काठमाडौं । यही २१ डिसेम्बर अर्थात् शनिबार विश्व ध्यान दिवस विश्वभर मनाइँदै छ । दिवसका अवसरमा उक्त दिन आध्यात्मिक गुरु रवि शंकरले ध्यान र अध्यात्मबारे विश्वव्यापी प्रवचन दिने जनाइएको छ ।
उनको प्रवचन ‘द आर्ट अफ लिभिङ फाउण्डेसन’ले विश्वव्यापी रुपमा युट्युब लगायत सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ । संयुक्त राष्ट्र संघले यसै वर्षदेखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो ।
दिवसका अवसरमा नेपालसहित विश्वभरका १८४ देशमा यसको प्रत्यक्ष प्रसारण हेर्न सकिने द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहले जानकारी दिए ।
‘पहिलो दिवसलाई विश्वव्यापी गराउने उद्देश्यसहित विश्वभर एकैपटक प्रत्यक्ष प्रसारणमार्फत ध्यान गर्ने र ध्यानका विषयमा प्रवचन गर्ने कार्यक्रम राखिएको हो’ सिंहले भने ।
आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले उक्त दिन सबैले आ-आफ्नो घरमा बसेर रविशंकरको प्रवचन सुन्न र ध्यानका बारेमा जानकारी लिन आग्रह गरे ।
‘ध्यानको परिवर्तनकारी फाइदा उजागर गर्न र शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि यसको अभ्यासलाई प्रवर्द्धन गर्न यूएनले विश्वव्यापी उत्सवको रुपमा माउन लागेको हो’ वैद्यले भने, ‘नेपालमा पुस ६ गते शनिबार राति ८:१५ बजे प्रत्यक्ष प्रसारण आउनेछ ।’
प्रतिक्रिया 4