+
+

ओलीको प्रस्ट सन्देशः म भइञ्जेल अध्यक्षको विकल्प नखोज्नू

‘आफू रहँदासम्म पार्टीको नेतृत्वमा कसैले चाहना राख्नुहुन्न, कसैलाई दिनुपरे म आफैं दिन्छु भन्ने उहाँको कुरा हो’, ती नेता भन्छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८१ पुष १ गते २१:३८

१ पुस, काठमाडौं । पार्टी संगठन निर्माणसँग सम्बन्धित ६ बुँदे संकल्प गरेर नेकपा एमाले प्रदेश र जिल्ला कमिटी मूल नेतृत्वमा रहेका नेताहरू कार्यक्षेत्र फर्किएका छन् ।

केन्द्रीय संगठन विभागले प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलाई केन्द्रीय मुख्यालय च्यासल बोलाएर दुई दिने कार्यशाला गरेको थियो । यो कार्यशालामा २३ वटै जनसंगठनका अध्यक्ष, महासचिव र संगठन विभाग प्रमुखलाई पनि बोलाइएको थियो ।

‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने नीति अन्तर्गत नै यो कार्यशाला गरिएको हो’ संगठन विभागका सदस्य समेत रहेका नेता विशाल भट्टराई भन्छन्, ‘स्थानीय पार्टी निर्माणको समस्यामा केन्द्रित रहेर गरिएको कार्यशाला उपलब्धिमूलक बन्यो ।’

संगठन विभाग प्रमुख काशीनाथ अधिकारी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आधारभूत तहका कार्यकर्तासँग जोडिने नेताहरूलाई प्रशिक्षण दिइएको बताउँछन् । उनी पनि यो कार्यशालाबाट एमालेभित्र देखिएको समस्या पहिचान र समाधानको योजना बनाउन सहयोग पुगेको बताउँछन् ।

एमालेको तागत भनेकै संगठनात्मक संरचना भएकाले यस्तो प्रकृतिको कार्यशालालाई उपलब्धि मान्नु स्वभाविकै हो । तर यही कार्यशालालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने भावी नेतृत्वबारे सन्देश दिने अवसरका रूपमा प्रयोग गरेका छन् ।

एमालेकै दाबी अनुसार पार्टीका साढे ५ लाख कार्यकर्तासँग प्रत्यक्ष जोडिने नेताहरूसँग ओलीले भावी नेतृत्वको विकल्प नखोज्न सांकेतिक चेतावनी दिएका छन् । ‘केपी कमरेडले आफू रहेसम्म नेतृत्वको विकल्प खोज्न आवश्यक छैन भन्ने सन्देश दिनेगरी बोल्नुभयो’, कार्यशालामा सहभागी एक नेता भन्छन् ।

उनका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको नामै लिएर लामै टिप्पणी गरेका थिए । ‘विष्णु पौडेलको कुनै गुट छैन, शंकर पोखरेलको नाममा गुट छैन । मलाई भन्दाखेरी गुट छैन भनेरै उहाँहरूले भन्नुभएको छ’ ओलीले भनेका थिए, ‘मेरो लागि विष्णु पौडेल र शंकर पोखरेल बराबरी हो ।’

ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी समेत गरे । ‘अहिले म एमालेको अध्यक्ष छु, मेरो छहारीमा चलेको पार्टीमा गुटबन्दी आवश्यक पनि छैन’, ओलीले भनेका थिए ।

अर्थात् प्रदेश, जिल्ला र जनसंगठनको नेतृत्व गरिरहेका नेताहरूसँग ओलीले गुटबन्दीमा नलाग्न सन्देश दिएका छन् । एमालेका अर्का एक नेताका बुझाइमा पनि अध्यक्ष ओलीले विष्णु र शंकरसँग गुट नरहेको भनेरै गुटबन्दी चलिरहेकै पुष्टि गरेका छन् ।

‘दोहोर्‍याई दोहोर्‍याई विष्णु र शंकर भनेर उहाँले गुटबन्दी चलिरहेको पुष्टि गर्नुभयो । किनकि गुटबन्दी नभएको भए छैन भनिरहनु पर्थेन । अझ विद्या भण्डारीबारे गर्नुभएको टिप्पणीले भावी नेतृत्वबारे उहाँ (ओली) को संकेत प्रस्ट हुन्थ्यो’, ती नेता भन्छन् ।

नेताहरूका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उत्प्रेरित नगर्न निर्देशन दिएका थिए । ‘के गर्ने, के नगर्ने भनेर आफै निर्णय लिन सक्ने नेता हो, उहाँ (पूर्वराष्ट्रपति भण्डारी) । कसैले गएर गल लगाउनु पर्दैन’ अध्यक्ष ओलीले भनेका थिए, ‘आउन (राजनीतिमा) मन भए हामीसँग कुरा गर्नुहोला । कसैले जाउजाउ भनिरहनु पर्दैन ।’

आफ्नो छहारीमा गुटबन्दी नभइरहेको ओलीको टिप्पणीलाई चासोका साथ हेरिनुमा एमालेभित्र नलुकेका संघर्षका घटनाक्रमले काम गरेको छ । किनकि एमालेको माथिदेखि तलसम्मका कमिटीहरूले गर्ने निर्णयमा गुटगत संघर्ष देखिन्छ ।

यसको पछिल्लो उदाहरण २९ मंसिरमा सम्पन्न बझाङको आठौं जिल्ला अधिवेशन हो । देशभरका अरू जिल्लामा २०७८ यता दुईपटक अधिवेशन भइसक्दा बझाङले एकपटक पनि अधिवेशन गर्न सकेको थिएन । कारण नेतृत्व हत्याउने नेताहरूको स्वार्थ थियो ।

‘पार्टीभित्र गुटहरू छन् । विष्णु पौडेल र शंकर पोखरेल समूह बलियो छ भन्ने अध्यक्षलाई थाहा छ’ एमाले पोलिटब्यूरोका एक सदस्य भन्छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीको भावी नेतृत्वको आकांक्षी हुनुहुन्छ भन्ने थाहा छ । त्यसैले एउटा सन्देश दिनकै लागि गुटबन्दी छैन भन्नुभयो जस्तो लाग्छ ।’

तोकिएको समयमा अधिवेशन नभएपछि बझाङमा कलकबहादुर खड्काको नेतृत्वमा कामचलाउ कार्य समिति बनाइयो । नेताहरूका अनुसार अधिवेशन हुँदा खड्कालाई अध्यक्ष जिताउन नेताहरूले लबिङ गरेका थिए ।

तर, अधिवेशनबाट दिलबहादुर भण्डारीले अध्यक्ष जिते । ‘यहाँ पार्टी केन्द्रकै नेताहरूको समर्थन पाएका नेता भर्सेस् स्थानीय नेताहरूको उम्मेदवार जस्तो परिस्थिति बन्यो, माथिबाट तोकिएका एकै जनाले पनि जिल्ला कमिटीमा जित्न सक्नुभएन’, एमालेका एक नेता भन्छन् ।

यस्तो परिस्थिति बन्नुमा पार्टीभित्रकै अन्तरसंघर्षले काम गरेको उनी बताउँछन् । ‘कतै न कतै विष्णु पौडेल भर्सेस् शंकर पोखरेलका रूपमा विकसित घटनाक्रमले बझाङमा पनि काम गर्‍यो । यो कुरा केपी ओलीले नबुझ्नै कुरै भएन’, ती नेता भन्छन् ।

गत वर्ष सम्पन्न प्रदेश, जिल्ला र स्थानीय पालिकाहरूको अधिवेशनमा गुटगत प्रतिस्पर्धा भएको थियो । अध्यक्ष ओली प्यानलगत प्रतिस्पर्धा नगर्न सार्वजनिक निर्देशन दिन्थे, तर प्यानल बन्न रोकिन्थेन ।

लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशको अधिवेशनमा गुटगत प्रतिस्पर्धा भएको थियो । सुदूरपश्चिम, मधेश सहित गैरभौगोलिक प्रदेश कमिटीमा सर्वसहमत नेतृत्व चयन भए पनि भागबन्डाको आधार गुटगत नै थियो । प्रदेशकै जस्तो अभ्यास जिल्ला र जनसंगठनहरूमा भएको छ ।

‘पार्टीभित्र गुटहरू छन् । विष्णु पौडेल र शंकर पोखरेल समूह बलियो छ भन्ने अध्यक्षलाई थाहा छ’ एमाले पोलिटब्यूरोका एक सदस्य भन्छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीको भावी नेतृत्वको आकांक्षी हुनुहुन्छ भन्ने थाहा छ । त्यसैले एउटा सन्देश दिनकै लागि गुटबन्दी छैन भन्नुभयो जस्तो लाग्छ ।’

उनी अध्यक्ष ओलीको टिप्पणीलाई भावी नेतृत्वबारे प्रस्ट सन्देशकै रूपमा बुझ्न सकिने बताउँछन् । ‘आफू रहँदासम्म पार्टीको नेतृत्वमा कसैले चाहना राख्नुहुन्न, कसैलाई दिनुपरे म आफैं दिन्छु भन्ने उहाँको कुरा हो’, ती नेता भन्छन् ।

प्रधानमन्त्री ओली ०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । ०७४ को चुनावपछि माओवादीसँग पार्टी एकता हुँदा पनि ओली नेकपाको अध्यक्ष नै रहे । नेकपाको एकता भंग भएपछि पुनर्स्थापित एमालेको दशौं महाधिवेशनबाट फेरि अध्यक्ष भए ।

एघारौं महाधिवेशनबाट पनि अध्यक्ष बन्न ओलीले पार्टीभित्र ७० वर्षे उमेरहद हटाउने निर्णय गरिसकेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?