्भर पर्न परेको हो ।
काठमान्डुले आफ्नो जित्नैपर्ने अन्तिम लिग खेल जितेर आशा कायमै राख्दा कर्णाली याक्सका लागि भने अन्तिम खेलमा आफू अनुकल नतिजा ल्याएर शीर्ष दुईमा पुग्ने अवसर पनि छ । त्यसमा लागि कर्णालीले सुदूरपश्चिम रोएल्सलाई २० भन्दा बढी रन अन्तरले पराजित गर्नुपर्नेछ । यस्तोमा कर्णाली जनकपुरलाई पछि पार्दै दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्न पाउनेछ ।
दिपेशको फिनिसिङ
काठमान्डुले अन्तिम खेलमा १ विकेटको रोमाञ्जक जित दर्ता गर्यो । कुनै समय सहज जितको अवस्थामा रहेको काठमाडौं ९ विकेट गुमाउँदा हारको नजिक समेत पुगेको थियो । तर १९औं ओभरको पहिलो बलमा दिपेश कँडेलले चौका प्रहार गर्दै काठमान्डुको जित निश्चित गरेका थिए ।
१७औं ओभरको तेस्रो बलमा शाहब आलम आउट भएपछि अन्तिम ब्याटरको रुपमा दिपेश क्रिजमा पुगेका थिए । त्यसबेला काठमान्डुलाई जितका लागि २१ बलमा १६ रन आवश्यक थियो । हातमा १ विकेट मात्र बाँकी हुँदा काठमान्डुलाई टेन्सन थियो । तर दिपेशले शंकर रानासँग मिलेर इनिङ्स जोगाए । त्यस ओभरमा लगातार दुई बल डट खेलेपछि दिपेशले अन्तिम बलमा बसिर अहमदलाई छक्का हान्नै समिकरण सहज बनाए ।
१७ ओभर सकिँदा १०८ रन बनाएको काठमान्डुलाई खेल जित्न १८ बलमा १० रन चाहियो । १८औं ओभरमा शंकर रानाले एक चौका प्रहार गर्दा काठमान्डु ८ रन जोडेर जित नजिक पुग्यो ।
त्यस ओभरको अन्तिम बलमा शंकरले २ रन लिएपछि १९औं ओभरमा दिपेश स्ट्राइकलमा थिए । विराटनगरका लागि सुवास भण्डारी आफ्नो पहिलो ओभर बलिङ गर्न आए । पहिलो बलमै दिपेशले चौका प्रहार गर्दै काठमान्डुको जित निश्चित गर्दै प्लेअफको झिनो आशा पनि जगाए ।
टस जितेपछि काठमान्डुले विहानीको कन्डिसनमा विराटनगराई ब्याटिङको निम्तो दिएको थियो । त्यमसा बलरहरुले राम्रो प्रदर्शन गर्दा विराटनगरले एक बल अगाडि अलआउट हुँदै ११७ रन बनायो ।
विराटनगरका लागि राजेश पुलामीले बनाएको २५ रन नै व्यक्तिगत उच्च रह्यो । काठमान्डुका लागि स्पीनरले ६ विकेट लिए । जसमा जेरार्ड एरसामसले ३ तथा दिपेश कँडेलले २ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो । मिडियम पेसर करण केसी र रासिद खानले समान १ विकेट लिँदा दुई खेलाडी रनआउट भए ।
११८ रनको लक्ष्य पछ्याउँदा काठमान्डुले नेटरनरेटलाई ध्यानमा दिँदै चाँडै खेल सकाउने लक्ष्यका साथ आक्रमक सुरुवात गर्न खोजेको थियो । रन सुरुदेखि नै बनेपनि विकेट लगातार गुमाउदा बीचमा काठमान्डुको इनिङ्स कोल्याप्स भयो र खेल १९औं ओभरसम्म पुग्यो ।
‘१२ ओभरसम्म जित्नुपर्नु सोचेर ब्याटिङ गरेका थियौँ । त्यसो भएमा क्वलिफाई हुन राम्रो सम्भावना हुन्छ भन्ने थियो,’ खेलपछि काठमान्डुका कप्तान करण केसीले पत्रकारहरुसँग भने, ‘६ ओभर राम्रो भाथ्यो तर पछि कोल्याप्स भयो । अन्तिममा जित्यो राम्रो भयो ।’
करणले बलिङमा राम्रो गरेपनि ब्याटिङमा संघर्ष गर्नुपरेको बताए । ‘सुरुमा बलिङमा राम्रो भयो । बलिङ युनिटले राम्रो गर्यो । तर ब्याटिङमा राम्रो भएन ।’
प्रतिक्रिया 4