
अनलाइन वित्तीय सेवा प्रदान गर्ने स्विडिस फिनटेक कम्पनी क्लार्नाले मानव कर्मचारी भर्ना बन्द गरेको छ । कम्पनीका सीईओ सेबास्टियन साइमियाटकोस्कीले कम्पनीका तमाम कामहरु जेनेरेटिभ एआईले नै सम्पन्न गर्न थालेसँगै एक वर्षअघिबाटै नयाँ कर्मचारी भर्ना गर्न छाडिएको बताएका छन् ।
यद्यपि सीईओ सेबास्टियनको अत्यधिक एआई प्रेमका बाबजुत कम्पनीमा मानवलाई एआईले पूर्णरुपमा विस्थापित गरिसकेको भने छैन । कम्पनीमा हुने रिक्त पदपूर्तिमा कर्मचारी नियुक्तिका विवरण तथा कम्पनीको आफ्नै विज्ञप्तिले पनि एआईले मानव श्रमिकलाई पूर्णरुपमा विस्थापित नगरेको देखाएको छ ।
सीईओ सेबास्टियनले ब्लुम्बर्ग टिमीस्ँग भनेका छन्- हामीले एक वर्षअघि कर्मचारी भर्ना रोक्यौं । त्यसबेला हाम्रो कम्पनीमा कर्मचारीको संख्या ४५ सय रहेकोमा अहिले ३५ सय मात्रै छ । अन्य प्रविधि कम्पनीमा जस्तै हाम्रोमा पनि प्राकृतिक त्याग छ ।
प्रायः कर्मचारीहरुले ५ वर्षसम्म काम गर्दछन् र हरेक वर्ष करीब २० प्रतिशतले जागिर छाड्दछन् । र, त्यसरी रिक्त भएका पदमा कर्मचारी भर्ना नगरेर हामी सामान्यतया खुम्चिरहेका छौं ।
सीईओ सेबास्टियनका अनुसार एआईले कर्मचारीहरुलाई विस्थापित गर्ने उनको विश्वास छ । उनी भन्छन् – मलाई के लाग्छ भने एआईले अहिले नै आम मानिसले गर्ने सबै खालका काम गर्न सक्दछ । एआईले प्रदान गर्ने कार्यदक्षताको सहायताले हामीले कर्मचारीको तलब वृद्धिको दर अनुरुप सुधार गर्दैछौं।
स्मरण रहोस् क्लार्नाका सीईओ सेबास्टियन विभिन्न खालका टिप्पणीहरुका कारण चर्चामा रहिरहने व्यक्ति हुन् । यो वर्षको सुरुवातमा उनले च्याट जिपिटीले ७०० जना मानिसको काम गर्ने बताएका थिए । साथै उनले अब कम्पनीले ग्राहक सम्बन्ध व्यवस्थापनको कामको जिम्मा सेल्सफोर्सलाई नदिइने र त्यसलाई एआईले विस्थापित गर्ने समेत बताएका थिए ।
हालैमात्र उनले आफ्नै एआई डीपफेक बनाएर कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका थिए । यसबाट उनले सीईओलाई समेत एआईले विस्थापित गर्नसक्ने संकेत गरेका थिए ।
कर्मचारी भर्नाको काम पूर्ण रुपमा बन्द गरिएको सीईओको दाबी भए पनि कम्पनीको वेबसाइटको विवरणले भने कम्पनीले अहिले विश्वभर गरी ५० भन्दा धेरै पदमा कर्मचारी भर्ना गरिरहेको देखाएको छ ।
कम्पनीका व्यवस्थापकहरुका अनुसार यो वर्ष सन् २०२४ मा कम्पनीले कम्तिमा आधा दर्जन पटक कर्मचारी भर्ना गरेर टिममा वृद्धि गरेको छ । गतवर्ष कम्पनीले नीति, सफ्टवेयर इन्जिनियरिङ तथा विश्वव्यापी साझेदारी जस्ता पदमा समेत धेरै नयाँ कर्मचारीहरु पनि भर्ना गरेको छ।
प्रतिक्रिया 4