न्यानो कोठा, मस्त निद्राबाट अचानक पिसाब आएर ब्युँझिनु पर्दा कति नमज्जा हुन्छ । विशेषगरी जाडो मौसममा रातमा पटक-पटक पिसाब आउने समस्याले कतिपयलाई हैरान नै बनाएको हुन्छ ।
शरीरको तापक्रम औसतमा ३७ डिग्री सेल्सियसको वरिपरि हुनुपर्छ । तर जाडो मौसममा चिसो बढ्दा यो तापक्रम कायम राख्न शरीरलाई बढी रक्तसञ्चार चाहिन्छ । यसका लागि मुटुले पहिलेको भन्दा बढी मेहनत गरी छिटो र बारम्बार पम्प गर्नुपर्ने हुन्छ ।
रक्तसञ्चार बढ्नुको कारण शरीरले आफ्नो रक्तनलीलाई संकुचित गर्छ, जसले गर्दा शरीरमा उत्पादन हुने ऊर्जा शरीरबाट पूर्णरूपमा बाहिर जाँदैन । चिसोले पसिनाको माध्यमबाट विषाक्त पदार्थ बाहिरिन पनि पाउँदैन ।
रगत शरीरभरि सामान्य भन्दा छिटो फैलिरहँदा शरीरका अंगले पनि छिटो काम गर्छ । सो कुरा मिर्गौलामा पनि लागू हुन्छ । शरीरमा पचेको खानेकुरा र रसबाट फोहोरको तरल पदार्थ छानेपछि मिर्गौलाले पिसाब थैलीमा जम्मा गरिरहन्छ ।
पिसाबथैली भरिएपछि पिसाबको चाप बढ्छ । रक्तचाप बढेपछि मिर्गौलाले जम्मा भएको फोहोर छिट्टै फिल्टर गर्छ, जसकारण बारम्बार पिसाब फेर्न दबाब हुन्छ । यस्तोमा दिनरात दुवैमा पानी कम खाए पनि पिसाब बढी हुनसक्छ । अर्को भनेको जाडो बढेको कारण चिया, कफी खाने अनुपातमा पनि वृद्धि हुन्छ । जसकारण पिसाब छिटो-छिटो आउन सक्छ ।
पहिलेबाट समस्या भएकोमा थप समस्या
यदि पहिल्यै पिसाबसम्बन्धी समस्या छ भने जाडो मौसममा यो समस्या झन् बढ्न सक्छ । जस्तो, प्रोस्टेटमा समस्या छ, पिसाबथैली अति सक्रिय वा पिसाब संक्रमण पहिलेदेखि थियो भने पनि चिसोमा थप समस्या बल्झिन्छ । यी समस्या मिर्गौलासँग जोडिएको छ ।
पहिल्यैबाट तापक्रमको अनुकूलता नभएर असर गरिरहेको अवस्थामा मिर्गौलाले बढी काम गर्दा थप समस्या बल्झिन्छ । प्रोस्टेट ग्रन्थीको समस्या भएका पुरुषमा पिसाब चुहिने समस्या झन् बढ्न सक्छ । त्यस्तै, पानी कम पिउँदा पिसाबको निकास राम्ररी हुँदैन । मिर्गौला नुन तथा अन्य पदार्थ जम्मा हुन थाल्छ । यसरी जम्मा हुँदा मूत्रनलीमा संक्रमण हुने, पोल्ने र पत्थरीको समस्या गराउँछ ।
त्यस्तै, मूत्रथैली र त्यस वरपरको भाग उमेर वा कुनै स्वास्थ्य समस्याले कमजोर भइसकेको अवस्थामा चिसो मौसमले झन् पिसाब थाम्न गाह्रो पार्छ । जसकारण पिसाब पटक-पटक आउन सक्छ । जाडोयाममा न्यानो ठाउँमा बस्न रुचाउने हुँदा शारीरिक गतिविधि घट्छ । जसले रक्तसञ्चार कमजोर गराई मिर्गौलाको कार्यक्षमता घट्छ ।
जाडोयाममा चिसोले पिसाबथैली झन् संवेदनशील भई पिसाब आएको संकेत मस्तिष्कलाई पटक-पटक दिन थाल्छ । जसले बारम्बार पिसाब लाग्ने समस्या निम्त्याउँछ ।
कसरी छुटकारा पाउने ?
– यदि पहिल्यै पिसाबको समस्या छ भने जाडो मौसममा यसलाई नियन्त्रण गर्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । शरीरलाई हाइड्रेटेड राख्नले मिर्गौलाको कार्य नियमित रहन्छ ।
– चिसोबाट बच्न न्यानो कपडा लगाउने र तातो पेय पदार्थ पिउनुपर्छ ।
– हल्का व्यायामले रक्तसञ्चारलाई सुधार गरी शरीरलाई न्यानो राख्छ ।
– पटक-पटक पिसाब आउनु मधुमेह वा पिसाब संक्रमणको लक्षण पनि हुनसक्छ । यदि पटक-पटक पिसाब आएर दैनिकीमै समस्या आइरहेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4