१ पुस, काठमाडौं । यूएईको दुबइस्थित अलएनमा सुरु भएको २ हजार रेटिङ्गमुनि एसियन एमेच्योर महिला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशीले सानदार प्रदर्शन गरेकी छिन् ।
नेपालकी ओलम्पियाड खेलाडी १६५६ रेटेड सिन्दिराले पहिलो दिन पाँच चरणको खेल सम्पन्न हुँदा अपराजित रहँदै ४ अंक जोडेर संयुक्त दोस्रो स्थान सुरक्षित गरेकी छन् ।
नेपालमा हुने खेलहरुमा पुरुष खेलाडीसँग प्रतिस्पर्धा गरेको अनुभवलाई सदुपयोग गर्दै सिन्दिराले आफूभन्दा उच्च वरीयतामा रहेकी न्यूजिल्याण्डकी १९४४ रेटेड चारोमोभा इभ्ग्वेनियामाथि जित दर्ता गरेकी छन् ।
यस्तै अनरेटेड भारतकी संगीता आशुदानी, १४८७ रेटेड फिलिपिन्सकी ओलाङ्दाग मेघन गाब्रिएल्लेलाई पराजित गरेकी छिन् भने १४२९ रेटेड यूएईकी रोदाह घलिभ अलाफीफि र भारतकी १६०६ रेटेड एसिएम मार्कसिम कार्कीसँग बराबरी खेलेकी छन्।
१५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ड प्रति चालको र्यापिड विधामा सोमबार अन्तिम दुई चरणको खेल पश्चात विजेता घोषणा हुनेछ। उनले सोमबार खेल कालो गोटी लिएर ताजकिस्तानका १८९१ रेटेड डब्लू एफएम एण्टोनोभा नाडेज्डा सँग प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी नेपालीका महिला एमेच्योर च्याम्पियन पूजा भण्डारीले ३ अंक जोडेर संयुक्त चौथो स्थानमा उभिन सफल भएकी छन् । पूजाले ३ खेलमा जितेकी छन् भने २ खेलमा पराजित भइन् ।
नेपालीका २ महिला खेलाडी सहभागी रहेको स्पर्धामा १६७१ रेटेड पूजाले ब्रुनाइकी १४८५ रेटेड अल आरायध दानीयाह, यूएईकी १४३७ रेटेड अल रीम अल हमादी र भारतकी १५१८ रेटेड पूजारानी विरुद्ध जीत हात पारेकी छिन् ।
पूजाले यूएईका दुई खेलाडीसँग भने पराजित भइन् । उनले सोमबार काजकिस्तानका १५८८ रेटेड झुमाबेक नुरसाया सँग प्रतिस्पर्धा गर्ने छिन्।
प्रतियोगितामा १६ राष्ट्रका ३६ खेलाडीको सहभागिता जनाएको खेलमा पाँच जित प्राप्त गरेकी १७२५ रेटेड यूएईका एनोड एइसा मोहम्मदले एकल अग्रता हासिल गरेका छन्। सोमबार र्यापिड विधाको अन्तिम दुई खेल हुनेछ। त्यसपछि ब्लिट्ज विधाको खेल हुनेछ।
नेपाली महिला खेलाडीले प्रतियोगितामा क्लासिकल , र्यापिड र ब्लिट्ज गरि तिन विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका पाँचजना शीर्ष खेलाडीले क्रमशः १५००, १२००, एक हजार, ८०० र ५०० यूएस डलर पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4