+
+

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद, अघि बढ्यो नेतृत्व चयन प्रक्रिया

३२ वर्षे उमेर हद लागू भए अध्यक्षका डेढ दर्जन दाबेदार प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ९:१६

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ ।

पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा गरिने छ । त्यसपछि बल्ल नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने । यो प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी छ ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले निर्वाचनको मोडालिटी टुंगो लागिसकेकाले आज कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताए । ‘हामीले आज पार्टीको निर्वाचन आयोगसँग छलफल गर्दैछौं । निर्वाचन कहाँ–कहाँ कसरी–कसरी गर्ने भन्ने कुरा छलफलबाट टुंगो लागिसकेपछि कार्यतालिका आजै सार्वजनिक हुनसक्छ ।’

३२ वर्षे उमेर हदमा भोटिङ

गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा सम्मेलन हुन सकेन ।

अहिले भने ३२ वर्ष उमेर हद कायम गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको फ्र्याक्सन इन्चार्ज शर्माले जानकारी दिए । ‘अब उमेर हदमा एउटा मात्र विकल्प छ । ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भनेर भोटिङ हुन्छ र त्यसबाट जे नतिजा आउँछ, त्यही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्छ ।’

स्रोतका अनुसार उमेर हद सम्बन्धी चुनाव जिल्ला–जिल्लामा गराउने तयारी छ । त्यसपछि नेतृत्व चयनको लागि चुनाव हुने छ । ३२ वर्षे उमेर हद लागू भए अध्यक्षका डेढ दर्जन दाबेदार प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

विवाद समाधान

भोटिङ सुरु गर्नुअघि विभिन्न जिल्लाको प्रतिनिधि विवाद समेत समाधान गरिसकिएको छ । नवलपुर, कास्की, ताप्लेजुङ, काभ्रे, सिटिइभिटी जिल्ला कमिटीको विवाद समाधान गरिएको एक नेताले जानकारी दिए । ‘तीमध्ये कतिपय जिल्लाबाट प्रतिनिधिहरुको दुईवटा नामावली आएका थिए, केहीमा सिनियर छुटेको, केहीमा छात्रा छुटेको भन्ने कुराहरु थिए,’ ती नेताले अनलाइनखबरसँग भने, ‘त्यो विवादका कारण पनि राष्ट्रिय सम्मेलनमा उमेर हदको विषयमा भोटिङ हुन सकेको थिएन । अहिले सर्वसम्मत रुपमा विवाद समाधान गरिएकाले अब भोटिङ गराउनका लागि छलफल अघि बढेको छ ।’

स्रोतका अनुसार अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुन्नका लागि २३ सय २३ जना प्रतिनिधि निश्चित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?