+
+

जनवरी ४ देखि कन्दराको वर्ल्ड टुर, पहिलो कन्सर्ट लण्डनको ओटु एरिनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १७:०७
काठमाडौंको क्लब एलओडीमा हालै आयोजित कन्सर्टमा प्रस्तुति दिंदै कन्दरा

काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दरा ४ जनवरी २०२५ देखि विश्व सांगीतिक टुरमा निस्किंदैछ । ब्याण्डले लण्डनबाट टुर सुरु गर्नेछ ।

२ हजार ७०० भन्दा बढी दर्शक क्षमताको लण्डनको ओटु एरिनास्थित इन्डिगोमा कन्दराले आफ्ना लोकप्रिय गीतमार्फत दर्शक झुमाउनेछ । त्यहाँ यसअघि विश्वचर्चित ब्याण्डहरू लेभल फोर टु, द वेलर्स, गन्स टु रोजेज, यिरुमाजस्ता ब्याण्ड र अमेरिकी र्‍यापर रिक रोसले लाइभ प्रस्तुति दिइसकेका छन् ।

लण्डन टुर घोषणा गर्दै कन्दराले भनेको छ, ‘यो कार्यक्रम केवल सांगीतिक कन्सर्ट नभएर नेपाली संगीत र संस्कृतिको विश्वव्यापी महोत्सव हो । ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर नछुटाउनुहोस् । बेलायतमा रहनुहुने सम्पूर्ण नेपाली आमाबाबा, दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिले यस ऐतिहासिक सांगीतिक क्षणलाई उत्सवमय बनाउने छ । लेककी हे माया र हङकङ पोखराको धुनमा नाच्दै पुराना यादहरूलाई ताजा गरौं ।’

बेलायतबाहेक अन्य मुलुकको टुरको मिति भने घोषणा भइसकेको छैन । जनवरीमै ब्याण्डले यूएईको दुबईमा समेत प्रस्तुति दिने अपेक्षा गरिएको छ । फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाईदेखि अगस्टसम्म युरोपको सांगीतिक भ्रमण तय भएको छ । महिना तय भएपनि यकिन मिति भने तय हुन बाँकी रहेको कन्दराले जनाएको छ ।

सात अमेरिकी सहरमा कार्यक्रम हुने निश्चित भएको छ । ‘यस अन्तर्राष्ट्रिय भ्रमणले नेपालको समृद्धि सांस्कृतिक सम्पदा र यसको विकसित हुँदै गैरहेको संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने कन्दराको कालजयी गीतहरुको साथै नयाँ सिम्फोनीलाई पनि विश्वब्यापी दर्शकमाझ लैजान्छ’ कन्दराले भनेको छ ।

‘पहिला घरदेश अनि परदेश’ अभियानसहित ब्याण्ड यतिबेला सांगीतिक अभियानमा छ । काठमाडौं र पोखरामा कन्सर्ट गरिसकेको ब्याण्डले इलाम, चितवन र बुटवलमा समेत प्रस्तुति दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?