+
+

बुद्धको दाँत राखिएको श्रीलंकाली शहर पुग्दा

‘अहिंसा परमो धर्म’को मार्ग अपनाई नेपालबाट लाखौं माइल दूरीमा भए पनि बुद्ध फक्रिरहेका छन्, मुस्कुराइरहेका छन्।

रमा दुलाल रमा दुलाल
२०८१ पुष ३ गते ७:१०
श्रीलंकाको कैंडी शहर

श्रीलंकामा धेरै बुद्धमार्गी छन्। हरेक साल हजारौं श्रीलंकाली नेपाल र लुम्बिनी भ्रमणमा आउँछन्। सिद्धार्थ गौतम बुद्ध जन्मेको देशबाट गएको नागरिकलाई त्यहाँको कैंडी शहर जान मन नलाग्ने कुरै भएन।

मैले बुद्धको महापरिनिर्वाणपछि उहाँको दाँतलाई प्राणायाम नगरी श्रीलंकाको कैंडी शहरमा सुरक्षित राखेको चर्चा सुन्दै आएकी थिएँ। त्यसैले श्रीलंका भ्रमणको अवसरमा कैंडी शहर घुम्ने र बुद्धत्व प्राप्त बुद्धको दाँत हेर्ने निधो गर्‍यौं। मसँग जाने सहयात्रीहरूले पनि सहमति जनाउनुभयो।

कोलम्बोबाट कैंडी शहर ११६ कि.मी. उत्तरमा रहेछ। ठूला-ठूला ढुंगाको पहाड रहेछ- कैंडी शहर। चट्टान फोडेर बडो मनमोहक तरिकाले अवस्थित गरिएको रहेछ। बाटामा केले, केलिङ, मावानेला, कटुनगानावा जस्ता ठूला-ठूला चट्टानको सानो पहाडी बजार हेर्दै हामी कैंडी लाग्यौं। काठमाडौं शहरको प्रदूषणयुक्त घना बस्ती तर यहाँको हरियाली चिल्ला नफुटेका सडक सम्झिंदा मन नरमाइलो भयो।

बाटामा नरिवल जसलाई यहाँको स्थानीय भाषामा ‘पोल’ भनिन्छ; केरा, काजु, कटहर बेच्न राखेको देखियो। मावानेलाको दुवै साइडमा नरिवलको जंगल रहेछ। जताततै जङ्गल र हरियाली एकछिन भए पनि मन रमाइलो भयो।

जुत्ता लगाएर मन्दिरभित्र छिर्न पाइँदो रहेनछ। तलै जुत्ता फुकाल्यौं। महिला र पुरुषको लाइन भिन्दा-भिन्दै रहेछ। सुरक्षाको व्यवस्था ज्यादै राम्रो रहेछ। पशुपतिनाथमा जस्तो जो–कोहीलाई त्यहाँ सर्सरी छिर्न दिइन्न रहेछ। महिलालाई महिला प्रहरीले शरीर हातले छामेर, मेसिन लगाएर जाँच गर्ने र पुरुषलाई पुरुषले जाँच गर्ने रहेछ।

बुद्धको दाँत देख्न त पाइएन, भर्खर ढोका बन्द भयो भन्ने बुझियो। मालवत्ता र असगिरिया नामका दुई बौद्ध सम्प्रदायका भिक्षुक दैनिक रूपमा दिनमा तीन चोटि क्रमश: बिहान, दिउँसो र बेलुका पूजा गर्दा रहेछन्। प्रत्येक बुधवार यो पवित्र अवशेषलाई सुगन्धित फूलको सुगन्धित पानीले प्रतीकात्मक स्नान गराइँदो रहेछ। तत्पश्चात् यो पवित्र जल शक्तिको रूपमा मानेर यो जल श्रद्धालुहरूलाई प्रसादको रूपमा बाँडिंदोरहेछ।

बुद्ध धर्मको नेपाली पृष्ठभूमि धेरैलाई थाहै छ। कपिलवस्तु जिल्लामा मायादेवीको गर्भबाट इसापूर्व ५६३ वैशाख शुक्लपूर्णिमाका दिन सिद्धार्थको जन्म भएको हो। सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो।

भनिन्छ, रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन्। त्यहीं उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो। शाक्य कुलको रीति अनुसार पाँचौं दिनमा त्रिवेदले पारम्गत १०८ ब्राह्मणहरूलाई निमन्त्रणा गरी भोजन गराई ती उपस्थितमध्ये सर्वश्रेष्ठ ब्राह्मणहरूबाट नामकरण गराएका थिए। सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राह्मणहरूले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे। यही शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाई पुकारियो।

गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। उनले बुढो, रोगी मानिसलाई देखे। मानिस मरेको पनि देखे। यसबाट उनमा वैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई वैरागी बनायो। यिनै प्रश्नको समाधान खोज्न राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरबार छोडेर निस्किए।

वैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिंदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर तपस्या गरे। तपस्या गर्दै गर्दा उनले ३५ वर्षको उमेरमा ‘बुद्धत्व’ प्राप्त गरे।

बुद्धले अनित्य, दु:ख र अनात्मका बारेमा प्रकाश पार्नुभयो, जसलाई बुद्धको आधारभूत सिद्धान्त चार आर्य सत्यका रूपमा चिनिन्छ।

संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा इसापूर्व ४८३ को वैशाख शुक्लपूर्णिमाको दिन अर्थात् जन्मदिनमा नै भएको थियो। उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए।

यहाँ बुद्धको दाँत राखिएको छ ।

यस्ता बुद्धको महापरिनिर्वाणपछि उहाँको दाँतलाई प्राणायाम नगरी श्रीलंकाको कैंडी शहरमा सुरक्षित राखेको चर्चा पहिले नै सुनिएको थियो। म त्यही शहरमा पुगेकी थिएँ।

शहरको उक्त मन्दिरभित्रको वातावरण ज्यादै शान्त, सफा-स्वच्छ रहेछ। अबिर, सिन्दुरले पूजा गर्न नपाइने, केवल फूल व्यवस्थित ढंगले चढाउनुपर्ने रहेछ। फूल प्रसादको रूपमा पनि लिन नपाइने रहेछ।

बुद्धका ठूला-ठूला मूर्ति, सबै बुद्धको ध्यानमा मस्त र बुद्धमा ज्यादै आस्था, विश्वास र भक्ति देखाएको- एकछिन भए पनि मनले परम शान्तिको अनुभूति गर्‍यो।

खुसी नगरका राजा मल्लले कलिङका राजा बर्म दत्तलाई नै सुनको मन्दिर निर्माण गर्न लगाएका रहेछन्। मन्दिरभित्र ब्रिटिश राजाका पालामा प्रयोग भएका भाँडाकुँडा, खर-खजाना, सिक्का, लुगा, उपहार सामानहरू बडो व्यवस्थित तरिकाले सजाएर राखेको म्युजियम रहेछ।

त्यो हेर्न श्रीलंकन रूपैयाँ १०० तिर्नुपर्ने रहेछ। हामी प्रति व्यक्ति श्रीलंकन १०० तिरेर म्युजियम भित्र पस्यौं।

सन् १९९८ जनवरी २५ मा भएको ठूलो बम विस्फोटमा पुरानो भवन ध्वस्त भएको रहेछ। हामीले हेर्ने हालको कैंडी शहर १९९८ मा बम पड्किएपछि पुनःनिर्माण भएको नयाँ मन्दिर रहेछ। बमबाट सुनका छाना, पर्खाल, भित्ता सबै नष्ट भएका रहेछन्। नष्ट भएका फोटाहरू भित्तामा राखिएको थियो। केही पर्खाल र भित्ताका अवशेषहरू म्युजियममा व्यवस्थित तरिकाले राखिएको थियो। सन् १७०७ देखि १७३९ ताकाका थान्का पेन्टिङ, ब्रिटिश राजाले प्रयोग गरेका कपडाहरू हालसम्म जतन गरी राखिएको रहेछ। उक्त म्युजियमलाई ‘डालडा’ म्युजियम भनिंदो रहेछ।

कैंडी शहर श्रीलंकाका राजाहरूको अन्तिम राजधानी थियो। मुख्य रूपले यो मन्दिरकै कारणले यूनेस्कोद्वारा यसलाई एक विश्व सम्पदा स्थल घोषित गरिएको छ।

जे.आर. जयबर्धनेले राजा तारकरलाई उपहार दिएको हात्ती पनि मन्दिरबाट केही दक्षिणपट्टि ठड्याएर जिउँदो हात्ती जस्तो गरी राखिएको रहेछ। बुद्धको मुख्य मार्ग अहिंसा भएको र श्रीलंकनहरू ठूलो परिणाममा बौद्ध धर्मावलम्बीहरू भए तापनि तामिल र सिंहालीहरू एकआपसमा किन लडाइँ गर्छन् थाहा हुन सकेन।

नेपालमा जन्मिएका अहिंसाका पुजारी बुद्धलाई नेपाली जनताले चिन्न र मान्न नसके पनि श्रीलंकनहरूको बुद्धप्रतिको भक्तिभाव अनि कोलम्बो शहरभरि जताततै बुद्धको मूर्ति देख्दा मन-मनै बुद्धको देशको नागरिक हुनुको गर्व भयो। मनैदेखि बुद्धलाई श्रद्धासुमन र भक्ति अर्पण गर्न पुगें।

‘अहिंसा परमो धर्म’को मार्ग अपनाई नेपालबाट लाखौं माइल दूरीमा भए पनि बुद्ध फक्रिरहेका छन्, मुस्कुराइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?