
२ पुस, काठमाडौं । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच दुई पेट्रोलियम पाइपलाइन परियोजना साढे ४ वर्षमा सक्ने सहमति भएको छ ।
दुवै संस्थाको मंगलबार काठमाडौंमा सुरु भएको ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ बैठकले ‘सिलिगुडी–चारआली’ र ‘अमलेखगञ्ज–लोथर’ पेट्रोलियम पाइपलाइन साढे ४ वर्षभित्र सक्ने गरी काम गर्ने सहमति भएको हो ।
आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले हाल जारी परियोजनाहरूको निर्माण कहिले थाल्ने लगायत विषयमा ज्वाइन्ट स्टेरिङ कमिटी बैठकले सहमति गरेको जानकारी दिए ।
उनकाका अनुसार ती दुई पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समयमै सक्ने गरी काम सुरु गर्ने मिति आजदेखि नै सुरु भएको हो । स्टेरिङ कमिटीले ती दुई पाइपलाइन सञ्चालन गर्ने मोडालिटी, आउन सक्ने समस्या समाधान कसरी गर्ने लगायत विषयमा पनि सहमति गरेको छ ।
बैठकले पाइपलाइनका लागि आवश्यक जग्गा सिमाना (बाउन्डरी) लगाउने काम सकेसम्म चाँडै सकेर आईओसीलाई हस्तान्तरण गर्ने र त्यसपछि उसले टेन्डरमा जाने सहमति पनि गरेको छ ।
भारतले सिलिगुडीदेखि झापा चारआलीसम्म ५० किलोमिटर लम्बाइको पेट्रोलियम पाइपलाइन आयोजना निर्माण गरिदिने र चारआलीमै करिब १९ हजार किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल बनाइदिने आयल निगमको भनाइ छ ।
त्यस्तै अमलेखगञ्जबाट चितवन लोथरसम्म ६२ किलोमिटर लम्बाइको पेट्रोलियम पाइपलाइन परियोजना बनाउने सम्झौता यसअघि नै भएको थियो । यो पाइपलाइन पनि भारतले अनुदानमै बनाइदिने भनिसकेको छ ।
प्रतिक्रिया 4