+
+

भारतबाट साढे ६ सय मेगावट विद्युत् खरिद गर्दैछौं : ऊर्जामन्त्री खड्का

सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको जानकारी गराउँदै ऊर्जामन्त्री दीपक खड्काले भारतसँग थप छलफलको तयारी भइरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १९:०५

१ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत् आयात गर्न लागिएको जानकारी गराएका छन् । नेपालभित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउन भारतसँग साढे ६ सय मेगावट विद्युत् खरिद गर्न लागिएको बताएका हुन् ।

‘सुख्यायाममा साढे ६ सय मेगावट विद्युत् खरिद गर्ने निर्णय भएको छ । पुसदेखि लागू गर्दैछौं,’ उनले भने ।

गत वर्षको बाढीले जलविद्युत् आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको उनले बताए । सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तिव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको पनि बताए ।

‘गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरूको निर्माणमा तिव्रता दिएका छौं । विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ,’ मन्त्री खड्काले भने, ‘गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्नेछ ।’

सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको जानकारी गराउँदै ऊर्जामन्त्री खड्काले भारतसँग थप छलफलको तयारी भइरहेको बताए ।

‘सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौं । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ । भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ । उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुई घण्टामा छोट्याउन सक्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?