
काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एक सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ ।
नातिकाजी स्मृति समाजद्वारा बुधबार आयोजित घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो ।
समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिए ।
सङ्गीत साधना प्रतिष्ठान इटहरी र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने उनले बताए । राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका बिन्दु परियार, गीतकार बी पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेन्जर सम्राट थापालाई प्रदान गरिने भएको उनले बताए ।
नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ रमेश पोखरेललाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बास्कोटाले जानकारी दिए ।
राष्ट्रिय लोकसङ्गीततर्फ लोकगायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।
नातिकाजीको ९९ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बास्कोटाले बताए । नातिकाजी गीत, सङ्गीतको महासागर भएको उल्लेख गर्दै उनको योगदानलाई जीवन्त समाजले प्रयास गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4