
काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण वैशाखमा आयोजना हुने भएको छ । सेलेब्रिटी नेपालको आयोजनामा हुने महोत्सवको उद्देश्य पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको जनाइएको छ ।
महोत्सवमा मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्म समावेश गरिने भएको छ । महोत्सवको लागि फिल्मको दर्ता आह्वान गरिएको छ । महोत्सवमा डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्मलाई समावेश गरिने भएको छ ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको हो । जुरी टिमले छनोट गरेका फिल्मलाई अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।
चार वर्षदेखि आयोजना हुँदै आइरहेको महोत्सवमा अन्तरक्रिया, कार्यशाला गोष्ठी समेत गरिनेछ । पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको महोत्सव दोस्रोपटक काभ्रेको भकुण्डेबेसी र तेस्रो संस्करण रामेछापमा गरिएको थियो ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा चलचित्र विकास बोर्डले पनि सहकार्य गर्नेछ ।
प्रतिक्रिया 4