+

‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

२०८१ पुष  २ गते १३:५५ २०८१ पुष २ गते १३:५५
‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

काठमाडौं । शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बदलिंदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः देखा पर्छ । अझ भनौं बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्छ ।

चिसो बढेसँगै छाला सुक्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुक्खा हुँदा हातखुट्टा फुट्ने, हातखुट्टाको छालामा चिरा पर्नेजस्ता समस्या आउँछन् । विशेषगरी एक्स्पोज एरिया जस्तै- अनुहार, घाँटी, कुहिनाभन्दा तलको भाग, घुँडाभन्दा तलको भाग बढी सुक्खा हुने गर्छ । जाडो महिनामा खुट्टा र ओठ प्रायः गरेर बढी फुट्ने हुन्छ ।

सुक्खापनले छालालाई खराब त गर्छ नै, असहज महसुस पनि गराउँछ । हात, खुट्टा र शरीरका अन्य भागको छाला धेरै सुक्खा र फुस्रो भयो भने छालामा सेतो दाग जस्तो पनि देखिन थाल्छ ।

जाडोमा छाला सुक्खा हुने र हातखुट्टा फुट्ने कारण

जाडोमा छाला सुक्खा हुनुमा शरीर र वातावरणको तापक्रम अन्तरसम्बन्धित हुने छाला तथा यौनरोग विशेषज्ञ डा. विक्रान्त ढकाल बताउँछन् ।

‘शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम छ भने शरीरले त्यसमा समायोजित हुन शरीरमा भएको तापक्रमलाई बाहिर फाल्छ । त्यसले गर्दा तापक्रमसँगै शरीरमा पानीको मात्रा पनि कम हुन्छ र छाला सुक्खा हुन्छ’ उनी भन्छन् ।

डा. विक्रान्त ढकाल

जाडोमा तिर्खा कम लाग्ने भएकाले पानी कम पिउने गरिन्छ । जसले शरीर हाइड्रेटेड रहँदैन र छाला सुक्खा हुन्छ । जाडोमा शरीर न्यानो बनाउन आगो ताप्ने, हिटर ताप्ने र एसी चलाउने गरिन्छ । त्यसले पनि छाला सुक्खा बनाउने डा. ढकाल बताउँछन् ।

‘जाडोमा धेरै तातो पानीले नुहाउने धेरैको बानी हुन्छ । तर नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुँदै जान्छ । जसकारण छाला सुक्खा हुन्छ’ उनी भन्छन् ।

ओठ फुट्ने कारण

जाडोमा पानी कम पिउँदा ओठ सुक्खा हुन्छ । जाडो मौसममा हावा सुक्खा हुने भएकाले शरीरले हावाबाट पाउने मोइस्चराइजर पनि पाउँदैन । जसकारण ओठ बढी फुट्ने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

‘जाडोमा धेरै समय घाम तापेर बस्दा पनि ओठलाई सुक्खा गराउन सक्छ, किनभने सूर्यको किरणले ओठको नमी हटाउँछ र ओठ फुट्छ’ उनी भन्छन् ।

डा. विकास पौडेल

जाडोमा ओठ सुक्खा हुँदा हामी बारम्बार छोइरहन्छौं वा चाट्छौं, जसकारण ओठ बढी सुक्खा हुन थाल्छ र फुट्छ । ओठमा जलन हुने टाँसिने वा कस्मेटिक उत्पादनको प्रयोग गरेमा पनि ओठ फुट्न सक्ने डा. पौडेल बताउँछन् ।

सुक्खा छालाले निम्त्याउने अन्य समस्या

छाला सुकखा भएमा घामको एलर्जी हुने, चिलाउने, ओठ फुट्ने, घाउ आउने हुन्छ । त्यसैगरी अनुहारमा चायापोतो पहिलादेखि छ भने छाला सुक्खा राखेमा जाडोमा बल्झिने, डन्डीफोर आउने जस्ता समस्या देखिन्छ ।

चिसो धेरै बढ्दै जाँदा हात-खुट्टा, औंला सुन्निने, एलर्जी हुने, बच्चाको छालामा घाउ खटिरा आउनेजस्ता समस्या हुन्छ । छाला धेरै सुक्खा भएमा हातखुट्टामा चिरा पर्ने, चिरा परेको ठाउँमा विभिन्न किसिमको जीवाणुको सङ्क्रमण भई सामान्यदेखि जटिल छालाका समस्या निम्तिने समेत हुन्छ ।

मोस्चराइजरले कसरी काम गर्छ ?

छाला विभिन्न तहले बनेको हुन्छ । त्यसमा पनि माथिल्लो तह ‘एपिडर्मिस’ले छालाभित्रको राम्रो कुरालाई बाहिर जान नदिने र बाहिरको फोहोर, संक्रमणलाई भित्र जान दिंदैन । त्यसैले छालाको माथिल्लो  स्वस्थ र नरम हुन जरुरी हुन्छ । यस्तोमा छालाको माथिल्लो तहलाई स्वस्थ र नरम बनाउन मोइस्चराइजरको प्रयोग गर्नु राम्रो हुने छाला तथा यौनरोग विशेषज्ञ डा. उमा केयल बताउँछिन् ।

‘छाला नरम हुन छाला हाइड्रेट र मोइस्चराइज हुनु जरुरी हुन्छ । छाला हाइड्रेट पानीले हुन्छ भने मोइस्चराइज तेलले हुन्छ’ उनी भन्छिन्, ‘हाम्रो शरीरमा पानी त हुन्छ नै साथै छालालाई नरम बनाउन चिल्लो पदार्थ उत्पादन गर्ने ग्रन्थी पनि हुन्छ । यस्तोमा विभन्न कारणले छालाको प्राकृतिक चिल्लो पदार्थ र पानी कम भएमा मोइस्चराइजरले त्यो कमीलाई पूरा गरेर छालालाई नरम बनाउने काम गर्छ ।’

मोइस्चराइजिङ क्रिमको मुख्य काम भनेकै छालामा भएको नरमपनालाई ‘लक’ गरेर राख्नु हो । छालाको नरमपना यथावत् रहेमा छाला फुट्ने, छाला निस्कने तथा पोल्ने समस्या कम हुने भएकाले पनि मोइस्चराइजिङ क्रिमको सही तरीकाले प्रयोग गर्न जरुरी हुने डा. केयल बताउँछिन् ।

‘मोइस्चराइजर क्रिम, लोसन र जेल तीन प्रकारको हुन्छ । क्रिममा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ, लोसनमा चिल्लो पदार्थ कम र पानी धेरै हुन्छ भने जेलमा पानीको मात्रा धेरै हुन्छ चिल्लो हुँदैन’ उनी भन्छिन्, ‘यस्तोमा व्यक्तिको छालाको प्रकृतिअनुसार मोइस्चराइजरको प्रयोग गर्नुपर्ने हुन्छ । कसैको छाला एकदमै चिल्लो भने जेल बेस मोस्चराइजर लगाउनुपर्छ ।’

कसैको छाला धेरै चिल्लो पनि छैन र धेरै सुख्खा पनि छैन भने लोसन बेस मोस्चराइजर लगाउनुपर्छ । कसैको छाला धेरै सुक्खा छ भने क्रिमबेस मोइस्चराइजर लगाउन डा. केयल सुझाउँछिन् ।

छाला सुक्खा भए के गर्ने ?

जाडो मौसममा वाटर बेस्ड मोइस्चराइजर क्रिमको सट्टा आयल बेस्ड मोइस्चराइजर लगाउनुपर्छ । किनकि आयल बेस्ड मोइस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ । दैनिक मोइस्चराइजरको प्रयोग गर्ने, ओट मिल, शियाबटर र हाइल्युरोनिक एसिड प्रयोग भएको मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोइस्चराइजर क्रिम छैन भने तोरीको तेल, नरिवलको तेल, ग्लिसरिन पनि लगाउन सकिन्छ ।

छाला सुक्खा र फुटेको बेला मोइस्चराइजर लगाउँदा पनि निको नभएको भन्ने गुनासो धेरैको सुनिन्छ । ‘यस्तोमा मोइस्चराइजर प्रयोग गर्ने सही तरिका थाहा नभएर हो । सुक्खा भएको ठाउँ र फुटेको ठाउँलाई राम्ररी सफा गरेर मात्र मोइस्चराइजर तथा तेल लगाउनुपर्छ’ डा. केयल भन्छिन् ।

डा. उमा केयल

खुट्टामा मोइस्चराइजर लगाएर त्यसपछि मोजा लगाउँदा त्यसमा थप फोहोर टाँसिन पाउँदैन । हातलाई समय-समयमा धोइरहने भएकाले पटक-पटक मोइस्चराइजर लगाइरहनुपर्छ ।

छाला धेरै नै सुक्खा हुन्छ र त्यसको कारण अन्य समस्या पनि देखिएको छ भने अस्पताल गएर छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

छालालाई सुक्खा हुनबाट बचाउने घरेलु उपाय

छालालाई हाइड्रेटेड राख्न महत्त्वपूर्ण छ । छाला हाइड्रेसनका लागि मोइस्चराइज गर्ने, पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनु जरुरी हुन्छ ।

अनुहारमा तातो पानीको बाफ लिंदा बन्द भएको रोम छिद्र खुल्छ । हातले हलका छालाको मसाज गर्न सकिन्छ । यसले अनुहारमा रक्तसञ्चार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

साबुनले अनुहार धुने बानी राम्रो होइन । सम्भव भएसम्म छाला सुक्खा नहुने फेसवासको प्रयोग गर्नुपर्ने डा. केयल बताउँछिन् । जाडोमा सुक्खा छालाको समस्याबाट बच्न लामो समय आगो ताप्नु हुँदैन र हिटरमा पनि धेरै बस्नु हुँदैन । बारम्बार ओठ छुनु हुँदैन । फोहोर हातले ओठमा संक्रमण हुनसक्छ ।

ओठमा सुक्खापन आउनासाथ धेरैले ओठमा जिब्रो घुमाउने गर्छन् । तर यस्तो गर्नु हुँदैन, किनकि यसो गर्नाले ओठ अझ बढी सुक्खा हुने डा. केयल बताउँछिन् ।

‘जाडोमा चिसो हावा, घामको किरण र अन्य धेरै कारणले ओठ धेरै प्रभावित हुन्छ । त्यसैले बाहिर निस्कनुअघि ओठमा लिप बाम वा कुनै मोइस्चराइजर लगाउनुपर्छ । बाहिर चिसोमा निस्कनुअघि ओठलाई छोप्न मास्क लगाउने गर्नुपर्छ’ उनी भन्छिन् ।

नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुन्छ । त्यसैले नुहाउँदा मनतातो पानी प्रयोग गर्नुपर्छ । साथै नुहाउनासाथ मोइस्चराइजर क्रिम लगाउनुपर्छ । बाहिर हिंड्नुअघि सन-प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धुवाँबाट छालालाई जोगाउन मास्कको प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने गर्न सकिन्छ ।

छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिएर हुँदैन, छालालाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा सचेत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्छ ।

छालाको सुरक्षा जाडोयाम
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

घण्टौं मोबाइल चलाउनुहुन्छ ? हुनसक्छ यस्तो स्वास्थ्य समस्या

घण्टौं मोबाइल चलाउनुहुन्छ ? हुनसक्छ यस्तो स्वास्थ्य समस्या

घरमा यसरी गर्ने अटिजम भएका बालबालिकाको हेरचाह

घरमा यसरी गर्ने अटिजम भएका बालबालिकाको हेरचाह

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

तथ्यांकले महिला र पुरुष दुवैको जीवनमा पार्ने प्रभाव

तथ्यांकले महिला र पुरुष दुवैको जीवनमा पार्ने प्रभाव

घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण

घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण